न्युयोर्क सिटीमा संक्रमणदर अहिलेसम्मकै कम तर रेष्टुरेण्ट पुन : बन्द हुनसक्ने कुमोको चेतावनी


प्रकाशित मिति : भाद्र ३, २०७७ बुधबार

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले जाडो सुरु भएपछि न्युयोर्कका रेष्टुरेण्टहरु पुन बन्द गर्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् । अहिले न्युयोर्कका रेष्टेरेण्टहरुमा टेकआउट र बाहिर बसेर खान सकिने सुविधा रहेको छ । तर जाडो सुरु हुनासाथ बाहिर बसेर खाने अवस्था नहुने भएकाले रेष्टुरेण्टहरु बन्द गर्नुपर्ने हुनसक्छ ।

न्युयोर्कका राज्यका अन्य भागमा जस्तो न्युयोर्क सिटीमा रेष्टेरेण्टभित्र बसेर खानाखान अनुमति छैन । मापदण्डहरुको पालनाका सन्दर्भमा अन्य क्षेत्रको तुलनामा न्युयोर्कसिटीमा अत्यन्तै धेरै समस्याहरु आएको कुमोले बताएका छन् ।

न्युयोर्क राज्यले मापदण्डको पालना नगर्ने कैयन बार र रेष्टुरेण्टहरुमाथि कारवाही पनि गरेको छ । यद्यपी उल्लंघनको क्रम अझै पनि तीब्र नै छ । बाहिर बसेर खाने रेष्टुरेण्टहरु पनि भींडभाडयुक्त हुन थालेका छन् । सामाजिक दुरी र मास्कको प्रयोग कम हुँदै जान थालेको छ ।

न्युयोर्कमा अहिलेसम्म झण्डै १५० रेष्टुरेण्ट र बारको मदिराको लाइसेन्स खारेज गरिएको छ । अन्य कैयन रेष्टुरेण्टहरुलाई जरिवाना समेत गरिएको छ । न्युयोर्क सिटीमा हरेक नियम उल्लंघनका लागि १० हजार डलरसम्म जरिवाना तोकिएको छ ।

कैयन विजनेशरु आर्थिक समस्याबाट गुज्रेको कुरा आफूलाई थाहा भएको तर कोरोनाको महामारी रोक्न मापदण्डको पालना अनिवार्य रहेको कुमोले बताएका छन् । तर कहिलेदेखि रेष्टुरेण्टहरु पुन बन्द गर्ने भन्नेबारे कुमोले ठ्याक्कै मिति भने बताएका छैनन् ।

न्युयोर्कमा कोरोना संक्रमणको दर अहिलेसम्म पनि कम नै कायम छ । विगत १२ दिनको अवस्था हेर्दा संक्रमणदर परीक्षण गरिएकाहरुमध्ये एकप्रतिशत भन्दा कम नै रहेको छ । न्युयोर्क सिटीका मेयर बिल डे ब्लाजिओले न्युयोर्कमा संक्रमणदर अहिलेसम्मकै कम शुन्य दशमलव २४ प्रतिशत रहेको बताएका छन् । कुमोको आदेश भएपनि न्युयोर्कका जिमहरु अगस्तमा नखुल्ने मेयर ब्लाजिओले स्पष्ट पारेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com