वासिंटन डिसी, पोर्तोरिको र ३४ राज्यबाट न्युयोर्क आउनेहरु अनिवार्य क्यारेन्टीनमा बस्नुपर्ने


प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार

अब वासिंटन डिसी, पोर्तोरिको र ३४ राज्यबाट न्युयोर्क आउनेहरु अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । अमेरिकाका अधिकांश राज्यहरुमा कोरोनाको महामारी बढिरहँदा न्युयोर्क, न्युजर्सी र कनेक्टिकट आउनेहरु अनिवार्य क्वारेन्टीनमा बस्नुपर्नेको सुचीमा राज्यहरु थपिएको हो ।

गतसातामात्र भर्जिनिया र मेरिल्याण्ड लगायतका ३१ राज्यबाट न्युयोर्क आउनेहरु अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने गरी १० वटा नयाँ राज्यहरु थपिएको थियो । त्यसअगाडि २२ वटा राज्यहरु सुचीमा रहेका थिए ।

मंगलबार थपिएका नयाँ राज्यहरुमा इलिनोय, केन्टकी र मिनेसोटा रहेका छन् । वासिंटन डिसी र पोर्तोरिकोलाई पनि मंगलबार नै थपिएको हो । यसअगाडि मेरिल्याण्ड, भर्जिनिया, अलास्का, डेलावर, इन्डियाना, मिजौरी, मोन्टाना, नर्थ डाकोटा, नेब्रास्का, वासिंटन, अलाबामा, अर्कान्सास, एरिजोना, क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, आयोवा, आइदायो, कन्सास, लुजियाना, मिसिसिपी, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, न्यु मेक्सिको, नेभाडा, ओहायो, ओक्लाहोमा, टेनेसी, टेक्सास, युटाह र विसकन्सिन रहेका थिए ।

अब वासिंटन डिसी, पोर्तोरिको र ३४ वटा राज्यबाट न्युयोर्क आउनेहरुले न्युयोर्क आउनासाथ आफू आएको स्थानको विवरण र जाने स्थानको विवरणसहित फर्म भरेर सरकारी अधिकारीहरुलाई बुझाउनुपर्छ । साथै उनीहरु न्युयोर्क आइसकेपछि अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने नियम रहेको छ ।

नियम पालना नगर्नेहरुलाई न्युयोर्कमा २ हजार डलर र कनेक्टिकटमा १ हजार डलर जरिवाना तोकिएको छ ।

कुनै बेला कोरोना महामारीको इपीसेन्टर रहेको न्युयोर्कमा अहिले परीक्षण गरिएकाहरुमध्ये एकप्रतिशतको हाराहारीमामात्र कोरोना संक्रमण देखिएको छ । तर न्युयोर्कका गभर्नर कुमोले न्युयोर्कमा कोरोनाको दोश्रो छाल अवश्यंभावी रहेको बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com