३४ राज्यबाट न्युयोर्क आएको व्यक्ति क्वारेन्टीनमा बसेको छैन ? यसरी गर्नुहोस् रिपोर्ट


प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार

वासिंटन डिसी, पोर्तोरिको र ३४ राज्यबाट न्युयोर्क आएको व्यक्ति दुईसाता अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने नियम रहेको छ । तर यदि कोही व्यक्तिले यो नियम उल्लंघन गरेको पाउनुभएमा त्यस्ता व्यक्तिका बारेमा तपाईले सम्बन्धित निकायमा खबर गर्न सक्नुहुनेछ ।

यदि कुनै व्यक्तिले क्वारेन्टीनको नियम वा ट्राभल एड्भाईजरीको उल्लंघन गरेको पाउनुभएमा तपाईले तुरुन्तै ८३३ ७८९ ०४७० मा फोन गर्न सक्नुहुनेछ । तपाईले आफ्नो परिचय नखुलाइकन पनि यसको रिपोर्ट गर्न सक्नुहुनेछ ।

त्यस्तै तपाईले यो लिंकमा क्लिक गरेर पनि नियम उल्लंघन गर्नेहरुका बिरुद्ध जानकारी दिनसक्नुहुनेछ ।

क्वारेन्टीनको नियममात्र नभई कोरोनाको महामारीसम्बन्धि अरु नियम नमान्नेहरुका सन्दर्भमा पनि यो लिंक मार्फत रिपोर्ट गर्न सकिनेछ ।

वासिंटन डिसी, पोर्तोरिको र ३४ राज्यबाट न्युयोर्क आउनेहरु अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्छ । अमेरिकाका अधिकांश राज्यहरुमा कोरोनाको महामारी बढिरहँदा न्युयोर्क, न्युजर्सी र कनेक्टिकट आउनेहरु अनिवार्य क्वारेन्टीनमा बस्नुपर्नेको सुचीमा राज्यहरु थपिएको हो ।

गतसातामात्र भर्जिनिया र मेरिल्याण्ड लगायतका ३१ राज्यबाट न्युयोर्क आउनेहरु अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने गरी १० वटा नयाँ राज्यहरु थपिएको थियो । त्यसअगाडि २२ वटा राज्यहरु सुचीमा रहेका थिए ।

मंगलबार थपिएका नयाँ राज्यहरुमा इलिनोय, केन्टकी र मिनेसोटा रहेका छन् । वासिंटन डिसी र पोर्तोरिकोलाई पनि मंगलबार नै थपिएको हो । यसअगाडि मेरिल्याण्ड, भर्जिनिया, अलास्का, डेलावर, इन्डियाना, मिजौरी, मोन्टाना, नर्थ डाकोटा, नेब्रास्का, वासिंटन, अलाबामा, अर्कान्सास, एरिजोना, क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, आयोवा, आइदायो, कन्सास, लुजियाना, मिसिसिपी, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, न्यु मेक्सिको, नेभाडा, ओहायो, ओक्लाहोमा, टेनेसी, टेक्सास, युटाह र विसकन्सिन रहेका थिए ।

अब वासिंटन डिसी, पोर्तोरिको र ३४ वटा राज्यबाट न्युयोर्क आउनेहरुले न्युयोर्क आउनासाथ आफू आएको स्थानको विवरण र जाने स्थानको विवरणसहित फर्म भरेर सरकारी अधिकारीहरुलाई बुझाउनुपर्छ । साथै उनीहरु न्युयोर्क आइसकेपछि अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने नियम रहेको छ ।

नियम पालना नगर्नेहरुलाई न्युयोर्कमा २ हजार डलर र कनेक्टिकटमा १ हजार डलर जरिवाना तोकिएको छ ।

कुनै बेला कोरोना महामारीको इपीसेन्टर रहेको न्युयोर्कमा अहिले परीक्षण गरिएकाहरुमध्ये एकप्रतिशतको हाराहारीमामात्र कोरोना संक्रमण देखिएको छ । तर न्युयोर्कका गभर्नर कुमोले न्युयोर्कमा कोरोनाको दोश्रो छाल अवश्यंभावी रहेको बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com