कोरोनाबिरुद्धको बेलायती भ्याक्सिनपनि ९० प्रतिशत प्रभावकारी, सस्तो र वितरणमा सहज
प्रकाशित मिति : मंसिर ८, २०७७ सोमबार
बेलायती कम्पनी आष्ट्राजेनेकाले बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी र सुरक्षित देखिएको छ । सोमबार आष्ट्राजेनेकाले आफ्नो पछिल्लो चरणको परीक्षणमा भ्याक्सिन ९० प्रतिशतसम्म प्रभावकारी रहेको जनाएको हो । यो भ्याक्सिन अहिलेसम्म सुरक्षित र प्रभावकारी देखिएका फाइजर र मोडेर्नाका भ्याक्सिनको तुलनामा सस्तो र वितरणमा सहज रहेको जनाइएको छ ।
यो भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटी र आष्ट्राजेनेका कम्पनी मिलेर बनाएका हुन् भने बेलायत र ब्राजिलमा गरिएको तेश्रो चरणको परीक्षणपछि प्रभावकारिताबारे निचोड निकालिएको हो । फाइजर र मोडेर्नाका भ्याक्सिन अत्यन्तै चिसो तापक्रममा राख्नुपर्ने भएपनि आष्ट्राजेनेकाको भ्याक्सिन भने त्यति चिसोमा राख्नु नपर्ने जनाइएको छ ।
फाइजरको भ्याक्सिन प्रतिडोज २० डलरसम्म र मोडेर्नाको भ्याक्सिन २५ डलरसम्म पर्ने बताइरहँदा यो भ्याक्सिनको मूल्य भने प्रतिडोज साढे २ डलरमात्र पर्ने जनाइएको छ । यी सबै भ्याक्सिनहरु नियामक एजेन्सीहरुबाट अनुमोदन हुन भने बाँकी नै रहेको छ । अमेरिकामा वितरणका लागि एफडीएबाट स्वीकृति प्राप्त गर्न जरुरी हुन्छ ।
आष्ट्राजेनेको भ्याक्सिन सामान्य चिसोमा राखे पुग्ने जनाइएको छ । २ देखि ८ डिग्री सेल्सियसमा राखेर यो भ्याक्सिन वितरण गर्न सकिन्छ । फाइजरको भ्याक्सिन भने माइनस ७० डिग्री सेल्सियसमा राख्न जरुरी छ भने मोडेर्नाको भ्याक्सिन पनि माइनस २० डिग्री सेल्सियसमा राख्न जरुरी हुन्छ ।
छिटोमा डिसेम्बर ११ सम्म अमेरिकनलाई भ्याक्सिन
छिटोमा डिसेम्बर ११ सम्म अमेरिकनले भ्याक्सिन पाउनसक्ने अमेरिकन कोरोना भ्याक्सिन कार्यक्रम प्रमुख डाक्टर मोन्सेफ स्लाओईले बताएका छन् । भ्याक्सिनले प्रयोगको स्वीकृति पाएको २४ घण्टाभित्र भ्याक्सिन लगाउने स्थलमा भ्याक्सिनका डोजहरु पठाइने उनले बताएका छन् ।
अमेरिकाको खाद्य तथा औषधी प्रशासनको सल्लाहकार समितिको बैठक डिसेम्बर १० मा बसेर भ्याक्सिनलाई स्वीकृति प्रदान गर्ने अपेक्षा गरिएको छ । स्वीकृति पाएको एक वा दुई दिनमा ११ वा १२ डिसेम्बरमा वितरण सुरु गरिने अमेरिकन कोरोना भ्याक्सिन कार्यक्रम प्रमुखले बताएका हुन् ।
अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायो एनटेकसँग मिलेर बनाएको कोरोनाबिरुद्धको भ्याक्सिनको प्रयोगको स्वीकृतिका लागि शुक्रबार अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीए समक्ष आवेदन दिएको हो । यो संगै कोरोनाबिरुद्ध लड्न फाइजरको भ्याक्सिन डिसेम्बरका अमेरिकामा उपलब्ध हुने संकेत मिलेको छ । फाइजरको भ्याक्सिनको अन्तिम परीक्षण सफल भएपछि प्रयोगको स्वीकृतिका लागि आवेदन दिइएको हो ।
फाइजरका सीईओले यसबारे जानकारी दिंदै अब प्रयोगका लागि स्वीकृतिको अनुरोध एफडीएको हातमा पुगेको बताएका छन् । उनले विज्ञान र सबैका लागि ऐतिहासिक दिन भएको बताएका छन् ।
एफडीएले स्वीकृत गर्न केहीसाता लगाउने अनुमान गरिएको छ । एफडीएका वैज्ञानिकहरुले भ्याक्सिन सुरक्षित र प्रभावकारी भए नभएको बारे निष्कर्ष निकाल्नेछन् । स्वीकृत भएमा प्राथमिकताका आधारमा अमेरिकामा भ्याक्सिन वितरण सुरु गरिनेछ । सुरुमा स्वास्थ्कर्मी, बृद्धबृद्धा र स्वास्थ्य समस्या भएकाहरुलाई भ्याक्सिन दिइने जनाइएको छ । त्यसपछि अत्यावश्यक कामदार, शिक्षक, होमलेस र कैदीबन्दीहरुलाई दिइनेछ । तेश्रो चरणमा बयस्क र बालबालिकाहरुलाई दिइनेछ ।
फाइजरको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको अन्तिम निष्कर्ष निकालिएको छ । बुधबार कम्पनीले तेश्रो चरणको परीक्षणको अन्तिम तथ्यांक विश्लेषण सार्वजनिक गरेको थियो ।
एफडीएको स्वीकृति पछि यो भ्याक्सिन एफडीए स्वीकृत पहिलो कोरोनाबिरुद्धको भ्याक्सिन हुनेछ । स्वीकृत भएमा यो भ्याक्सिनले आगामी डिसेम्बरमा रातारात करोडौं डोज भ्याक्सिन सप्लाई गर्ने योजना बनाएको छ ।
गतसातामात्र प्रारम्भिक विश्लेषणमा यो भ्याक्सिन ९० प्रतिशतभन्दा बढी प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष निकालिएको थियो । ४३ हजार स्वयंसेवकहरुमा गरिएको परीक्षणपछि यस्तो निष्कर्ष निकालिएको थियो । सहभागीमध्ये सुरुमा ९४ जनामा र पछि कुल १७० जनामा कोरोनाको लक्षण देखिएको थियो ।
१७० मध्ये १६२ जनामा सलाइन शटमात्र दिइएको थियो भने वास्तविक भ्याक्सिन दिइएका ८ जना पनि संक्रमित भएका थिए । यसको अर्थ फाइजर भ्याक्सिन लक्षणयुक्त कोरोना संक्रमण रोक्नमा औषतमा ९५ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।
भ्याक्सिन कतिलामोसमयसम्म प्रभावकारी हुन्छ भने निर्धारण गर्न स्वयंसेवकहरुलाई २ बर्षसम्म फ्लो गरिनेछ । यसअगाडि अमेरिकन कम्पनी मोडेर्नाको प्रारम्भिक तथ्यांक विश्लेषणमा ९४ दशमलव ५ प्रतिशत सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालिएको थियो ।
भ्याक्सिनको दुईमहिनाको सुरक्षा तथ्यांक हेरेर एफडीएले आपतकालिन प्रयोगका लागि स्वीकृति दिनसक्नेछ । एफडीएले फाइजरको आवेदनपछि विज्ञहरुको सुझाव लिनेछ । र, विज्ञहरुको सुझावका आधारमा भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिने वा नदिने निर्धारण गर्नेछ ।
फाइजरको भ्याक्सिन स्वीकृत भएमा भने वितरणमा केहीसमस्या आउनसक्ने जनाइएको छ । किनभने यो भ्याक्सिनलाई माइनस ९४ डिग्रि फरेनहाइट चिसो तापक्रममा राख्नुपर्छ । बुधबार सार्वजनिक गरिएको तथ्यांकमा यो भ्याक्सिन सबै जाती र संजाती समुहहरुमा प्रभावकारी रहेको पाइएको छ । साथै ६५ बर्षभन्दा माथिकाहरुमा यो भ्याक्सिन ९४ प्रतिशतभन्दा माथि प्रभावकारी देखिएको छ ।
फाइजर र बायो एनटेकले युरोपमा वितरणका लागि युरोपियन मेडिसिन एजेन्सीसँग पनि स्वीकृतिका लागि आवेदन दिने भएको छ । फाइजरले सन् २०२० भित्रै ५० मिलियन भ्याक्सिन उत्पादन गर्नसक्ने बताएको छ । जुन २५ मिलियनलाई दिन प्रयाप्त हुनेछ । यो भ्याक्सिन हरेकलाई २ शट दिनुपर्छ । आगामीबर्षसम्म फाइजरले १ दशमलव ३ बिलियन भ्याक्सिनका डोज उत्पादन गर्नसक्ने जनाइएको छ ।