अष्ट्रेलियामा एइसीएद्वारा विद्यार्थीहरुलाई ४१ हजार डलर वितरण, स्टुडेन्ट वेलफेयर फन्ड निर्माणको तयारी
प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार

अष्ट्रेलियामा कार्यरत नेपाली मुलका शैक्षिक परामर्शदाताहरूको संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्टेण्ट्स एलायन्सले विद्यार्थी तथा अस्थायी भिसा होल्डरहरुका लागि ४१ हजार २ सय ५० डलर सहयोग गरेको छ। संस्थाले कोरोना महामारीको चपेटामा परेका विद्यार्थीहरुलाई उक्त सहयोग गरेको हो।
एइसीएले आफ्ना सदस्यहरुलाई प्रतिसंस्था कम्तिमा ५ सय डलर सहयोग गर्न आह्वान गर्दै सहयोग संकलन अभियान चलाएको थियो। उक्त संकलित रकमबाट ४१ हजार २ सय ५० डलर विद्यार्थीहरुलाई सहयोग गरिसकिएको संस्थाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
संस्थाले विद्यार्थीहरुका लागि यस्तै परिस्थितिहरुमा सहयोग गर्ने उद्देश्यले अब स्टुडेन्ट वेलफेयर फन्डको निर्माण गर्ने समेत बताएको छ। संस्थाका अनुसार, सहयोग अभियानबाट संकलित रकममा विद्यार्थीलाई सहयोग गरेर बाँकी रहेको १५ हजार ८ सय ५८ डलर जम्मा गरि वेलफेयर फन्ड निर्माण सुरु गरिनेछ।
त्यस्तै, संस्थाले सामाजिक संजाल मार्फत विद्यार्थीहरुलाई सुचना प्रवाह गर्ने, चेतनामुलक कार्यक्रम गर्ने गरिरहेको छ।