यी हुन्, असई र जवानको हत्या गरी नदीमा फाल्ने ७ तस्कर !
प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार

कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धनगढी–१० का ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय दलराम राना र २५ वर्षीय राम गोपाल राना रहेका छन् ।
शनिबार साँझ गस्तीमा निस्किएका धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज विक र प्रहरी जवान साउँद मृत फेला परेका थिए । उनीहरुमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ ।
वडा नम्बर १० स्थित मोहना नदीबाट अन्दाजी ४ सय मिटर उत्तरमा केराउ तस्करी गरिरहेका तस्करहरूको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिन प्रयास गर्दा तस्करहरुले धारिलो हतियारले प्रहार गरि दुबै जनाको हत्या गरेका थिए ।
हत्या गरिसकेपछि बोक्दै र घिसार्दै ४ सय मिटर दक्षिणमा नेपाल–भारत सीमामा रहेको मोहना नदीमा लगी अपराध लुकाउने उद्देश्यले फाली फरार भएको खुलेको छ ।
शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका असई विक र जवान साउद सम्पर्कमा नआएपछि प्रहरीले खोजी कार्य थालेको थियो । प्रहरीले खोजी गर्दै जाँदा त्यसको भोलिपल्ट आईतबार बिहान असई विकको शव हत्या गरी फालिएको अवस्थामा मोहना नदीभित्र फेला परेको थियो।
जवान साउदको शव मंगलबार मोहना नदीमै फेला परेको थियो।
उनीहरूविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। साथै सेवामा खटिएकै बेला ज्यान गुमाउनुपरेका प्रहरीका परिवारलाई अमर प्रहरीको परिवारका हैसियतले उच्च सम्मान दिइने प्रहरीको भनाइ छ।
तस्वीर : सामाजिक सञ्जालबाट