अमेरिकी राष्ट्रपति चुनाव अपडेट- जर्जियामा पुन: मतगणना हुने


प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार

जर्जियामा पुन: मतगणना हुने भएको छ । सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जरले जर्जियामा झिनो मतको अन्तर भएका कारण पुन: मतगणना हुने बताएका हुन् ।

जर्जियामा अब ४ हजार १ सय ६९ मतमात्र गणना गर्न बाँकी रहेको छ । तर एकपटक सबै मत: गणना गरिसकेपछिमात्र पुन: गणना हुने जनाइएको छ ।

१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका छन् । तर यसपटक जर्जिया ब्याटलग्राउण्ड राज्य भएको छ ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जर्जियामा बाइडेनले जितेको खण्डमा राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेशको बाटो खुल्नेछ । जर्जिया नजितेको खण्डमा राष्ट्रपतिमा निर्वाचित हुन बाइडेनलाई नर्थ क्यारोलिना, पेन्सिलभेनिया र नेभाडामध्ये एउटा राज्य जित्नुपर्छ ।

त्यस्तै ट्रम्पले राष्ट्रपति चुनाव जित्नका लागि नेभाडासहित पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिया समेत जित्नुपर्छ । अलास्कामा भने रिपब्लिकनको पकड भएकाले ट्रम्पलाई जीत्न खास गाह्रो छैन । तर नेभाडा सन् २०१६ मा हिलारी क्लिन्टनले जितेको राज्य हो ।

मुख्य ब्याटलग्राउण्ड राज्यमा कस्तो अवस्थामा पुन: मतगणना हुनसक्छ?

राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको अभियानले विसकन्सिनमा पुन: मतगणनाको माग गरेको छ । मुख्य ब्याटलग्राउण्ड राज्यमा पुन: मतगणनाको विषय अलिक बढी उठ्नसक्ने सम्भावना छ । तर पुन: मतगणनाका लागि केही निश्चित प्रावधानहरु रहेका छन् ।

पेन्सिलभेनियामा यदि पहिलो र दोश्रो उम्मेदबारबीच शुन्य दशमलव ५ प्रतिशत वा त्यो भन्दा कम मतको अन्तर भएमा स्वत: पुन: मतगणना हुने प्रावधान छ । अन्यथा कुनै पनि डिस्ट्रक्टको तीनजना मतदाताले गणनामा गल्ती भएको अभियोगसहित पुन: गणनाका लागि आइतबारसम्म अनुरोध पेश गर्नसक्छन् । त्यसका लागि कुनै मार्जिनको आवश्यकता हुँदैन ।

त्यस्तै मिसिगनमा यदि पहिलो र दोश्रो उम्मेदबारबीच २ हजारभन्दा कम मतको अन्तर भएमा स्वत: पुन: मतगणना हुने प्रावधान छ । यदि पुन: गणनाका लागि अनुरोध गर्नुपरेमा मतगणना पूरा भएको ४८ घण्टाभित्र गर्नसकिन्छ ।

विसकन्सिनमा ४ हजारभन्दा कम मत खसेको स्थानमा ४० भन्दा कम मतको अन्तर भएमा पुन: गणनाका लागि अनुरोध गर्न सकिन्छ । ४ हजारभन्दा बढी मत खसेको स्थानमा १ प्रतिशत भन्दा कम मतको अन्तर भएको खण्डमा उम्मेदबारले पुन: मतगणनाको अनुरोध गर्नसक्छन् । कुनै पनि पुन: गणना १३ दिनभित्र पूरा गर्नुपर्ने प्रावधान रहेको छ ।

अमेरिकाको हरेक राज्यको इलेक्टोरल मत संख्या

त्यस्तै एरिजोनामा १ प्रतिशतभन्दा कम मतान्तर रहेको खण्डमा स्वत: पुन: गणना हुन्छ । २५ हजारभन्दा बढी मतदान भएको स्थानमा २ सय भन्दा कम मतान्तर रहेमा पनि स्वत: पुन: गणना हुन्छ । त्यस्तै २५ हजारभन्दा कम मतदान भएको क्षेत्रमा मतान्तर ५० वा त्यो भन्दा कम छ भने पनि स्वत: पुन: गणना हुन्छ ।

जर्जियामा स्वत: पुन: मतगणनाको प्रावधान छैन । तर निश्चित अवस्थामा उम्मेदबार र अधिकारीहरुले पुन: गणनाको अनुरोध गर्नसक्छन् । निर्वाचन अधिकारी वा जर्जियाका सेक्रेटरी अफ स्टेटले  पुन: गणनाको आदेश दिनसक्छन् ।

नेभाडामा मतगणना सकिएको ३ दिनभित्र पुन: मतगणनाका लागि अनुरोध गर्न सकिन्छ ।

नर्थ क्यारोलिनामा निश्चित अवस्थामा पुन: मतगणनाका लागि अनुरोध गर्न सकिने प्रावधान रहेको छ । १ प्रतिशतभन्दा कम मतान्तर रहेको खण्डमा पुन: गणनाको अनुरोध गर्नसकिन्छ । मतगणना सकिएको एकदिनभित्र यस्तो अनुरोध गर्नुपर्छ ।

अमेरिकी राष्ट्रपति चुनावको अन्तिम विजेता घोषणा गर्न अझै कति समय लाग्ला?

अमेरिकी राष्ट्रपति चुनावको औपचारिक रुपमै अन्तिम विजेता घोषणा गर्न अझै केही दिन, हप्ता वा महिना समेत लाग्नसक्छ । आगामी अवस्था कस्तो हुन्छ भन्ने कुराले समेत यसको निर्धारण गर्नेछ ।

अमेरिकी राष्ट्रपति चुनाव अमेरिकाभरबाट प्राप्त हुने कुल पपुलर मतका आधारमा निर्धारण हुँदैन । बरु विजेता हुनका लागि आफूले जितेका राज्यहरुबाट इलेक्टोरल कलेज मत संकलन गरेर कम्तीमा २७० पुराउनुपर्छ । हरेक राज्यमा फरक फरक इलेक्टोरल कलेज मतसंख्या रहेको हुन्छ भने कुल मतसंख्या ५३८ रहेको छ ।

अधिकांश राज्यमा औपचारिक रुपमा घोषणा नगरिएको भएतापनि चुनावी परिणाम स्पष्ट भइसकेको छ । अमेरिकन मुख्य संचारमाध्यमले मतगणनाको परिणाम, गणना हुन बाँकी मत लगायतका कैयन तत्वहरु हेरेर उम्मेदबारका लागि विजयी राज्यहरुको घोषणा गर्छन् ।

यसपटकको चुनावमा फक्स न्युज र एसोसिएट प्रेसले एरिजोनामा जो बाइडेनलाई विजेता घोषित गरे भने सीएनएन, न्युयोर्क टाइम्स लगाउतले एरिजोनामा अझै विजेता घोषणा गरेका छैनन् । यसरी गरिने प्रोजेक्सनहरु प्राय शतप्रतिशत सत्य नै हुन्छन् । सन् २०१६ को चुनावमा चुनाव भएकै राती साढे २ बजे ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा विजेता घोषणा गरिएको थियो ।

यसपटक कोरोनाको महामारीका कारण कुल मतदानको ६८ प्रतिशतभन्दा धेरै अग्रिम र हुलाकमार्फत मतपत्र पठाएर मतदान गरियो । व्यक्ति उपस्थीत भएर गरिएका अग्रिम मतदानको नतिजा छिटो निकाल्न सम्भव हुने भएपनि हुलाकबाट मतपत्र पठाएर गरिएका मतदानको नतिजा निकाल्नमा समय लागिरहेको छ ।

हुलाकबाट प्राप्त मतपत्रमा सुरुमा खाम खोलेर सुरुमा साक्षी र मतदाताको हस्ताक्षर भए नभएको चेक गर्नुपर्छ । त्यसपछि ठेगाना चेक गर्नुका साथै उक्त मतदाताले चुनावको दिन वा अग्रिम मतदानमा पनि उपस्थीत भएर मतदान गरे नगरेको चेक गर्नुपर्छ । त्यसपछिमात्र योग्य मतपत्रलाई स्क्यान मेसिनमा हालेर गणना गरिन्छ । यो सबै गर्दा झन्झटिलो भएकाले हुलाकबाट प्राप्त मतहरु गणनामा लामो समय लागेको हो ।

अहिलेसम्म ५ वटा राज्यहरुमा विजेता घोषणा गर्न बाँकी रहेको छ । अलास्का, जर्जिया, नेभाडा, नर्थ क्यारोलिना र पेन्सिलभेनियामा विजेता घोषणा गर्न बाँकी रहेको हो । अलास्कामा झण्डै २ लाख मत गणना गर्न बाँकी रहेकाले चुनावको अन्तिम परिणाम आउन सप्ताहन्त कुनुपर्ने हुनसक्छ । त्यहाँ ट्रम्पले लिड गरिरहेका छन् ।

जर्जियामा असाध्यै कडा प्रतिस्पर्धा रहेको छ भने पछिल्लो समय बाइडेलनले लिड गरिरहेका छन् । जर्जियामा आज सबै मत गणना हुने सम्भावना रहेको छ । सेनाका सदस्यहरुले हुलाकमार्फत पठाएका मतहरुभने आज शुक्रबार बेलुका ५ बजेपछिमात्र गणना गरिनेछ ।

नेभाडामा पनि थोरै मतले बाइडेनले लिड गरिरहेका छन् । नेभाडामा नोभेम्बर १० सम्म हुलाकबाट प्राप्त मतहरु गणना गर्नुपर्नेछ । जसको अर्थ यो सप्ताहन्तभर त्यहाँ मतगणना हुनेछ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतहरु गणना गर्नुपर्नेछ । पेन्सिलभेनियामा पनि आजसम्म हुलाकबाट प्राप्त मतहरु गणना गर्नुपर्नेछ । त्यसैले आजसम्म प्राप्त मतहरु गणना नगरेसम्म त्यहाँ अन्तिम नतिजा सार्वजनिक गरिनेछैन ।

अमेरिकाका झण्डै आधाजति राज्यहरुले नोभेम्बर ३ को पोष्टमार्क गरेर पठाइएका तर नोभेम्बर ३ पछि पनि हुलाकबाट प्राप्त भएका मतहरु गणना गर्छन् । कतिपयले हुलाकमार्फत मतपत्र मगाएपनि अग्रिम मतदानमा समेत सहभागी भएर अस्थायी मतदान समेत गरेका छन् । यस्ता मतहरु गणना गर्दा एउटै मत दुईपटक गणना नहुने सुनिश्चित गर्न सावधानी अपनाउनुपर्छ ।

सन् २००० को चुनावमा फ्लोरिडामा एल गोरले झण्डै ५ सय मतलेमात्र चुनाव हारे । त्यहाँ झण्डै ६० लाखले मतदान गरेका थिए । पछि यो मामला सर्वोच्च अदालतसम्म पुगेपछि अदालतले जर्ज डब्लु बुसलाई विजेता घोषणा गरेको थियो । यसपटकको चुनावमा पनि ३ सय भन्दा बढी मुद्दा दर्ता भइसकेका छन् । मुद्दा मामलाका कारण कतिपय राज्यमा विजेता घोषण गर्नमा लामो समय पनि लाग्न सक्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com