२४ घण्टाभित्र शुल्क नघटाए ८ वटा प्रयोगशालाको कोरोना परीक्षण अनुमति खारेज गरिने


प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी शुल्क लिएको भन्दै आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएको भन्दै तत्काल शुल्क समायोजन गर्न निर्देशन दिइएको जानकारी गराए।

उनले २४ घण्टाभित्र ती प्रयोगशालाहरूले शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने जनाए। त्यसका लागि राष्ट्रिय जनस्वास्थ्यलाई पत्राचार गर्न निर्देशन दिइसकिएको पनि उनले बताए।

मन्त्रालयको गुणस्तर मापन महाशाखाले बुझाएको प्रतिवेदनमा विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिने गरेको पाइएको हो।

बढी शुल्क लिनेमा ह्याम्स हस्पताल, डिकोड ल्याब, इन्टिपेड ल्याब, नेपाल मेडिसिटी, सिडिएल, स्टार अस्पताल, बिएन्डबी र सूर्य हेल्थ केयर छन्।

सरकारले सबै प्रयोगशालालाई अधिकतम दुई हजार रुपैयाँ लिएर कोरोना भाइरसको पिसिआर परीक्षण गर्न भनेको छ। तर पछिल्लो समय केही प्रयोगशालाहरूले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर परीक्षण गर्दै आएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com