अमेरिकामा यसबर्षको समरमा तालमा डूबेर १९ देखि २५ बर्षका कम्तीमा ५ नेपालीको मृत्यु


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

अमेरिकामा यसबर्षको समर सुरु भइसकेपछि तालमा डूबेर कम्तीमा ५ जना नेपालीहरुको मृत्यु भएको छ । माछा मार्न, बोटिङ वा पौडन गएको बेलामा उनीहरुको मृत्यु भएको हो ।

पछिल्लो पटक गत शनिबार मिनेसोटामा तालमा डूबेर २४ बर्षीय युवा आशुतोष दाहालको मृत्यु भएको छ । बिराटनगरका दाहालले हालै सेन्ट क्लाउड स्टेट युनिभर्सिटीबाट ग्रयाजुएट गरेका थिए ।

शनिबार बेलुका पौने ८ बजेतिर बिग लेकमा गएका उनी ट्युबबाट खसेर पानीमा डूबेका थिए । झण्डै दुईघण्टापछि उनको शव प्रहरीले झण्डै १० फिट तलबाट निकालेको थियो ।

गतसातामात्र अमेरिकाको टेक्सासमा तालमा डूबेर २३ बर्षकी नेपाली युवती अस्मिता खनालको मृत्यु भएको थियो । जुलाई २६ तारिख आइतबार टेक्सासको लेक लेविसभिलबाट उनको शव निकालिएको थियो ।

दिउसो ३ बजेतिर उनी तालमा खसेकी थिइन् । उनी लाइफ ज्याकेटविना नै डुंगाको पछिल्लो भागबाट तालमा खसेकी हुन् ।

त्यो अगाडि जुलाई ९ मा टेक्सासमा रहेको ब्राजोस नदिमा माछामार्न गएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमको पानीमा डूबेर मृत्यु भएको थियो । गौतम र खत्री अर्का एकजना भियतनामी साथीसँग माछा मार्न गएका थिए । गौतम पानीमा डूबेपछि बचाउन खोज्दा खत्री आफूपनि डूबेका थिए ।

फोर्टवर्थ निवासी सरिता चौलागाईका छोरा हिकारु गौतम गतबर्षमात्र हाईस्कुल ग्रयाजुएट भएका थिए । सधै मुस्कुराउने स्वभावका त्रिशरण राम्रो फुटवल खेलाडी रहेका थिए । पानीमा डूबेको दुईदिनपछि खत्रीको शव जुलाई ११ को राती ९ बजे र गौतमको शव जुलाई १२ बेलुका साढे ६ बजे फेला परेको थियो । खत्री नेपाली भाषी भुटानी भएको जनाइएको छ ।

यस अगाडि गत मे महिनामा मेरिल्याण्डमा २५ बर्षका नेपाली युवाको पानीमा डूबेरै निधन भएको छ.थियो । वाग्लुङ्ग जिल्ला घर भई मेरिल्याण्डमा वस्दै आएका वर्ष २५ का आशिष केसीको रिची हाईवे नजिकको तलाउमा डुबेर मृत्यु भएको थियो ।

पानीमा डूबेपछि उद्धारकर्ताहरुले उद्धार गरि मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा ल्याएका थिए । त्यहाँ उपचार गर्ने क्रममा उनको निधन भएको थियो ।

भतिजा र अन्य साथीहरु समेत मिलेर गएका केसी पानीको मध्य भागमा पुगेपछि चिच्याएपछि सँगै पुगेका साथीहरु र अन्यले उद्दारको प्रयास गरेका थिए । तर उनीहरु सफल हुन सकेनन् । पछि स्थानीय प्रहरी र उद्दार कर्ताहरुलाई ९११ मा खवर गरेपछि तुरुन्त हेलिकप्टर सहितको टोलीले उद्धारको प्रयास गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com