उपत्यकामा थप ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

काठमाडाैँ उपत्यकामा ६२ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ र ललितपुरमा गरी ६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडाैँमा ५७ जना र ललितपुरमा पाँच जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काठमाडाैँका २७ जनामा सङ्क्रमण्को पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल, टेकुमा ललितपुरका एक र काठमाडाैँका १४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

ललितपुरस्थित पाटन अस्पतालमा काठमाडाैँको दुई तथा ललितपुरका दुईजनामा सङ्क्रमितको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा एक, नेपाल प्रहरी अस्पतालमा काठमाडाैँका ११ तथा स्टार अस्पताल सानेपामा एक र बीआइडीएच ल्याबमा काठमाडाैँका एकजनामा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि मङ्गलबार समेत काठमाडाैँ उपत्यकामा ६२ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com