‘संक्रमणदर कम भयो भनेर लापरवाही नगर्नुहोला’ : कोरोनालाई जितेका न्युयोर्कका नेपाली डाक्टर


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

न्युयोर्कमा कोरोनाको संक्रमण दर अहिले निकै कम भएको छ । परीक्षण गरिएकाहरुमध्ये झण्डै एक प्रतिशतमामात्र कोरोना संक्रमण पुष्टी भएको छ । तर संक्रमणदर कम भयो भन्दैमा लापरवाही गर्न नहुने कोरोनालाई जीतेका न्युयोर्कका नेपाली डाक्टर विनोद शाहले सुझाव दिनुभएको छ ।

अमेरिकाका विभिन्न राज्यमा कोरोना संक्रमणदर बढिरहेको र न्युयोर्कम समेत कोरोना संक्रमणदर कायमै रहेकाले संक्रमणदर कम भयो भन्दैमा भोजभतेर र जमघटका लागि हतारो नगर्न डाक्टर शाहले सुझाव दिनुभएको छ । मास्क लगाउने र सामाजिक दुरी कायम गर्ने सन्दर्भमा लापरवाही नगर्न उहाँले सुझाव दिनुभएको छ ।

कोरोनाको भ्याक्सिन वा औषधी नआइसकेकाले त्यतीन्जेलसम्मका लागि अनावश्यक जमघट, भींडभाड वा लापरवाही गर्न नहुने उहाँले बताउनुभयो । लापरवाही गरेमा कुनैपनि बेला कोरोनाको अर्को छाल न्युयोर्कमा आउनसक्ने उहाँले चेतावनी दिनुभयो । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले समेत कोरोनाको अर्को छाल न्युयोर्कमा आउनसक्ने चेतावनी दिइसक्नुभएको छ ।

अमेरिकाका अधिकांश राज्यमा अहिले कोरोनाको संक्रमण तीब्र बनेको छ । तर न्युयोर्कमा भने संक्रमण दर कम रहेको छ । न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा विभिन्न ३१ राज्यबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टीनको नियम लागु गरिएको छ ।

कुनै व्यक्ति कोरोना संक्रमणबाट निको भएर एन्टीबडी छ भने पनि लापरवाही गर्न नहुने डाक्टर शाहको तर्क छ । एन्टीबडी पनि लामो समय नटिक्ने प्रमाणित भइसकेको सन्दर्भमा एकपटक एन्टीबडी छ भन्दैमा कहिले पनि संक्रमण हुँदैन भनेर सोंच्न नहुने उहाँले बताउनुभयो ।

कोरोना संक्रमणबाट यति प्रतिशत व्यक्तिमात्र सिकिस्त हुन्छन् वा यति प्रतिशतकोमात्र मृत्यु हुन्छ वा यति प्रतिशतमा मात्र पोजेटिभ देखियो भनेर ढुक्क भएर नबस्न डाक्टर शाहले सुझाव दिनुभयो । उहाँले भन्नुभयो – ‘त्यो प्रतिशतभित्र को पर्छ भन्ने थाहा हुँदैन । आफैपनि पर्न सकिन्छ । त्यसैले लापरवाही नगर्नुहोला ।’

न्युयोर्क निवासी डाक्टर शाह मार्चको तेश्रो साता कोरोनाबाट सिकिस्त भएर कैयन दिन अस्पतालमा विताउनुभएको थियो । उहाँले कोरोनालाई जीतेको अनुभव खसोखासले प्रकाशित गरेको थियो । उक्त अनुभव पढ्न यहाँ क्लिक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com