ब्याटलग्राउण्ड राज्य विसकन्सिनमा बाइडेन विजयी, राष्टपतिमा विजयी हुन अब जुन २ राज्य जीतेपनि हुने


प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार

ब्याटलग्राउण्ड राज्य विसकन्सिनमा जो बाइडेन विजयी भएका छन् । १० इलेक्टोरल मत प्राप्त हुने यो राज्यमा २०१६ को चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका थिए ।

यसअगाडि २०१६ को चुनावमा ट्रम्प विजयी भएको एरिजोनामा पनि बाइडेनले विजय हासिल गरिसकेका छन् । अर्को ब्याटलग्राउण्ड राज्य मिसिगनमा पनि बाइडेनले अग्रता कायम गरिरहेका छन् ।

पेन्सिलभेनियामा ट्रम्पले अग्रता कायम गरेपनि झण्डै ३० लाख हुलाकबाट प्राप्त मतहरु गणना गर्न बाँकी रहेको जनाइएको छ । ३० लाखमध्ये झण्डै २० लाख मतदाताहरु रजिस्टर्ड डेमोक्र्याट्सहरु रहेका छन् । जसका कारण ट्रम्पलाई पेन्सिलभेनिया जित्न सहज छैन ।

अमेरिकाको हरेक राज्यको इलेक्टोरल मत संख्या

नर्थ क्यारोलिना र जर्जियामा ट्रम्प अगाडि छन् । यी राज्यमा बाइडेनलाई चुनाव जित्न सहज छैन । तर अलास्का भने ट्रम्पले सहजै जित्ने देखिएको छ । त्यस्तै बाइडेनले नेभाडा सहजै जित्ने देखिएको छ ।

अब मिशिगन र नेभाडामात्रै जितेपनि राष्ट्रपति चुनाव बाइडेनले जित्नेछन् । तर ट्रम्पलाई चुनाव जित्नका लागि पेन्सिलभेनिया, नर्थ, क्यरोलिना, जर्जिया र अलास्का जितेपनि मिशिगनमा समेत जीत हासिल गर्नुपर्छ । जुन सहज देखिएको छैन ।

पेन्सिलभेनिया: झण्डै ३० लाख मत गन्न बाँकी

ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनियाको नतिजा आज आउन पनि मुस्किल हुने भएको छ । पेन्सिलभेनियामा मतगणना अहिले पनि भइरहेकाले अन्तिम नतिजा आउनमा ढिलाई भइरहेको छ ।

पेन्सिलभेनियामा अझै पनि झण्डै ३० लाख हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्न बाँकी नै रहेको छ । जसका कारण सबै मतपत्र गणना गरेर नतिजा सार्वजनिक आजै सम्भव नहुन पनि सक्ने गभर्नर टम वुल्फले जनाएका छन् ।

पेन्सिलभेनियामा झण्डै ३१ लाखले हुलाकबाट मतपत्र मगाएका थिए । जसमध्ये २५ लाखले हुलाकबाट मतपत्रहरु पठाएर मतदान गरिसकेका छन् । जसमध्ये झण्डै साढे १६ लाख रजिस्टर्ड डेमोक्र्याट्स र रजिस्टर्ड रिपब्लिकनहरु ५ लाख ८६ रहेका छन् ।

पेन्सिलभेनियामा नोभेम्बर ६ सम्म प्राप्त भएका मतपत्रहरु पनि गणना गर्नुपर्ने अदालतले आदेश दिएको छ । त्यस्तै नर्थ क्यारोलिनामा नोभेम्बर ३ को पोष्टमार्कसहित आएका मतपत्रहरु ९ दिनसम्म प्राप्त भएपनि गणना गर्नुपर्ने अदालतले आदेश दिएको छ । त्यसकारण पेन्सिलभेनिया र नर्थ क्यारोलिनाको अन्तिम नतिजा आउन केहीसमय लाग्ने भएको छ ।

नर्थ क्यारोलिनामा १४ लाख ५५ हजारले हुलाकमार्फत मतपत्रहरु मगाएका थिए । जसमध्ये झण्डै साढे ९ लाखले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरिसकेका छन् । जसमध्ये ४ लाख २५ हजार रजिस्टर्ड डेमोक्र्याट्स र १ लाख ९१ हजार रजिस्टर्ड रिपब्लिकन रहेका छन् । त्यस्तै ३ लाख १६ हजार तटस्थ मतदाताहरु रहेका छन् ।

अमेरिकी राष्ट्रपति चुनावबारे सम्पूर्ण अपडेटका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com