दोश्रो चरणमा १२ सय डलरको राहत चेक पठाउन १२५ भन्दा बढी अर्थशास्त्रीहरुको संसदलाई आग्रह


प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार

दोश्रो चरणमा १२ सय डलरको राहत चेक पठाउन आग्रह गर्दै १२५ भन्दा बढी अर्थशास्त्रीहरुले अमेरिकी संसदलाई खुलापत्र लेखेका छन् । कोरोनाको महामारीमा दोश्रो चरणको राहत प्याकेज पारित नभएको अवस्थामा अर्थशास्त्रीहरुले यस्तो आव्हान गरेका हुन् ।

अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि अमेरिकनहरुको खातामा दोश्रो चरणको राहत चेक पठाउनु सबैभन्दा छिटो र उपयुक्त उपाय हुने उनीहरुले बताएका छन् । यसरी सरकारले राहत चेक पठाएमा अमेरिकी परिवारको आर्थिक अवस्थामा सहीमार्गमा आउने र अमेरिकी अर्थतन्त्रमा सकारात्मक असर पर्ने उनीहरुको भनाई छ ।

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाका लागि काम गरेका बरिष्ठ अर्थशास्त्री ज्यासन फर्मयान, फेडरल रिजर्भ बोर्डका पूर्व उपाध्यक्ष एलन ब्लाइन्डर लगायतले उक्त खुलापत्र लेखेका हुन् । सरकारले गत अप्रिलमा पहिलो चरणको राहत चेक पठाएपनि त्यो यता कुनै राहत सहयोग उपलब्ध गराएको छैन ।

अर्थशास्त्रीहरुले अमेरिकामा गरिबी बढ्नबाट रोक्ने सबैभन्दा महत्वपूर्ण साधन राहत चेक भएको बताएका छन् । तर संसदमा दुबैदलबीच सहमति कायम हुन नसक्दा अमेरिकनहरुले दोश्रो चरणको राहत प्राप्त गर्न सकेका छैनन् ।

बेरोजगारी विमामा अतिरिक्त रकम पनि जुलाई अन्तिम देखि समाप्त भइसकेको छ । जुलाईको अन्तिमसम्म बेरोजगारी विमामा साप्तहिक ६ सयका दरले अतिरिक्त रकम प्रदान गरिएको थियो । तर नयाँ राहत प्याकेजमा सहमति कायम हुन नसक्दा त्यसयता अमेरिकनहरु गरिबीतिर धकेलिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com