टीपीएस अन्त्य भएमा ९ हजार नेपाली नै देशनिकालामा पर्दैनन् : देशनिकाला हुनसक्ने झण्डै १५ सय


प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा बस्दै आएका नेपालीहरुलाई अमेरिकी सरकारले दिदै आएको टीपीएस सुविधा झण्डै ९ हजार नेपालीहरुले लिएका छन् । तर यो सुविधा अन्त्य भएमा उनीहरु सबै देशनिकालामा भने पर्दैनन् ।

टीपीएस अन्त्य हुँदा वास्तविक रुपमा देशनिकालाको सामना गर्ने नेपालीहरु झण्डै १५ सयको हाराहारीमा रहेका छन् । अमेरिकामा टीपीएएसमा रहेका नेपालीहरुको संख्या झण्डै ९ हजार रहेपनि ती मध्ये कैयन पुरानै स्टेटसमा फर्केका छन् भने कैयनका इमिग्रेशन केसहरु टुंगो लागिसकेका छन् । केहीका अझै पेन्डिङ अवस्थामा रहेका छन् । टीपीएस सुविधा लिएका कैयन विद्यार्थीहरु पनि पुरानो विद्यार्थी भिसामा नै फर्कनेछन् ।

ति बाहेक झण्डै १५ सय नेपालीहरु भने देशनिकालाका लागि वास्तविक रुपमा योग्य हुनेछन् । किनभने उनीहरु यस अगाडि नै अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका तर टीपीएसबाट संरक्षितहरु हुन् । देशनिकालाको आदेश पाइसकेका उनीहरुबाहेक विभिन्न भिसामा अमेरिकामा आएर कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिएकाहरुसमेत ठूलो संख्यामा रहेका छन् । यद्यपी उनीहरुले अमेरिकामा अध्यागमन सुविधाका लागि आवेदन दिनसक्ने कैयन विकल्पहरु समेत रहेका छन् ।

ब्रेकिङ : नेपाल लगायत ६ वटा मुलुकको टीपीएस अन्त्य गर्ने पक्षमा नाइन्थ सर्किट कोर्टको निर्णय

 

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको देशनिकाला गर्नुपर्ने नेपालीहरुको सुचीमा झण्डै १५ सय नेपालीहरु रहेको विभिन्न तथ्यांकले देखाएको छ । टीपीएस सकिनासाथ उनीहरुका ठेगानामा कुनै पनि बेला आइसका एजेण्टहरु पुग्न सक्छन् । उनीहरु पक्राउ पर्न सक्छन् । र देशनिकालामा पर्न सक्छन् ।

नेपालीलाई टीपीएस प्रदान गरेकै बर्ष अर्थात् सन् २०१५ मा अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरु १२८ जना थिए भने अदालतबाटै स्वेच्छिकरुपमा अमेरिका छाड्न आदेश पाउनेहरु १२ जना रहेका थिए । तर रिपोर्ट अनुशार ६ जना अपराध प्रमाणित भएका र १४ जना अपराध नगरेकासहित २० जना इमिग्रेशनको डिपोर्टमा परे भने ३९ जना अमेरिकाबाट फिर्ता भए । यसरी हेर्दा ८१ जना नेपालीहरुले सन् २०१५ मा अमेरिकाबाट डिपोर्टको आदेश पाइसकेपछि पनि अमेरिका छाडेनन् । तीमध्ये कैयन टीपीएस सुविधा लिएर बसे । टीपीएस सकिएपछि उनीहरु आइसको निशानामा हुनेछन् ।

विगत १८ बर्षको रेकर्ड हेर्दा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको निशानामा रहेका नेपालीहरुको संख्या १५२० रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, एक्ज्युकेटिभ अफिस फर इमिग्र्रेशन रिभ्यु, इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस र युएससीआईएसबाट प्राप्त तथ्यांकले देखाएको छ । उनीहरुमध्ये अधिकांशले टीपीएस लिएका छन् । ती १५२० जना नेपालीहरु इमिग्रेशन अदालतबाट डिपोर्टको आदेश पाइसकेका तर विभिन्न कारणले अमेरिकाभित्रै बसेकाले टीपीएस सकिएपछि उनीहरु आइसको पहिलो निशानामा पर्नेछन् ।

उनीहरुमध्ये अधिकांशको ठेगाना इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइससँग भएकाले टीपीएस सकिनासाथ उनीहरुका घरमा कुनैपनि बेला आइसका एजेण्टहरु छापामार्न आउन सक्छन् । उनीहरुले अदालतबाट देशनिकालाको आदेश पाइसकेपछि कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिई त्यत्तिकै अमेरिकामा बसिरहेको सन्दर्भमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नियन्त्रणमा लिएको खण्डमा विना कुनै अवरोध डिपोर्ट हुनसक्ने जोखिममा पर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com