कुल संक्रमितमा फ्लोरिडाले उछिन्यो न्युयोर्क, क्यालिफोर्निया पहिलो


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

अमेरिकामा कुल संक्रमित संख्यामा न्युयोर्कलाई फ्लोरिडाले उछिनेको छ भने क्यालिफोर्निया पहिलो स्थानमा पुगेको छ । जोन हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुशार फ्लोरिडामा कुल संक्रमितको संख्या ४ लाख १४ हजार ५ सय ११ पुगेको छ ।

शनिबार फ्लोरिडाले न्युयोर्कलाई उछिनेको हो । शनिबार थप ७५० संक्रमितसहित न्युयोर्कमा कुल संक्रमितको संख्या ४ लाख ११ हजार २ सय पुगेको जोन हप्किन्सको तथ्यांकमा जनाइएको छ ।

अमेरिकामा सबैभन्दा धेरै क्यालिफोर्नियामा संक्रमितको संख्या आइतबारसम्म ४ लाख ४६ हजार ४ सय ५२ पुगेको छ । शनिबार क्यालिफोर्नियाले १० हजार ६६ जना नयाँ संक्रमित रिपोर्ट गरेको थियो ।

न्युयोर्कमा अहिलेसम्म ५५ लाखमा कोरोना परीक्षण गरिसकिएको छ भने क्यालिफोर्नियामा ७० लाख बढीमा परीक्षण गरिसकिएको छ । फ्लोरिडामा ३३ लाख बढीको परीक्षण गरिसकिएको छ ।

अमेरिकामा कुल संक्रमितको संख्या ४२ लाख नाघिसकेको छ । मृतकको संख्या पनि १ लाख ४६ हजार नाघिसकेको छ । अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै संक्रमितको संख्या झण्डै २४ लाख पुगेको छ भने तेश्रोमा भारतमा संक्रमितको संख्या झण्डै १४ लाख पुगेको छ ।

जोन हप्किन्सको पछिल्लो तथ्यांक हेर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com