Follow @khasokhasmag

‘ठीक टाइममा अस्पताल गएकाले बाँचेर फर्केर आएँ’ : न्युयोर्कका नेपाली डाक्टर विनोद शाह


प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार

– किशोर पन्थी

झण्डै २० बर्षदेखि अमेरिकाको न्युयोर्कमा मेडिकल फिल्डमा खटिरहेका धनुषाको भुतही पटेर्वाका ५८ बर्षीय डाक्टर विनोद शाहलाई अहिलेसम्म यति धेरै सिकिस्त बिरामी भएर अस्पतालमा भर्ना हुनुपरेको थिएन । तर कोरोनाको संक्रमणले सिकिस्तमात्र पारेन, झण्डै एकसाता अस्पतालमा भर्ना हुनुपर्यो । त्यो पनि आफैले अरु बिरामीको उपचार गर्दै आएको अस्पतालमा नै ।

न्युयोर्कको वेष्टचेस्टर काउन्टीको स्कारडेल निवासी डाक्टर शाह अहिले अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेका छन् । तर डाक्टर शाहले कोरोनालाई जीत्नका लागि झण्डै तीनसाता कठिन संघर्ष गनुपर्यो । अन्तत कोरोना पराजित भयो भने डाक्टर शाह घरमा नै स्वास्थलाभ गरिरहेका छन् । उनले भने – ‘अस्पताल जान अलिकति पनि ढिलो गरेको भए, म फर्केर आउने थिएँ कि थिइन थाहा छैन । तर म ठीक टाइममा अस्पताल गएँ र सकुशल फर्कन सकें ।’

‘फोक्सोमा एकदम खराब संक्रमण हुँदा पनि मलाई सुधार भयो । मलाई बाँच्न लेखेको रहेछ । अहिले मलाई भगवानले दोश्रो जन्म दिएजस्तो लागेको छ । शायद साथीहरुलाई भेट्नका लागि र मानवको सेवा गर्नका लागि मैले दोश्रो जन्म पाएँ । फेरी केही राम्रो काम गर्नका लागि मलाई भगावानले जीवनउपहार दिएर पठायो ।’ –  घरमै आराम गरिरहेका डाक्टर शाहले भावुक हुँदै भने ।

अरु बेला न्युयोर्कको योंकर रिभरसाइडमा रहेको सेन्ट जोन्स अस्पतालका बेडमा अरु बिरामीहरु हुन्थे, डाक्टर विनोद शाह ती बिरामीहरुको उपचार गरिरहेका हुन्थे । तर अप्रिलको दोश्रो साता बिरामी लड्ने बेडमा डाक्टर शाह थिए भने अरु डाक्टरहरु उनको उपचारमा थिए । उनी भन्छन् – ‘आफै बिरामी भएपछि डाक्टर हुँ भन्ने पनि बिर्सिने रहेछ ।’

मार्चको तेश्रो सातादेखि नै लक्षण

डाक्टर भएकाले उनले धेरै मान्छेलाई भेट्नु स्वभाविक हो । बिरामीका अतिरिक्त उनले डाक्टरलाई पनि भेटिरहेका थिए । तर कतिजनामा लक्षण नभएपनि कोरोना संक्रमण भएको हुनसक्ने भएकाले त्यस्तै व्यक्तिबाट आफूमा कोरोना संक्रमण भएको अनुमान गर्छन् उनी ।

मार्च २१ अचानक खोकी बढेपनि कोरोनाकै संक्रमण होला भन्ने निष्कर्षमा उनी पुगेनन् । कमजोरी पनि बढेको थियो । तर खोकी पेटको बिरामीका कारण पनि हुनसक्छ भनेर उनले पेटको औषधी खाए । भाइरस होला कि भनेर निगरानी पनि गरिरहेका थिए ।

विभिन्न औषधी खाँदा पनि निको भएन । बरु मार्च २३ को बेलुकातिर उनी अचानक थला परे । खोकी छँदै थियो, ज्वरो र कमजोरी बढेपछि उनी ओछ्यानमा सुते । उनी भन्छन् – ‘मार्च २३ र २४ मा मेरो एकदमै नराम्रो अवस्था भयो । मलाई सुरुमा पेट दुखेको थियो । पछि १०२ सम्म ज्वरो आयो , एकदमै कमजोरी महसुस भयो भने लगातार खोकी चलिरहेको थियो ।’

ज्वरो बढ्नासाथ टायलोनोल खाइहाल्ने भएकाले ज्वरो १०२ भन्दा माथि पुग्न पाएन । टायलोनोल खाएपछि ज्वरो अलिक कम हुन्थ्यो । ज्वरो आउने, कमजोर बनाउने, खानाखान मन नलाग्ने भएपछि उनले आफूमा कोरोना भाइरसको संक्रमण भएको अनुमान गरे । यसैबीचमा सँगै काम गर्ने एकजना डाक्टरलाई कोरोना पोजेटिभ देखिएकाले क्वारेन्टाइनमा बस्न सुझावसहित अस्पतालबाट फोन समेत आएको थियो । शरिरको लक्षण अरु भाइरससँग नमिलेको र विगतमा इन्फ्लुयन्जा भएका कारण त्यो लक्षण उनलाई थाहा भएकाले उनले आफूलाई कोरोना संक्रमण भएको आशंका गरे ।

उनले आफ्ना दुईचारजना डाक्टर साथीहरुलाई फोन गरे । उनीहरुले कोरोनाको परीक्षण गराउन सुझाव दिए । त्यतीबेलासम्म श्रीमति सुजाता शाहलाई पनि खोकी सुरु भएको थियो । त्यसैले मार्च २५ मा दुबैजना टेस्ट गराउनका लागि नजिकैको नर्थवेल अर्जेन्ट केयरमा गए । त्यहाँ डाक्टर शाहको नमुना संकलन गरियो । तर सुरुवाती चरण भएकाले किटको अभाव भएका कारण लक्षण भएकाहरुकोमात्र टेस्ट भइरहेकाले श्रीमति सुजाता शाहको टेस्ट गरिएन ।

टेस्ट गराएर घर आइसकेपछि पनि ज्वरो आउने, खोकी लाग्ने भइनै रहेको थियो । मार्च २७ मा कोराना टेस्टको रिपोर्ट पनि आयो र कोरोना पोजेटिभ रहेको बताइयो । घरमा क्वारेन्टाइनमा बस्न सुझाव दिइएकाले उनी अत्यन्तै कडा अनुशासनका साथ घरमा क्वारेन्टीनमा बस्न थाले । लक्षण देखिनासाथ क्वारेन्टीनमा बस्न थालेको भएतापनि पुष्टी भएपछि अझ कडारुपमा बस्न थालेको बताउँछन् उनी ।

उनी घरमै क्वारेन्टीनमा बसेर औषधी खाइरहे । मार्च २७ पछि स्वास्थ्यमा सुधार भइरहेको जस्तो अनुभव भएको थियो । ज्वरो आउन पनि कम भइसकेको थियो । खोकी पनि कम भएको थियो । स्वादलिने क्षमता र सुघ्ने क्षमता कमजोर भएपनि हिडडुल बढिरहेको थियो भने खानाको रुची पनि बढेको थियो । उनले ८० प्रतिशत रिकभरी भएको अनुभव गरेका थिए । तर अप्रिल ७ मा अचानक उनलाई स्वासफेर्न निकै गाह्रो भयो ।

अचानक स्वासफेर्न मुस्किल

अप्रिल ७ मा अचानक खोकी बढ्यो । उनले आफूलाई चलचित्र हेरेर व्यस्त राख्ने प्रयास गरे । तर छातीमा अप्ठ्यारो महसुस भएपछि उनले राती १० बजे आफ्नो अस्पतालको आईसीयुको डाइरेक्टरलाई मेसेज पठाए । आफूलाई गाह्रो हुँदै गएको भनेर मेसेज पठाएपछि आईसीको डाक्टरले भोलि अस्पताल आउन र एक्सरे गराउन सुझाव दिए । तर उनलाई आफ्नो अवस्था निकै खराब हुँदै गइरहेको अनुभव भइरहेको थियो ।

उनलाई झन्पछि झन् स्वासफेर्न गाह्रो भएको अनुभव भयो । अर्को साथीलाई सम्पर्क गरेपछि पनि भोलि विहान एक्सरे गरेर हेर्ने बताए । डाक्टर शाह भन्छन् – ‘राती १२ बजेसम्म मैले आफूलाई कुनै किसिमले म्यानेज गरिरहेको थिएँ । तर १ बजेतिर मैले सहनै नसक्ने अवस्था आयो । म आफै डाक्टर भएको नाताले केही नराम्रो भइरहेको छ भन्ने अनुभव भयो ।’

उनले श्रीमतिलाई आफ्नालागि इमर्जेन्सी जानु राम्रो हुने बताए । राती राती साढे १ बजे एकजना डाक्टर साथीलाई फोन गरे । सुरुमा फोन उठेन । तर साथी र साथीको श्रीमतिको मोबाइलमा लगातार फोन गरेपछि उनीहरुसँग सम्पर्क भयो । उनले ९११ मा फोन गरेर सेन्ट जोन्स अस्पतालसम्बद्ध डब्स फेरी अस्पतालमा जान सुझाव दिए र भोलि आफू पनि उक्त अस्पतालमा आउने बताए ।

त्यसपछि डाक्टर शाहले ९११ मा फोन गरे । उनले श्रीमतिले गाडी चलाएर आफै अस्पताल जानसक्ने तर बाटोमा केही भएमा भने तुरुन्तै आउनुपर्ने जानकारी दिए । उनी भन्छन् – ‘मलाई के डर लागिरहेको थियो भने म कुनैपनि बेला रेस्पिरेटोरी फेलियरमा जानसक्छु । यो अवस्था भएमा मेरो होस गुम्नसक्छ । त्यो अवस्थामा मलाई तत्कालै अस्पताल लगेर भेन्टिलेटरमा राख्नुपर्ला कि भनेर मलाई शंका थियो ।’

त्यसपछि उनी श्रीमतिसहित अस्पतालको इमर्जेन्सीमा गए । स्वास्थ्य जाँचपछि त्यहाँका स्टाफहरुले ‘तपाई यही अस्पतालको डाक्टर भएको नाताले के गर्ने तपाई नै भन्नुहोस्’  भनेर सोधे । उनले आफूलाई अक्सिजन र आईभी दिन तथा निगरानीमा राख्न अनुरोध गरे । त्यसपछि उनलाई अक्सिजन दिइयो । उनी भन्छन् जब मैले अक्सिजन पाएँ, खोकी कम भयो भने छातीको मांसपेशी पनि रिल्याक्स भयो ।

विहान ३ बजेतिर डाक्टर आएपछि सबै परीक्षणका नमुनाहरु लिइयो । भोलिपल्ट एक्सरे र छातीको सिटी स्क्यान गर्दा दुबै फोक्सोमा निमोनियाका कैयन प्याचहरु देखिए । यो देखेपछि डाक्टरको समुहले डब्स फेरी अस्पतालबाट ठूलो र डाक्टरहरु जतिबेला पनि उपलब्ध हुने सेन्ट जोन्स अस्पताल रिभरसाइडमा ट्रान्सफर गरे । यो अस्पतालमा डाक्टर शाह आफैले काम गर्दै आएका छन् भने उनको आफ्नो नीजि मेडिकल पनि यसकै अगाडि रहेको छ ।

अलिकतिमात्र ढिलो पुगेको भए भेन्टिलेटरमा राख्ने अवस्था आउनसक्थ्यो । तर समयमै अस्पताल पुगेकाले मलाई भेन्टिलेटरमा राख्नुपरेन । बाहिरबाट अक्सिजन दिएर राखियो । समयमै अस्पताल पुग्दा ज्यान जोगिएको बताउँछन् उनी ।

अस्पतालमा लगभग ७ दिन राखियो उनलाई । एक्लै सातदिन एउटा कोठामा बसे । बेलाबेलामा डाक्टरहरु आउने र हेर्ने गर्थे । सातौं दिनमा सिटी स्क्यान गरेर हेरेपछि उनलाई घर जान चाहने हो भने जानसक्ने बताइयो । उनले घरमा पनि अक्सिजनको अनुरोध गरे । घरमा प्राइभेट अक्सिजनको व्यवस्था भएपछि उनी अस्पतालबाट डिस्चार्ज भए ।

अप्रिल १३ मा घरमा आइसकेपछि दुईतीन लगातार अक्सिजन लगाएर बसे । अहिले उनी व्यायाम गरिरहेका छन् । अहिले २४ घण्टामा झण्डै १२ घण्टामात्र अक्सिजन लगाइरहेका छन् । उनी भन्छन् आज लगातार ६ घण्टा अक्सिजन लिइन । बेलाबेलामा अन्य ६ घण्टाजति अक्सिजन लिनुपरेन । जम्मा १२ घण्टा मात्र लिएँ । अब अर्को हप्ताबाट सिलिण्डरबाट अक्सिजन नलिने लक्ष्य छ ।

लक्षण देखिनु २ दिन अगाडि खसोखासको भिडियोमा बोल्दै डाक्टर शाह ।

बेलाबेलामा निकै भावुक

आफू बिरामी हुँदा दुईतीनपटक आफूलाई मनोवैज्ञानिक रुपमा निकै अप्ठ्यारो ठाउँमा पाएको बताउँछन् उनी । एकदिन ओछ्यानमा पल्टिरहेका उनका मनमा अनेक कुराहरु खेल्न थाले । आफूलाई के होला ? केही भइहाले परिवार र बच्चाको अवस्था के होला भन्ने उनलाई मनमा लागिरह्यो ।

त्यो इमोशनल क्षण सम्झदै उनी भन्छन् – ‘मैले किन हो किन श्रीमतिलाई बोलाएँ । उनी आएर अलिक पर बसिन् । म केही बोल्न पनि सकिन । आँखाबाट आँशुमात्र आयो । त्यतीखेर मैले इमोशनल्ली आफूलाई नियन्त्रण नै गर्न सकिन । श्रीमतिले के भयो बोल्नुस् भनेर सोधिरहिन् । तर म बोल्नै सकिन ।’

अस्पतालजाँदा पनि उनी इमोशनल्ली ब्रेकडाउन भएको बताउँछन् । उनी भन्छन् – ‘आफै डाक्टर भएकाले रेिस्परेटेरी फेलियरमा जानसक्ने सम्भावनाबारे मलाई थाहा थियो । भेन्टिलेटरमा गयो भने तीनचारहप्ता लाग्नसक्छ । त्यतीखेर मान्छे बेहोस हुने भएकाले कृतिम अक्सिजन दिएको हुनसक्छ । भेन्टिलेटरबाट फर्कन सकिन्छ कि सकिन्न भन्ने डर लागेको थियो । तर मलाई बाँच्न लेखेको रहेछ ।’

आफूले आत्मबल उच्च राखेकाले र समयमै अस्पताल गएकाले भेन्टिलेटरमा जाने अवस्था नआएको बताउँछन् उनी । उनी भन्छन् – ‘बिरामी भएको बेलामा आत्मबल कमजोर पारेको भए भेन्टिलेटरमा जानसक्थ्यो । तर मैले आत्मबल कमजोर हुन दिइन । म हरेक कुरा पोजेटिभबाट लिन्थें । म निको हुन्छु, म बाँच्छु भनेर आत्मबल दह्रो बनाएँ । कोरोनालाई जित्छु भने विश्वास लिएँ ।’

आफूलाई आत्मबल र उर्जा दिनेमा परिवारको पनि ठूलो भूमिका रहेको बताउँछन् उनी । उनी भन्छन् – ‘परिवार र साथीहरुले मलाई सधै आत्मबल दिइरहेका थिए । अस्पतालमा भएका स्टाफहरुले पनि मेरा लागि छुट्टै कफी बनाएर ल्याइदिन्थे । म त्यही अस्पतालमा काम गर्ने भएकाले पनि मेरो कफीको स्वाद उनीहरुलाई थाहा थियो । हरेकले मेरा लागि प्राथना गरिरहेका थिए ।’

अस्पतालमा भर्ना भएको बेलामा परिवारबाट श्रीमति, छोरा, छोरीहरुले निको भइहाल्छ भनेर उर्जा दिइरहे । बीचबीचमा फेसटाइमबाट कुरा भइरहेको थियो । सबैले उर्जा त दिइरहेका थिए तर उनीहरुको दिमागमा पनि डर भने थियो । किनभने उनी अस्पतालमा थिए, जहाँ परिवारका सदस्यहरु कसैलाई भेट्न पनि दिइएको थिएन ।

अस्पतालबाट फर्केपछि अरुलाई उर्जा दिंदै

अस्पतालबाट फर्केपछि उनले अहिले कोरोना संक्रमित अन्य व्यक्तिलाई आफ्नो अनुभवका आधारमा पनि विभिन्न सल्लाह दिइरहेका छन् । केही ज्वरो आएका, स्वासप्रश्वासमा समस्या भएका र कोभिड पोजेटिभ भएकाहरुले फोन गरेको र उनीहरुलाई सकारात्मक उर्जा दिने प्रयास गरेको बताउँछन् उनी । तर स्वासप्रश्वासमा समस्या भएमा भने घरमा नबसी तुरुन्तै अस्पताल गइहाल्नुपर्ने बताउँछन् उनी ।

संक्रमणबाट बच्न परिवारका सदस्यहरुबीच पनि भौतिक दुरी कायम गर्न आवश्यक भएको बताउँछन् उनी । बारम्बार हात धुने र मास्क वा अनुहार छोप्ने कपडाको प्रयोग गर्न अत्यावश्यक रहेको उनको भनाई छ । घर बाहिरबाट आएपछि बाथरुममा गएर तातोपानीले नुहाउने र सकिन्छ सबै कपडा लण्ड्रीमा राखेर धुने नभए ड्रायरमा राखेर ड्राइ गर्न सुझाव दिन्छन् उनी । उनी भन्छन् – ‘बाहिर निस्कदा तपाईमाथि कसैले नखोकेको हुनसक्छ । तर तपाई हिड्नेबाटोमा कसैले ५ मिनेट अगाडि खोकेको भएमा त्यो भाइरस तपाईको कपडामा बस्नसक्छ । कपडामा भाइरस लामो समयसम्म बाँच्नसक्छ ।’

भाइरसको संक्रमण भइहालेमा पनि चिन्ता लिन नहुने बताउँछने उनी । सामान्य लक्षण भएमा आफै हराएर जाने तर मोडरेट लक्षणमा खोकी लाग्ने, ज्वरो आउने, कमजोरी हुने, स्वाद लिने क्षमता गुम्नसक्ने बताउँछन उनी । उनी भन्छन् – ‘मेरो अवस्था सुरुको दुईसाता मोडरेट नै थियो । तर त्यसपछि गम्भिर भयो । स्वासफेर्न गाह्रो भएको अवस्था गम्भिर अवस्था हो । सबैभन्दा खराब त्यतीबेला हुन्छ, जतिबेला भेन्टिलेटरमा राख्नुपर्छ । तर भेन्टिलेटरबाट पनि मान्छे राम्रो भएर घर फर्केका उदाहरण छन् । एकैपटक हरेश खानुहुँदैन । जीवनको आशा अन्तिमसम्म पनि राख्नुपर्छ ।’

को हुन् डाक्टर शाह ?

डाक्टर विनोद शाह लामो समयदेखि समाजसेवामा सकृय रहदै आएका न्युयोर्कबासी नेपाली हुन् । २०१९ सालमा धनुषाको भुतही पटेर्वा गाविसमा बुबा असर्फी शाह र आमा रामसती देवी शाहका पाचौं छोराको रुपमा मध्यमवर्गीय परिवारमा जन्मिएका डा. शाहका ५ दाजुभाई र २ जना दिदीबहिनीहरु रहेका छन् ।

गाउकै स्थानीय विद्यालयमा प्राथमिक स्तरको शिक्षा हासिल गरेपछि डाक्टर शाहले जनकपुरको सरस्वती हाइस्कुलमा माध्यामिक स्तरको शिक्षा हासिल गरे । त्यसपछि आरआर क्याम्पस जनकपुरमा आइएस्सी गरेपछि शाह बिएस्सीमा अध्ययनका लागि त्रिचन्द्र कलेजमा भर्ना भए । त्रिचन्द्रमा भर्ना भएको केही महिनापछि नै शाह एमबीबीएस अध्ययनका लागि बंगालादेश गए । बंगालादेशको ढाकामा एमबीबीएस अध्ययन पूरा गरिसकेपछि उनले २ वर्ष पोष्ट ग्रयाजुयट तालिम र अर्थोपेडिकमा तीनवर्षे डिप्लोमा समेत गरे । बंगालादेशमा अध्ययन गर्दा शाहले रेडियो बंगालादेशमा समाचार वाचनको काम समेत गरे । बंगालादेशको पढाइ सकेर शाहले जनकपुरमा फर्केर आफ्नै क्लिनिक खोले भने अञ्चल अस्पतालमा जागिर समेत खाए ।

युवा अवस्थादेखि नै सामाजिक कार्यमा र अरुलाई सहयोग गर्नमा रुची राख्ने डाक्टर शाहले बंगालादेशमा अध्ययनकै क्रममा पनि बाढीपीडितहरुलाई सहयोग गर्न पुग्थे । त्यो बाहेक बंगालादेशमा एमबीबीएस अध्ययनका लागि पुग्ने नेपाली विद्यार्थीहरुलाई पनि उनले सक्दो सहयोग गरे । बंगालादेशमा रहेका नेपाली विद्यार्थीहरुको संगठनमा पनि काम गरे उनले । अध्ययन सकेर जनकपुरमा फर्किसकेपछि पनि उनले निशुल्क स्वास्थ्य शिविर चलाउने गर्थे । युनिसेफबाट संचालित नगर मेडिकल क्लीनिकमा पनि उनले स्वयम्सेवकका रुपमा काम गरे ।

जनकपुरमा काम गर्दैगर्दा उनी एउटा निजी तालिमका क्रममा अमेरिकाको बोस्टनमा आए । त्यसपछिका चारवर्ष उनले बोस्टनमा रिसर्चकै क्रममा बिताए । सन् १९९९ मा न्युयोर्क आएका डाक्टर शाहले रेसिडेन्सी तालिमको कोर्स पुरा गरे । जुन तालिमपछि उनले अमेरिकाको डाक्टरको मान्यता पाए । त्यसपछि उनले पीडाको व्यवस्थापनमा फेलोसीप गरे । फेलोसीप सकेपछि उनले एकवर्ष न्युयोर्कको एउटा क्लीनिकमा जागिर पनि खाए ।

त्यसपछि सन् २००४ मा उनले न्युयोर्ककै अल्बर्ट आइन्स्टाइन युनिभर्सिर्टीमा एसिस्टेन्ट प्रोफेसरको जागिर पाए । युनिभर्सिटीको एउटा विभागमा निर्देशकको जिम्मा समेत पाए उनले । युनिभर्सिर्टीमा काम गर्दा गर्दै उनले सन् २००८ मा न्युयोर्कको योंकर्समा आफ्नै मेडिकल स्थापना गरे ।

अमेरिकामा आइसकेपछि अमेरिका नेपाल फ्रेन्डसीप सोसाइटी, अमेरिकामा नेपालका तराईबासीको संगठन एन्टा, एनआरएन अमेरिका, अमेरिका नेपाल मेडिकल फाउन्डेसन, एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिका लगायतका संस्थाहरुमा आबद्ध रहेर सामाजिक कार्यमा क्रियाशिल डाक्टर शाहले नेपालका विद्यालयहरुमा छात्रबृत्तिका लागि सहयोग गर्ने , गाउकै सरस्वती हाइस्कुलमा कम्प्युटर ल्याब बनाउन सहयोग गर्ने जस्ता काम गरिसकेका छन् । त्यो बाहेक अमेरिकामा पनि सामाजिक कार्यमा उत्तिकै सकृय छन् उनी ।

सन् १९९८ मा विहारको दरभंगामा डाक्टर विनोद शाहले सुजाता शाहसंग परम्परागत विहे गरेपछिका वर्षहरुमा शाहको जीवनमा निकै ठूलो सफलता प्राप्त भयो । सुजाता पनि पेशाले डेन्टिस्ट हुन् । पेशा मिल्दोजुल्दो भएकाले पनि शाहलाई श्रीमतिको सहयोग लिन सजिलो भयो । श्रीमतिको सहयोगबाट उनले सामाजिक कार्यमा समय निकाल्न भ्याइरहेका छन् । छोरा प्रशन्न शाह र छोरी राधिका शाहका पिता विनोद शाहले भविश्यमा नेपालमा गएर शिक्षा र स्वास्थ्यको क्षेत्रमा कृयाशिल हुने योजना बनाएका छन् ।

एकदशकदेखि एनआरएनए संस्थामा आबद्ध डाक्टर शाह २०१० मा एनआरएन अमेरिकाको कोषाध्यक्ष थिए । दुई कार्यकाल कोषाध्यक्ष रहेका शाह सन् २०१३ देखि सन् २०१७ सम्म दुईकार्यकाल एनआरएनए आईसीसी सदस्य रहे । शाह सन् २०१७ देखि एनआरएन अमेरिकाको सल्लाहकार समेत हुन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com