म आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु, महाधिवेशन छिटो गरौँ : प्रचण्ड


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

पार्टी नै फुट्ला झैं गरी बढेको नेकपा अध्यक्षद्वयको विवाद अन्ततः मंसिरमा महाधिवेशन गर्ने विषयमा सहमतिमा पुगेको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अबको चार महिनामा महाधिवेशन गर्न शनिबार राखेको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले समर्थन गरे। यससँगै पछिल्लो मनमुटाव साम्य हुने वातावरण बनेको छ ।

दाहालसँग झन्डै दुई घण्टा बालुवाटारमा छलफल गरेपछि दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सुरुमै आफ्नो मन्तव्य राख्दै एकता महाधिवेशनको प्रस्ताव गरेका हुन्। स्थायी समिति बैठक एजेन्डामा प्रवेश नगरी भड्किएको र त्यसमा सबैका कमीकमजोरी रहेको भन्दै प्रधानमन्त्री ओलीले अब ढिलो नगरी पार्टी महाधिवेशन गर्ने प्रस्ताव सचिवालयमा गरेका हुन्। ओलीको त्यस्तो प्रस्तावपछि बोलेका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीको प्रस्तावमा सहमति जनाएका थिए। दाहालले त्यससँगै उनले आलोपालो प्रधानमन्त्रीको प्रस्तावसमेत छोडेका छन्।

‘मैले प्रधानमन्त्रीसँगको छलफलमा आलोपालो प्रधानमन्त्रीकै विषय उठाएको थिएँ। जुन सम्झौताले समस्या ल्यायो, त्यही सुरुको सहमति कार्यान्वयन गरौं भन्ने मेरो कुरा थियो। अब धेर भयो, हामी अल्झेर, विवाद गरेर बस्नु ठिक हुन्न। म आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु। प्रधानमन्त्रीले छिटो महाधिवेशन गरौं भन्नु भयो। छिटो महाधिवेशन गरेरै जाऔं,’ दाहालले भने।

दुवैका सम्बोधनपछि सचिवालय सदस्यहरूले दुई अध्यक्षबीच सहमति बनेको बुझेका थिए। यससँगै ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदको राजीनामाको विषय टर्ने सम्भावना देखिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com