न्युयोर्कमा खोलिएको अस्थायी अस्पतालमा कोरोनाका ७९ बिरामीको उपचारमा ५२ मिलियन खर्च


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

न्युयोर्कको क्वीन्स कोरोना पार्कमा रहेको बेली जिन किङ नेशनल टेनिस सेन्टरमा कोरोनाका बिरामीको उपचारका लागि खोलिएको अस्थायी अस्पतालमा जम्मा ७९ जना बिरामी लिइएको र ५२ मिलियन खर्च भएको खुलासा भएको छ । अप्रिलको पहिलोसाता खोलिएको उक्त अस्पताल झण्डै एकमहिना खुला भएको र क्वीन्स हस्पिटल सेन्टरमा आएका जम्मा ३ जना बिरामीको उपचार गरिएको जनाइएको छ । जम्माजम्मी उक्त अस्पतालले ७९ जनालाई सेवा दिएको थियो ।

क्वीन्सका अस्पतालहरुले उक्त अस्थायी अस्पतालमा बिरामी ट्रान्सफर गर्न खोज्दा संचारमा समस्या भएको र ब्यूरोक्रेसीले नै रोकेको जनाइएको छ । न्युयोर्कले उक्त अस्पतालमा काम गर्ने डाक्टरलाई घण्टाको ७३२ डलरसम्म तिरेको थियो । उनीहरुले कोरोनाका बिरामीको उपचार गर्नुपर्नेमा कोरोना संक्रमणका लक्षण भएका र ज्वरोका बिरामीलाई समेत नलिएको खुलासा भएको छ ।

गम्भिर बिरामीहरुको उपचार गर्ने भनिएपनि जम्मा एउटा वा दुईवटामात्र भेन्टिलेटरसहित अस्पताल खोलिएको थियो । उक्त अस्पतालमा कार्यरत एकजना नर्सले आफूले दिनभर कुनै काम नपाएर फोनमा फेसबुक चलाएर बसेको र दिनको २ हजार डलर तलब पाएको न्युयोर्क टाइम्सलाई बताएकी छिन् । उनले आफूलाई त्यसका लागि हिनताबोध भएको समेत बताएकी छिन् ।

न्युयोर्कमा कोरोनाको महामारी फैलिंदा अस्पतालहरु भरिएका थिए । जाभिट सेन्टरमा बनाइएको अस्थायी अस्पताल र पानीजहाजमा बनाइएको अस्पतालमा समेत बिरामीहरुको उपचार गरिएको थियो । त्यहाँ प्राइभेट मेडिकल सेन्टरबाट पठाइएका बिरामीहरुको पनि उपचार गरिएको थियो । तर न्युयोर्क सिटीले बनाएको एउटामात्र इमर्जेन्सी अस्पताल बेली जिन किङमा भने लज्जाजनक अवस्था देखियो । यो अस्पताल मे १३ मा बन्द गरिसकिएको छ ।

जाभिट सेन्टरमा बनाइएको अस्थायी अस्पतालमा समेत १४ सय भन्दा बढी विरामीहरुको उपचार गरिएको थियो । यद्यपी त्यहाँ पब्लिक अस्पतालबाट भने जम्मा ३ सय बिरामीहरुलाई ट्रान्सफर गरिएको थियो । सेन्ट्रल पार्कमा पाल टाँगेर बनाएको अस्पतालमा समेत माउन्ट साइनाईबाट ट्रान्सफर गरिएका ३ सय बढीको उपचार गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com