वन मासिने क्रम बढ्दै


प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार

पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन मासिँदै जान थालेको छ । बढ्दो वन अतिक्रणसँगै विभिन्न नाममा बर्सेनि कैलालीको वनको क्षेत्र घट्दै जान थालेको हो । कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना, खुटिया दिपायल द्रुतमार्ग, सेती लोकमार्ग, हुलाकी मार्गलगायत विकास निर्माणका कारणले पनि वन मासिने क्रम बढ्दै गएको छ ।

भावर र चुरे क्षेत्रमा हुने विनाशले वातावरणमा असन्तुलन भई तराईमा डुबानको खतरा बढेको वन संरक्षणकर्मीको भनाइ छ । विकास निर्माणका योजना गर्दा कार्ययोजनामा एक रुख काटेबापत २५ वटा रुख रोप्नुपर्ने प्रावधान भएपनि सो कार्ययोजना कार्यान्वयनमा देखिएको पाइँदैन । कैलालीमा कुल क्षेत्रफलको दुई लाख पाँच हजार ९३९ हेक्टर (६२ दशमलव ६८ प्रतिशत) वन रहेको छ । तराई र भावर क्षेत्रमा एक हजार ९३१ वर्ग किलोमिटर (५९ दशमलव ७० प्रतिशत) र चुरे क्षेत्रमा एक हजार ३०३ दशमलव सात वर्ग किलोमिटर (४० दशमलव ३० प्रतिशत) वन रहेको तथ्याङ्क छ ।

जिल्लामा व्यक्ति विशेष, मुक्त कमैया, सुकुम्बासी, बाढीपीडित, संस्थागत गरी २५ हजार ५०० हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जनाइएको छ । अतिक्रमणले वसन्ता जैविक मार्गको कनेक्टीभिटी जोखिममा रहनुका साथै वन क्षेत्र खण्डित भइरहेकाले वन्यजन्तुको वासस्थान विनास भइरहेको, अवैध चोरी निकासी/तस्करी र शिकारलगायतका क्रियाकलापले वन संरक्षणमा चुनौती थपिएको धनगढीका सहायक वन अधिकृत रामअवतार चौधरीको भनाइ छ ।

कैलालीमा हालसम्म करिब ३० हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको अनुमान गरिएको छ । तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलालीको वन क्षेत्र अतिक्रमण भएको देखाएको छ । कैलालीमा बढ्दो शहरीकरण, प्रदेशको राजधानी, स्वास्थ्य सुविधा, शिक्षा, यातायातलगायत सुविधाका कारण पहाडबाट बसाइँ सर्ने दर अत्याधिक छ ।

बसाइँ सरेर आएका कतिपयले वन अतिक्रमण गरी घर, टहरा निर्माण गर्दै आएको वन प्राविधिकको भनाइ छ । डिभिजन वन कार्यालय धनगढीका अनुसार तराई र भावर तथा चुरे क्षेत्रमा वन व्यवस्थापनको कार्य अघि बढाइएको छ । हाल जिल्लाको दुई साझेदारी र ८० भन्दा बढी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम भइरहेको जनाइएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com