दुई सातामै पुनः बन्द भए सौराहाका होटल


प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार

चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारबाट बन्द भएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेबाट बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए ।

कर्मचारी बोलाएर सरसफाइ, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै पुनः होटल बन्द भएको उनको गुनासो छ । उनले भने, “हामीले कति दुःख पाउने कर्मचारी बोलायौँ, खर्च ग-यौँ, फेरि बन्द गर्नुप-यो ।” रोगको सङ्क्रमणका कारण बन्द गर्नु बाध्यता भए पनि खोल्ने र बन्द गर्ने गर्नुपर्दा नोक्सान बढी भएको उनको भनाइ छ । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो दशैँअघि होटल खोल्नुको औचित्य नहुने बताउँछन् । सङ्क्रमण बढ्दै गएकाले जिल्ला लकडाउनसँगै लामो दूरीका सवारीसाधन बन्द हुँदा होटलमा ग्राहक नआउने उनको भनाइ छ । होटलसँगै रेष्टुराँ पनि बन्द हुन थालेका छन् ।

किनेर लैजाने ग्राहक कम हुने भएकाले रेष्टुराँमा ग्राहक नआउने व्यवसायीको भनाइ छ । सौराहामा ११० होटल रहेका छन् । यसैगरी साना ठूला १०० हाराहारी रेष्टुराँ छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com