बाइडेनले अमेरिकी विदेशमन्त्रीमा एन्टोनी ब्लीङकेनलाई नियुक्त गर्ने
प्रकाशित मिति : मंसिर ८, २०७७ सोमबार
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले विदेशमन्त्रीमा एन्टोनी ब्लीङकेनलाई नियुक्त गर्ने योजना बनाएका छन् । ब्लीङकेन लामोसमयदेखि विदेश नीतिका सल्लाहकार रहँदै आएका छन् । ओबामा राष्ट्रपति हुँदा उनले उपविदेशमन्त्री र राष्ट्रिय सुरक्षा उपसल्लाहकारका रुपमा काम गरेका थिए ।
उनले ओबामा प्रशासनका बेलामा विदेश नीतिका सन्दर्भमा मुख्य भूमिका खेलेका थिए । क्रिमियामाथि रसियाको आक्रमणको कस्तो प्रतिकृया जनाउनेदेखि ओसामाबिन लादेनमाथिको आक्रमण र आईसीसीबिरुद्धको लडाईमा उनले मुख्य भूमिका खेलेका थिए ।
ब्लीङकेनले बिल क्लिन्टनका पालामा समेत राष्ट्रिय सुरक्षा परिषदमा काम गरेका थिए । उनले युरोप मामलाका लागि बरिष्ठ निर्देशकका रुपमा समेत काम गरेका थिए । उनी क्लिन्टनको विदेश नीतिबारे भाषण लेख्ने प्रमुख व्यक्ति समेत थिए । ट्रम्पले बिभिन्न देशसँग बिगारेको सम्बन्ध सुधार गर्दै अमेरिकी विदेश नीतिलाई सुदृढ गर्नु उनको मुख्य भूमिका हुनेछ ।
५८ बर्षका ब्लीङकेन मध्यमार्गी व्यक्तित्वका रुपमा परिचित छन् । पेरिसमा हाइस्कुलको अध्ययन गरेका उनले हार्भर्डबाट अण्डरग्रयाजुएट डिग्री हासिल गरेका थिए । त्यस्तै कोलम्बियाबाट कानूनको विषयमा डिग्री हासिल गरेका थिए । उनका पिता डोनाल्ड पनि हार्भर्ड ग्रयाजुएट हुन्, जसले हंगेरीका राजदूत भएर समेत काम गरेका थिए ।
ब्लीङकेनले पत्रकार र वकिलका रुपमा काम गरेका थिए । उनी बाइडेनको चुनावी अभियानमा विदेश नीतिको मुख्य अनुहार रहेका थिए । उनले इरान आणविक सम्झौतामा अमेरिकाको पुन प्रवेशका लागि समेत वकालत गर्दै आएका छन् ।
बाइडेनले आजै आफ्नो मन्त्रिपरिषदका केही सदस्यको नाम घोषणा गर्ने जनाइएको छ । साथै बाइडेन केही मुख्य पदमा छनौट गरेका व्यक्तिको नाम समेत घोषणा गर्ने जनाइएको छ । बरिष्ठ कुटनीतिक लिण्डा थोमस ग्रिनफिल्डलाई राष्ट्रसंघका लागि राजदूतमा छनौट गर्ने जनाइएको छ ।