बाइडेनले इलेक्टोरल कलेज मत जीतेमा आफूले ह्वाइटहाउस छाड्ने ट्रम्पको भनाई


प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार

इलेक्टोरल कलेज मत जो बाइडेनले जीतेमा आफूले ह्वाइट हाउस छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पले इलेक्टोरल कलेज मतबाट बाइडेन विजेता प्रमाणित भएमा आफू ह्वाइट हाउसबाट प्रस्थान गर्ने बताएका हुन् ।

बिहिबार पत्रकारसँग कुराकानी गर्दै अहिलेकै अवस्थामा बाइडेनको जीत स्वीकार्न आफूलाई गाह्रो हुने बताउँदै ट्रम्पले आफू बाइडेनको सपथग्रहण समारोहमा उपस्थीत हुने नहुनेबारे पनि केही बताएनन् । आगामी डिसेम्बर १४ मा इलेक्टरहरु भेट्ने कार्यक्रम रहेको छ ।

ट्रम्पले प्राय चाडपर्वहरु आफ्नो फ्लोरिडाको मार ए लागो रिसोर्टमा विताउने गरेपनि बिहिबार उनी वासिंटन क्षेत्रमै रहे । विहान केही समय भने उनले भर्जिनियामा रहेको गल्फ क्लबमा बिताएका थिए । गतबर्ष ट्रम्पले अफगानिस्तानमा आश्चर्यजनक भ्रमण गरेर सेनाका सदस्यमाझ थ्यांक्सगिभिङ मनाएका थिए ।

नोभेम्बर ३ मा भएको चुनावको नतिजा विभिन्न राज्यहरुले प्रमाणिकरण गर्ने क्रम चलिरहदा अहिलेसम्म बाइडेनले ८ करोडभन्दा बढी पपुलर मत प्राप्त गरेका छन् । जुन अहिलेसम्म विजयी अमेरिकी राष्ट्रपतिले ल्याएको सबैभन्दा धेरै मत हो । डोनाल्ड ट्रम्पले झण्डै ७ करोड ४० लाख पपुलर मत प्राप्त गरेका छन् ।

अमेरिकामा सन् १९०८ यता कुल मतदातामध्ये मतदानमा सहभागी हुनेहरुको प्रतिशत यसपटकको चुनावमा अहिलेसम्मकै बढी रहेको जनाइएको छ । कुल मतदातामध्ये झण्डै ६५ प्रतिशतले यसपटक मतदान गरेका कारण चुनाव अत्याधिक प्रतिस्पर्धात्मक भएको थियो ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुल इलेक्टोरल मत २७० प्राप्त गरे पुग्नेमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत सुरक्षित गरेका छन् । ट्रम्पले २३२ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् ।

एरिजोना, जर्जिया, विसकन्सिन, पेन्सिलभेनिया, मिसिगन, मैन लगायतका ब्याटलग्राउण्ड राज्यमा बाइडेनले चुनाव जीतेपछि राष्ट्रपतिका लागि सुनिश्चितता मिलेको हो । यद्यपी ट्रम्पले अहिलेसम्म पनि आफ्नो पराजय स्वीकार भने गरिसकेका छैनन् । पेन्सिलभेनिया, मिसिगन, जर्जिया, मैन लगायतका राज्यहरुले नतिजा प्रमाणिकरण गरिसकेका छन् ।

मिनेसोटा, नर्थ क्यारोलिना र नेभाडाले पनि चुनावको नतिजा प्रमाणिकरण गरिसकेका छन् । एरिजोना, आयोवा र नेब्रास्कामा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर ३० सम्म रहेको छ । एरिजोनामा बाइडेनले जीतेका छन् भने आयोवामा ट्रम्पले जितेका छन् । नेब्रास्कामा ट्रम्पले जितेपनि दोश्रो संसदीय डिस्ट्रिक्टको १ इलेक्टोरल मत बाइडेनले जितेका छन् । एरिजोनामा रिपब्लिकनहरुले प्रमाणिकरण ढिलो गराउने प्रयास गरेपनि आयोवा र नेब्रास्कामा विवाद छैन ।

विसकन्सिमा डिसेम्बर १ सम्म चुनावी नतिजा प्रमाणिकरण गर्नुपर्ने डेडलाइन रहेको छ । विसकन्सिनमा काउन्टी स्तरको प्रमाणिकरण पूरा भइसकेको छ । तर ट्रम्प पक्षले आंशिक रुपमा पुनगणनाको माग गरिरहेको छ ।

डिसेम्बर ८ मंगलबार मुख्य दिन रहेको छ । यो दिनसम्म राज्यहरुले सबै विवाद समाधान गरेर परिणाम प्रमाणिकरण गरेर पठाएको खण्डमा परिणामबिरुद्ध बाँकी मुद्दामामला हुनेछैन । त्यसपछि ट्रम्प र बाइडेनले इलेक्टोरल कलेजका लागि आफ्ना प्रतिनिधिहरु पठाउनेछन् । त्यसपछि डिसेम्बर १४ मा इलेक्टरहरुले मतदान गरेर राष्ट्रपति चयन गर्नेछन् ।

जनवरी ६ मा संसदले इलेक्टोरल मत गणना गरेर नतिजा घोषणा गर्नेछ । त्यसपछि जनवरी २० मा अमेरिकी राष्ट्रपतिले पदभार ग्रहण गर्नेछन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com