मास्क लगाउन अस्वीकार गर्दै आएका रिपब्लिकन सांसदलाई कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार

कोरोनाको महामारी सुरु भएदेखि नै मास्क लगाउन अस्वीकार गर्दै आएका अमेरिकाका रिपब्लिकन सांसद लुई गोहमर्टलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनी अरु संसदसदस्यहरुसँग पनि नजिकको संसर्गमा रहेकोबारे चासो बढेको छ ।

महान्यायाधिवक्ता विलियम बारले हालै बयान दिएको एउटा संसदीय समितिको बैठकमा पनि उनी उपस्थीत रहेको जनाइएको छ । त्यसैले विलियम बारको समेत कोरोना परीक्षण गरिने डिपार्टमेन्ट अफ जस्टिसका प्रवक्ताले जनाएका छन् ।

लुई गोहमर्ट अमेरिकी संसदको तल्लो सदनमा टेक्सासबाट प्रतिनिधित्व गर्छन् । ह्वाइट हाउसमा जाने क्रममा गरिएको स्क्रीनिङमा उनलाई संक्रमण पुष्टी भएपछि कम्तीमा १० दिन सेल्फ क्वारेन्टीनमा बस्ने भएका छन् ।

उनले आफू अब सेल्फ क्वारेन्टीनमा बस्ने एउटा अन्तरवार्तामा बताएका छन् । आफू मास्क नलगाएकोबारे धेरैले ठूलो विषय बनाइरहेको सन्दर्भमा आफूलाई कोरोना संक्रमण पुष्टी हुनु बिडम्बना रहेको उनले बताएका छन् । तर आफूले पछिल्लो एकदुई हप्तादेखि मास्क लगाएको उनले बताए ।

स्वास्थ्य विशेषज्ञहरुले कोरोना संक्रमण फैलिनबाट रोक्न मास्कको प्रयोग अनिवार्य बताउँदै आएका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेकोमा ट्रम्पलाई समर्थन गर्दै केही सांसदहरुले मास्क लगाउन मानेका थिएनन् ।

अमेरिकामा कोरोना संक्रमणबाट झण्डै डेढलाखको मृत्यु भइसकेको छ । ४४ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । केही सांसदहरुलाई यसअगाडि कोरोना संक्रमण पुष्टी भएको थियो तर सबै निको भइसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com