कान्तिपुरका पत्रकार बानियाँको मृत्युबारे अनुसन्धान गर्न माग
प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/08/1597220791balaram.jpg?fit=900%2C583&ssl=1)
नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
“अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेका बानियाँको मृत्यु दुर्घटना, आत्महत्या वा हत्याका कारण भएको हो यकिन भएको छैन, यसबारे प्रहरीले गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ”, महासचिव शिवाकोटीले भने । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिवसमेत रहनुभएका बानियाँको मृत्युको खबरले प्रेस युनियन मर्माहत भएको बताइएको छ । दुःखद् घडीमा पत्रकार बानियाँप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा युनियनले समवेदना प्रकट गरेको छ ।