अमेरिकी नागरिकता आवेदन दिंदा आवेदकले गर्ने मुख्य ५ गल्तीहरु


प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार

अमेरिकी नागरिकताको लागि आवेदन दिंदा सानो गल्तीले पनि आवेदनमा ढिलाई हुने वा आवेदन अस्वीकृत हुने सम्भावना रहन्छ । त्यसैले आवेदन दिंदा त्यस्ता गल्ती हुन नदिन सचेत हुनुपर्छ ।

अमेरिकी नागरिकताको आवेदन अनलाइनमार्फत सजिलै दिन सकिन्छ । युएससीआईएसले अमेरिकी नागरिकताका लागि आवेदन दिंदा आवेदकले गर्नसक्ने मुख्य गल्तीप्रति सचेत गराएको छ । जुन यसप्रकार छन् ।

१, तपाईले अमेरिकी नागरिकताका लागि एन ४०० आवदेन भरिसकेपछि पुन राम्रोसँग चेक गर्नुहोस् । धेरै आवेदकहरुले आफूलाई अन्तरवार्तामा सोधिने प्रश्नका लागिमात्र तयार पार्छन्, आवेदनमा सोधिएका प्रश्नहरुको पुनरावलोकन गर्न बिर्सन्छन् ।

२, यदि तपाईले अमेरिकी नागरिकसँग विवाह गरेर अमेरिकी नागरिकताका लागि आवेदन दिंदै हुनुहुन्छ भने तपाईले विवाहको प्रमाणपत्र र श्रीमान् वा श्रीमतीको अमेरिकी नागरिकताको प्रमाणपत्र वा अमेरिकी पासपोर्टको फोटोकपी पेश गर्नुपर्ने हुन्छ । अनलाइनबाट आवेदन दिनेहरुले अपलोड गर्न सकिन्छ । कतिपयले यी प्रमाणहरु पेश गर्न बिर्सेर ग्रिनकार्डकोमात्र प्रमाण पठाउँछन् ।

३, गलत शुल्क पठाउँदा पनि आवेदन अस्वीकार हुने र लामो समय लाग्ने हुनसक्छ । त्यसैले उचित शुल्क पठाउनेतर्फ ख्याल गर्नुहोस् । अनलाइनबाट आवेदन दिएर अनलाइनबाटै शुल्क तिर्दा भने गलत शुल्क पठाउने सम्भावना रहन्न ।

४, तपाईले प्रारम्भिक अन्तरवार्ता दिनेक्रममा युएससीआईएसले थप कागजात पनि माग्नसक्छ । पछिको कुनै मितिमा पेश गर्नका लागि तपाईलाई मौका दिइन्छ । ती कागजातहरु तपाईले तोकिएको समयभित्र बुझाउनुपर्छ । नत्र तपाईको आवेदनमा ढिलाई हुनसक्छ । अनलाइन आवेदन दिएको खण्डमा यस्ता कागजात अनलाइनमै अपलोड गरेर पठाउन सकिन्छ ।

५, कतिपय आवेदकले नागरिकताको लागि योग्य हुनुभन्दा अगाडि नै आवेदन पठाउने गर्छन् । तपाईले ग्रिनकार्ड प्राप्त गरेको ५ बर्ष पुरा भएको हुनुपर्छ भने ५ बर्षको अवधिमा कम्तीमा ३० महिना अमेरिकाभित्र बसेको हुुनुपर्छ । साथै एकपटकमा अमेरिकाबाहिर गएर ६ महिनाभन्दा बढी बसेको हुनुहुँदैन । युएससीआईएसले ४ बर्ष ९ महिना पुरा भइसकेपछि पनि आवेदन स्वीकार्न थाल्छ ।

याद गर्नुहोस्, अमेरिकी नागरिकताको अन्तरवार्तामा जाँदा अँग्रेजी र सिभिक टेस्ट उत्तिर्ण गर्नका लागि प्रयाप्त तयारी गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com