नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण, २८१ संक्रमित डिस्चार्ज


प्रकाशित मिति : भाद्र ७, २०७७ आईतबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १८ हजार ६३१पुगेको छ । पछिल्लो २४ घण्टामा थप २८१ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५८ प्रतिशत संक्रमित निको भएका छन् ।

मुलुकभर १३ हजार २५५ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा ८ हजार २६ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ११ हजार ४१४ रहेका छन् । होम आइशोलेशनमा ३ हजार ९४३ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र काठमाडौँ उपत्यकामा २१६ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

संक्रमणबाट थप ३ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । ज्यान गुमाउनेहरुमा पर्सा र सर्लाहीका दुई जना महिला र झापाका एक जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com