कोरोना सङ्क्रमित केन्द्र बन्दै अस्पताल,एकै दिन १० स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि


प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार

विराटनगरमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सङ्क्रमित हुनेको संख्या बढ्दै गएसँगै कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमणको केन्द्र नै अस्पताल बन्न थालेका छन् ।ट्राभल्स हिस्ट्री बिना नै स्वास्थ्यकर्मीमा सुरु भएको सङ्क्रमणले उनीहरुसम्म स्वास्थ्य परीक्षणका लागि आएका बिरामीमा समेत जोखिम बढेको छ ।
मङ्गलबार मात्रै विराटनगरका दुई अस्पतालका १० जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सङ्क्रमण पुष्टि भएको छ । विराटनगरमा १८ जनामा मङ्गलबार सङ्क्रमण पुष्टि भएको विराटनगर महानरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये एकजना चिकित्सकसहित सातजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । आइतबार साँझ कोशीको पोस्टनेटल वार्डमा कार्यरत एकजना नर्समा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार उनैको सम्पर्क पहिचानका आधारमा ३१ जनाको स्वाब सङ्कलन गरिएकोमा सात जनाको नतिजा पोजिटिभ आएको हो ।

यसैगरी, विराट नर्सिङ होम (विराटनगर अस्पताल) का तीनजनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । विराटका सञ्चालकलाई अघिल्लो हप्ता मङ्गलबार सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि सम्पर्क पहिचानका आधारमा आइतबार चार जना नर्समा सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार थप तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।

विराटनगर-६ मा ३८ र ५४ वर्षीय दुई पुरुष, विराटनगर–१० मा ३७ वर्षीया महिला र ३५ वर्षीय पुरुष, विराटनगर–१३ मा एक पुरुष र विराटनगर–५ मा एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसैगरी झापा ठेगाना उल्लेख गरिएका विराटनगर निवासी थप दुईजनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगमा एक हप्ता अगाडी संक्रमित चिकित्सक एवं सञ्चालकको ट्राभल हिस्ट्री अझैसम्म पत्ता लागेको छैन । उनकै सम्पर्कको आधारबाट १४ जनामा भने संक्रमण पुष्टि भएसकेको छ । विराटनगर महानगरपालिकामा यस्ता ३७ जना संक्रमित पछिल्लो दशदिनमा फेला परेका छन्, जसको ट्राभल हिस्ट्री छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com