चुनावबारेको ट्रम्प पक्षको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतबाट पनि अस्वीकार


प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार

पेन्सिलभेनियाको सर्वोच्च अदालतले मंगलबार चुनावबारेको डोनाल्ड ट्रम्प पक्षको मुद्दा अस्वीकार गरिदिएको छ । फिलाडेल्फियामा मतगणना नजिकबाट हेर्न नदिइएको भन्दै दायर मुद्दा अदालतले अस्वीकार गरेको हो । फिलाडेल्फियाले १५ फिट परबाटै मतगणना हेर्नका लागि गरेको व्यवस्थाले राज्यको कानुन उल्लंघन नगर्ने अदालतको ठहर छ ।

यसअगाडि राज्यको पुनरावेदन अदालतले पर्यवेक्षकहरुलाई प्रयाप्त पहुच नदिइएको फैसला गरेकोमा सर्वोच्चले त्यसलाई उल्टाएको छ । सर्वोच्चको यो फैसलाको पक्षमा ५ जना र विपक्षमा २ जना न्यायाधिस रहेका थिए । पर्यवेक्षकलाई मतगणनाकक्षमा जान दिइनुपर्ने भएपनि कति दुरीसम्म जान दिनेभन्नेबारे कुनै नियम नरहेकाले कानुनको उल्लंघन नभएको अदालतको ठहर छ ।

यसअगाडि नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको विजयमा अवरोध गर्न ट्रम्प पक्षधरका तर्फबाट कम्तीाम ४ राज्यमा दर्ता गरिएका मुद्दा सोमबार फिर्ता गरिएको छ । ती मुद्दाहरु जर्जिया, विसकन्सिन, मिसिगन र पेन्सिभेनियाका संघीय अदालतहरुमा दर्ता गरिएको थियो ।

ती मुद्दाहरु संघीय अदालतहरुमा अगाडि नबढ्ने भएपछि मुद्दा दर्ता गराउनेहरुले ती मुद्दाहरु परित्याग गरेका हुन् । डोनाल्ड ट्रम्पले पराजय अस्वीकार गर्दै कानुनी लडाई जारी रहेपनि ट्रम्पको कानुनी लडाई कमजोर बन्दै गएको छ भने अदालतमा रहेका मुद्दाको संख्या घट्दै गएको छ ।

संघीय अदालतमा मुद्दा दायर गर्नका लागि आवेदकहरुले सवैधानिक दावीहरु गर्न नसकेको भन्दै संघीय अपिल कोर्टले बताएलगत्तै संघीय अदालतहरुमा दायर गरिएका मुद्दाहरु निकम्मा बन्दै गएका हुन् । राज्यका अदालतहरुमा दायर गरिएका मुद्दामा पनि धाँधलीको कुनै प्रयाप्त प्रमाण नभएको भन्दै न्यायाधिसहरुले एकपछि अर्को अस्वीकार गर्दै आएका छन् ।

मुद्दामा संलग्न कैयन वकिलहरुलाई अदालतका तर्फबाट सुचित गर्दै यदि उनीहरुले स्वयंसेवीरुपमा ती मुद्दाहरु फिर्ता लिन चाहेको खण्डमा लिनसक्ने जानकारी गराइएको थियो । तीमध्ये कम्तीमा ४ वटा मुद्दाको प्रतिनिधित्व मिसिगन र पेन्सिलभेनियामा रुढीवादी वकिल जेम्स बपले गरेका थिए ।

शुक्रबारमात्र बाइडेनको विजयमाथि धावा बोल्दै दायर गरिएका अरु ९ वटा मुद्दाहरु अस्वीकार वा फिर्ता गरिएका थिए । ट्रम्प अभियानले एरिजोनामा दायर गरेको मुद्दा फिर्ता लिएको थियो भने पेन्सिलभेनियामा दायर गरिएका ६ वटा मुद्दामा पराजय भोगेको थियो । त्यस्तै मिसिगनमा पनि उनीहरुले मुद्दा हारेका थिए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com