हिलारीका पक्षमा ४५ प्रतिशत मतदाता, डोनाल्ड ट्रम्प १२ प्रतिशतले पछाडि


प्रकाशित मिति : भाद्र ८, २०७३ बुधबार

नोभेम्बर ८ मा हुने राष्ट्रपतीय चुनावका दुई उम्मेदवारहरुमध्ये डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन उनका प्रतिस्पर्धी रिपब्लिकन उम्मेदबार डोनाल्ड ट्रम्प भन्दा १२ प्रतिशतले अगाडि रहेको सबैभन्दा पछिल्लो चुनावी सर्वेक्षणले जनाएको छ । रोयटर्सले मंगलबार सार्वजनिक गरेको अगस्त १८ देखि २२ सम्मको सर्वेक्षण अनुशार ४५ प्रतिशत मतदाताहरुले हिलारी क्लिन्टनलाई समर्थन गरेका छन् भने ३३ प्रतिशत मतदाताले डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् ।

सन् २०१६ भरीका प्राय सबै चुनावी अभियानहरुमा न्युयोर्कका ब्यापारी ट्रम्प भन्दा पूर्व अमेरिकी विदेशमन्त्री हिलारीले अग्रता हासिल गर्दै आएकी छिन् । तर पछिल्लो सर्वेक्षणमा हिलारीको अग्रता विगतको भन्दा निकै अन्तरले माथि पुगेको छ । अगस्त महिनामा भएका यस अगाडिका सर्वेक्षणहरुमा हिलारीको अग्रता ३ देखि ९ प्रतिशतमात्र कायम थियो ।

मंगलबार सार्वजनिक गरिएको सर्वेक्षण अनुशार २२ प्रतिशत मतदाताहरु कुनै पनि उम्मेदवारका पक्षमा थिएनन् । यसरी तटस्थ रहने मतदाताको प्रतिशत सन् २०१२ मा बराक ओबामा र मिट रोम्नीबीच प्रतिस्पर्धा हुँदाको भन्दा यसपटक धेरै रहेको छ । तटस्थ मतदाताहरुमध्ये अधिकांशले हिलारी वा डोनाल्ड ट्रम्पको साटो तेश्रो उम्मेदवार छान्नसक्ने सम्भावना रहने शिकागो युनिभर्सिटीमा सेन्टर फर स्टडी अफ पोलिटिक्स एण्ड सोसाइटीका डाइरेक्टर टोम स्मीथले बताएका छन् ।

मंगलबार सार्वजनिक सर्वेक्षणमा ७ प्रतिशत मतदाताहरुले लिब्रेटेरियन उम्मेदवार ग्रे जोन्सनलाई र २ प्रतिशतले जील स्टेनलाई समर्थन गरेका छन् । ५० राज्यमा गरिएको सर्वेक्षणमा ११ सय १५ जनाले भाग लिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com