अष्ट्रेलियामा यहूदी समुदाय लक्षित गोलीकाण्ड: कम्तीमा ११ को मृत्यु


प्रकाशित मिति : मंसिर २८, २०८२ आईतबार

फोटो: एपी/ रासस

अष्ट्रेलियामा भएको गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको छ र २९ जना घाइते भएका छन्।

सिड्नीस्थित बोन्डाई बीचमा यहूदी समुदायलाई लक्षित गरी भएको उक्त गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रहरीले गोलीकाण्डमा २९ जना घाइते भएको बताएको छ। मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन्।

हनुक्का पर्वको पहिलो दिन सयौँ मानिस भेला भएका बेला भएको उक्त आक्रमणलाई प्रहरीले आतङ्कवादी हमला घोषणा गरेको छ।

प्रहरीका अनुसार घटनामा दुई जना सन्दिग्ध संलग्न थिए। तीमध्ये एक जनाको मृत्यु भइसकेको छ भने अर्का एक जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनास्थल नजिकै पार्क गरिएको एउटा सवारीसाधनबाट फेला परेका विस्फोटक पदार्थहरू प्रहरीले सुरक्षित रूपमा निष्क्रिय गरेको जनाएको छ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले उक्त आक्रमणलाई “दुष्टता, यहूदीविरोधी भावना र आतङ्कवादको घिनलाग्दो कार्य” भन्दै कडा शब्दमा निन्दा गरेका छन्। उनले भने, “यहूदी अष्ट्रेलियालीमाथिको आक्रमण सम्पूर्ण अष्ट्रेलियामाथिको आक्रमण हो।”

घटनाप्रति इजरायली अधिकारीहरूले गहिरो दुःख र आक्रोश व्यक्त गरेका छन्। केही इजरायली नेताहरूले अष्ट्रेलियामा यहूदीविरोधी गतिविधि बढ्न दिनुमा सरकारको कमजोरी रहेको आरोप लगाएका छन्।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्स मार्फत बोन्डाई बीचमा भएको “भयानक आक्रमणको कडा शब्दमा निन्दा” गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com