भाइरसलाई नियन्त्रणमा लिएको न्युयोर्कले दोस्रो छाल रोक्न सक्ला ?


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

– जे डेभिड गुडम्यान

न्युयोर्क शहरका स्वास्थ्य विशेषज्ञहरूले कोरोनाभाइरसका केसहरु अहिलेसम्ममा अब फेरि बढ्ने सोंचेका थिए । उनीहरूका मोडेलहरूले यस्तो भविष्यवाणी गरेका थिए।तर तिनीहरू गलत सावित भएका छन् ।

न्युयोर्क राज्यले वसन्त ऋतुको सुरुदेखि फैलिएको महामारीमात्र नियन्त्रण गर्न सफल भएको छैन, उच्च अधिकारीहरूले सोचेभन्दा लामो समयसम्म यसलाई नियन्त्रणमा राख्नसमेत सफल भएको छ । पहिले सफलताका कथा बनाएका क्यालिफोर्निया , रोढ आइल्याण्ड लगायतका राज्यहरुले कोरोनाको महामारी पुन बढेपछि त्यसलाई रोक्न संघर्ष गरिरहेको बेलामा न्युयोर्कका नेताहरुले पनि त्यस्तो अवस्था आउन सक्ने र कुनैपनि बेला पुन बढ्नसक्ने आकलन गरिरहेका छन् ।

हालको संक्रमणको स्तर यति उल्लेखनीय छ कि यसले राज्य र शहरका अधिकारीहरूलाई समेत चकित पारेको छ । न्युयोर्क सिटीमा हरेक दिन झण्डै ३० हजारको कोरोना परीक्षण हुने गरेकोमा झण्डै १ प्रतिशतलाईमात्र पोजेटिभ देखिएको छ । लस एन्जलसमा यो दर ७ प्रतिशत रहेको छ । मायामी डेड काउन्टीमा १३ प्रतिशत रहेको छ भने ह्युस्टनमा १५ प्रतिशत रहेको छ ।

महामारीविद् र जनस्वास्थ्य अधिकारीहरूका अनुशार यो भाइरसको उपस्थीति न्युयोर्कमा पहिले जस्तो थियो अब त्यस्तो छैन ।

‘न्युयोर्क अहिले हाम्रो दक्षिण कोरियाजस्तै छ ।’  हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्यूटका डाक्टर थोमस सईले भने।

तर भाइरल प्रकोपको बारेमा केहीपनि स्थिर नहुने विज्ञहरूले चेतावनी दिएका छन् । ३२ हजार मानिस  भाइरसबाट मरेका न्युयोर्क राज्यले बाहिरबाट आउने यात्रुहरुका कारण जोखिम बढिरहँदा अर्को छाल रोक्न सक्छ कि सक्दैन भन्ने नै मुख्य प्रश्न हो । हडसन नदिभन्दा पारीको न्युजर्सीले ट्रेसिंग र कोरोनाको बढ्दो केसका सन्दर्भमा संघर्ष गरिरहेको छ ।

एक पटक भाइरस संयन्त्रको मोडेलमा सफल भएका कैयन सहरहरुले नयाँ प्रकोपको साथ संघर्ष गरिरहेको पनि अधिकारीहरुले नियालिरहेका छन् । हङकङले पनि संक्रमणमा तीब्र बृद्धि भइरहँदा जुलाई अन्तिममा इनडोर डाइनिंग र दुई भन्दा बढी व्यक्तिको भेलामा प्रतिबन्ध लगाएको छ। केसहरु बढेपछि मेलबोर्नबाट अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।

दर्जनौं भन्दा धेरै अन्तर्वार्तामा महामारी विज्ञ, सार्वजनिक स्वास्थ्य अधिकारी र संक्रामक रोग विशेषज्ञहरूले भनेका छन् कि न्युयोर्कको हालको सफलताको कारण अप्रिलमा राज्यमा भाइरसको महामारी फैलिंदा चालेको कदम नै हो ।

त्यतीबेला न्युयोर्क राज्यका अधिकारीहरुले अर्थतन्त्र कमजोर र जागिरहरु गुम्ने अवस्थाका बाबजुत जीवन बचाउनका लागि स्कुल र विजनेशहरु बन्द गरेका थिए । मास्कप्रतिको लगावमा बृद्धि भएको थियो । जोखिमपूर्ण अवस्थामा रहेका धेरै न्युयोर्कबासीहरु अहिलेपनि अपार्टमेन्टहरुभित्रै बसिरहेका छन् ।

रेष्टुरेण्ट र बारहरुभित्र खानाखाने गतिविधि अरु राज्यमा महामारी फैलिनसँग सम्बन्धित भएका पाएपछि रेष्टुरेण्ट र बारहरुभित्र खानाखाने गतिविधि हुन नदिनेगरी गभर्नर एन्ड्रयु कुमो र मेयर बिल ब्लाजिओले सावधानीपूर्वक जुनको अन्त्यदेखि न्युयोर्क खोल्दै गए ।

‘न्युयोर्कका मानिसहरूले अन्य स्थानहरूको तुलनामा धेरै गम्भीरतासाथ ध्यान दिएका छन्,’ मिशिगन युनिभर्सिटीका महामारीविद्का इतिहासकार डाक्टर होवार्ड मार्केलले भने। ‘र तिनीहरू जे गरिरहेका छन्, जोखिम कम गर्नका लागि गरिरहेका छन् । उनीहरुले भाइरसलाई मारिरहेका होइनन् ।’

अझै पनि संक्रमणदर बढ्ने स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

तातो सप्ताहन्तमा स्थानीय समुद्र तटहरू भरिएका छन्। आँगनमा प्लाइवुडले बनाइएका आउटडोर रेस्टुरेन्टहरूमा मान्छेहरु ओइरिएका छन्। हालैको एउटा मंगलबारमात्र १२ लाख मान्छेले न्युयोर्कको सबवे प्रयोग गरे । यो गत वर्षको तुलनामा कम भएपनि मे महिनाको मंगलबारको तुलनामा भने दुई गुणा बढी थियो।

समरका लागि न्युयोर्क शहरमा महामारी बृद्धि हुने भविष्यवाणी गरिएका मोडलहरु फलको सुरुमा लागु हुने देखिएको छ । रेष्टुरेण्टमा बाहिर खानाखाने लगायतका गतिविधि गर्दै जीवन अहिलेको लागि बाहिर पनि बाँच्न सकिन्छ, तर मौसम चिसो भए पछि घर भित्र सर्नुपर्नेछ । त्यतीबेला फ्लूको मौसम बढ्दै जान्छ। स्कूलहरू पनि सेप्टेम्बरमा खोल्न तय गरिएको छ।

मान्छेहरुमा आत्मविश्वास बढ्दै गर्दा सामाजिक दुरी र मास्कका सन्दर्भमा लापरवाही बढ्न सक्छ । न्युयोर्क सिटीमा अहिले नै कैयन अवैध पार्टीहरु भइरहेका छन् भने बु्रकलिनको सनसेटपार्कमा संक्रमणका केसहरु बढेका छन् ।

‘म न्युयोर्कमा कोविड १९ को दिगो अन्त्यको बारेमा आशावादी छैन,’ कोलम्बिया विश्वविद्यालयका डाक्टर इरविन रेडलेनरले भने। ‘न्युयोर्क इपीसेन्टर रहेको बेला गत अप्रिलमा संक्रमण भयानक उचाईमा भएपनि अझै करोडौं मानिसहरू जोखिममा छन्।’

अधिकारी र एपिडेमिओलोजिष्टहरूका अनुशार सबैभन्दा ठूलो जोखिम अरु राज्यबाट न्युयोर्कका आउनेहरुबाट रहेको छ । उनीहरु राज्यले लगाएको १४ दिनको क्वारेन्टीनको बाबजुत पनि न्युयोर्कमा आइरहेका छन् ।

न्युयोर्कका गभर्नरले संक्रमण दर उच्च भएका राज्यबाट न्युयोर्क आउनेहरुमाथि क्वारेन्टाइनको नियम लगाउका हुन् । सुरुमा ८ वटा राज्यहरुलाई सुचीमा राखिएको थियो भने पछि पोर्तोरिको र भर्जिन आइल्याण्डसहित ३१ राज्यलाई थपिएको छ ।

राज्यका अधिकारीहरुका अनुशार जुन महिनाको सुरुवातदेखि १ लाख ६० हजार व्यक्ति क्वारेन्टीनमा बस्नुपर्ने थियो । तर नियमको कार्यान्वयन लगभग असम्भव जस्तै भएको छ । वास्तवमै कतिजना व्यक्ति क्वारेन्टीनमा बसे भन्नेबारे राज्यले केही बताउन सकेको छैन ।

न्युयोर्कमा अहिले देखिएका कोरोना संक्रमणका केसहरुमध्ये झण्डै २० प्रतिशत अरु राज्यबाट आउनेहरुका सन्दर्भमा जोडिएका छन्, जसमध्ये फ्लोरिडा, जर्जिया र न्युजर्सी मुख्य प्रस्थान विन्दुहरु रहेका छन् । गतसातामात्र न्युयोर्कका मेयर ब्लाजिओले न्युयोर्क आउने ड्राइभरहरुलाई रोकेर क्वारेन्टीनको नियमबारे जानकारी गराउन सकिने बताएका थिए ।

न्युयोर्क सिटीका कन्ट्याक्ट ट्रेसरको सम्पर्कमा आएका अधिकांशले संक्रमण भएको हुनसक्नेका नामहरु सार्वजनिक गरेका छैनन् । २२ हजारमध्ये कोरोना पोजेटिभ देखिएका साढे १२ हजार बढीले सिटीलाई आफ्नो सम्पर्क समेत दिएका छैनन् । जसले बताएका छन्, उनीहरुले पनि दुईदेखि तीनजनाको सम्पर्कका बारेमा मात्र बताएका छन् ।

तर शहरका अधिकारीहरूले भनेका छैनन् कि पहिले नै ट्रेसर्सलाई थाहा भएकाहरु कति जनामा संक्रमण पुष्टी भएको छ । अर्को शब्दमा भन्नुपर्दा, कतिवटा नयाँ केसहरू अघिल्लो केससँग जोडिएका छन् भन्नेबारे बताइएको छैन । प्रकोप नियन्त्रण अनुमान गर्नको लागि यसलाई संक्रामक रोग विशेषज्ञहरुले मापदण्डका रुपमा लिने गर्छन् ।

जनस्वास्थ्यका लागि मेयरका वरिष्ठ सल्लाहकार डाक्टर जय वर्माका अनुशार आफूलाई लक्षण देखिएको कारण क्वारेन्टीनमा रहेको बताएका व्यक्तिको संख्याका आधारमा हेर्दा सिटीको कार्यक्रमले हजारौंलाई नयाँ संक्रमण हुनबाट जोगाएको छ । जुनको सुरुदेखि झण्डै २ सयभन्दा बढीले सिटीबाट उपलब्ध गराइएका होटलहरुमा आफूलाई आइसोलेसनमा राखेका छन् ।

‘हामीले यो कुरा सही ठान्न सक्दैनौं कि हामीले गरिरहेको कामले असर गरिरहेको छैन । हामीले गरिरहेको कामको प्रभाव न्यूयोर्कमा रोग संख्याको आधारमा समेत स्पष्ट देख्न सकिन्छ ।’ –  डाक्टर वर्माले भने। ‘राज्यको चारैतिर संक्रमणको ढाँचाले सुझाव दिन्छ कि न्युयोर्कहरू पनि अन्य अमेरिकीहरुजस्तै महामारी प्रतिबन्धको अधीनमा छ।’

न्युयोर्कसिटीमा अहिले सबैभन्दा बढी संक्रमणदर म्यानहटनमा देखिएको छ । उदाहरणका लागि धनीहरुको निवास रहेको हेल्स किचन वा फाइनान्सियल डिस्ट्रिक्टलाई लिन सकिन्छ । त्यो बाहेक पहिले कडा महामारी फैलिएको ब्रोक्स र क्वीन्सका क्षेत्रमा पनि संक्रमणदर बढी छ ।

‘मेरो सरोकार चिन्तापूर्ण रहेको छ ‘ –  सिटीका पूर्व बरिष्ठ सार्वजनिक स्वास्थ्य अधिकारी, डा ओक्सिरिस बार्बोटले गत महिना एक अन्तर्वार्तामा भनेकी थिइन् । डाक्टर बार्बोटले महामारीको लागि ब्लासियोको कदमप्रति असन्तुष्टी व्यक्त गर्दै यस महिना राजीनामा दिइसकेकी छन् ।

उनी भन्छिन् कि न्युयोर्कको सफलताको सबैभन्दा महत्वपूर्ण कारक भनेको मास्क लगाउनु र सामाजिक दूरी कायम गर्नु नै हो । अहिले नै ढुक्क भएर अपरिहार्य दोस्रो छालका लागि योजना बनाइएन भने त्यो मुर्खता हुने उनको भनाई छ ।

नियमहरु सही तरिकाले कार्यान्वन नहुँदा त्यसको प्रभावहरु पहिले नै देखिएको छ । छप्पाकामा गरिएको ग्रयाजुएसन कार्यक्रमपछि २८ जनामा संक्रमण पुष्टी भयो । अल्बानीमा जुलाई ४ मा गरिएको एउटा भोजका कारण २ सय बढीमा संक्रमण फैलियो ।

जब परिवारहरूले हालसालै बालबालिकाको पार्टीहरुमा जानको लागि कोरोना नेगेटिभ भएको प्रमाण चाहिने भएकालेमात्र कोरोनाभाइरस परीक्षणको खोजी गर्न थाले तब वेस्टचेस्टर काउन्टीका बाल रोग विशेषज्ञहरू चिन्तित भएका छन् ।

‘दुर्भाग्यवस, मानिसहरू अझै पनी बुझ्न सक्दैनन् कि परीक्षणको अर्थ के हो,’ – काउन्टीकी स्वास्थ्य कमश्निर डाक्टर शेरलिता अमलर भन्छिन् – ‘कोरोना परीक्षण एक क्षण कुरा मात्र हो। यो जेलबाहिर निस्कने कार्ड बनाउन लागेको जस्तो झन्झटिलो होइन ।’

एन्टिबडी सर्वेक्षणले सुझाव दिएको छ कि न्यु योर्क शहरका ५ जनामा ​​एक जनालाई पहिले नै कोरोना संक्रमण भइसकेको छ । तर सार्वजनिक स्वास्थ्य अधिकारीहरू समुहगत प्रतिरक्षा यो संख्याको कारण भएको विश्वास गर्दैनन् । भविश्यमा यसैमा विश्वस्त हुन नसकिने उनीहरुको भनाई छ ।

‘न्युयोर्कमा नियम उल्लंघन गर्नेहरु र मास्क नलगाउनेहरु पनि यसकारण अहिलेसम्म संक्रमित भएका छैनन् । किनभने उनीहरुका कैयन छिमेकी र साथीभाईहरुले अहिले पनि नियम मानिरहेका छन् । मास्क लगाइरहेका छन् ।’ –  डाक्टर बार्बोटले भनिन् ।

‘कुनै संक्रमण कम्युनिटीमा फैलिदा यसको टर्मिनल फैलावट हुन्छ । अर्थात् यो त्यहाँभन्दा बाहिर जाँदैन । मास्क लगाएका धेरै व्यक्ति यो सँग मेल खान्छन् ।’ –  उनले बताइन् । तर यो केवल सिद्धान्तमात्र रहेको र यसबारे कुनै तथ्यांक नभएको उनले चेतावनी दिएकी छिन् ।

अहिले न्यून स्तरमा रहेपनि मंगलबारमात्र ४६ हजार १ सय ८५ मा परीक्षण गर्दा न्युयोर्क सिटीमा थप ३८६ मा संक्रमण भएको पुष्टी भएको छ । मान्छेहरु कहाँ संक्रमित भइरहेका छन् भन्ने निर्धारण गर्न ट्रेसरहरुका लागि यो पनि ठूलो संख्या हो । निकट भविश्यमा मान्छेहरुले कस्तो व्यवहार गर्ने भन्नेबारे नयाँ नियमहरु जारी गर्नुपर्ने डाक्टर बार्बोटको सुझाव छ ।

‘मलाई लाग्छ कि हामी संस्कृति परिवर्तन गर्दैछौं, ‘ – राज्यका स्वास्थ्य आयुक्त डाक्टर होवार्ड जुकर भन्छन् । सामाजिक दूरी र मास्कहरू अहिले प्राय समाजकै प्रतिबिम्ब भइसकेको उनको भनाई छ ।

त्यस्ता परिवर्तनहरू नयाँ आचरणका प्रमाण हुन् । रेष्टुरेण्ट र बारभित्र खानाखान अनुमति दिइएका वेस्टचेस्टर काउन्टीमा समेत ग्राहकले भित्र होइन, बाहिरै बसेर खान खोजिरहेका छन् । त्यहाँ केहि रेस्टुरेन्टहरूले आउटडोर सिट प्रस्ताव गर्छन्।

‘मौसम चिसो भएपछिमात्र मान्छेहरु रेष्टुरेण्टभित्र बसेर खान सहज मान्ने नमान्ने परीक्षण हुनेछ,’ – मार्चमा न्यु योर्कमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको न्यु रोशेलका मेयर नोआम ब्रम्सनले भने। ८० हजारको उक्त सिटीमा जुलाईको अन्तिमसम्म कोरोनाका सकृय केसहरु जम्मा ३३ मा झरेका थिए ।

(न्युयोर्क टाइम्समा प्रकाशित यो विशेष रिपोर्ट हामीले खसोखासका पाठकका लागि अनुवाद र संक्षीप्तीकरण गरेका हौं । यसको पूर्ण रुपमा न्युयोर्क टाइम्समा पढ्न सक्नुहुनेछ ।)

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com