नेपालमै बन्यो न्यूमास्क, पुन: प्रयोग हुने, सहज र सुरक्षित : आविस्कार केन्द्रका अध्यक्ष महावीर पुन


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

कोरोना सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा काम गर्ने स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षाको महत्वपूर्ण भाग अनुहार हो । आँखा, नाक, मुखबाट सङ्क्रमण हुनसक्ने जोखिम कमगर्न स्वास्थ्यकर्मीहरू चस्मा, मास्क, फेस शिल्ड (भाइजर) जस्ता सामग्री प्रयोग गरिरहेका छन् । तर अनुहारको समग्र सुरक्षाको लागि लगाइने यी सबै सामग्रीको काम एउटै सामग्रीले गर्ने मास्क राष्ट्रिय आविस्कार केन्द्रमा तयार गरिएको छ । पूरा अनुहारका सुरक्षाका लागि लगाउन सकिने यो मास्क अहिले परीक्षणका लागि ३० वटा तयार गरिएको आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताउनुभयो ।

‘यो नयाँ प्रकारको मास्क विशेष गरी सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मीले प्रयोग गर्न सक्नेछन्’, अध्यक्ष पुनले भन्नुभयो । राष्ट्रिय आविस्कार केन्द्रले स्टानफोर्ड युनिभर्सिटी र युनिभर्सिटी अभ युटाहका अनुसन्धानकर्ताहरूले तयार गरेको डिजाइनमा यो मास्क तयार गरेको हो ।

यो मास्कको परिकल्पना गत अप्रिल महिनामा अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गर्नुभएको हो । बायोइन्जिनियर मनु प्रकाश र उहाँको टिमले डिजाइन गरेको यो मास्कलाई न्यूमास्क नाम दिइएको छ । यसको मुख्य विशेषता भनेको यसलाई निसङ्क्रमण गरी पटकपटक प्रयोग गर्न सकिन्छ ।

परीक्षणका लागि राष्ट्रिय आविस्कार केन्द्रले तयार पारेको न्यूमास्कको डिजाइन र नमुना पनि स्टानफोर्ड युनिभर्सिटीकै अनुसन्धानकर्ताको टोलीले पठाएको अध्यक्ष पुनले बताउनुभयो । डिजाइनको हिसाबले यो मास्क पौडीबाजहरूले लगाउने स्नोर्कल मास्कजस्तै छ । तर यसमा केही भाग परिमार्जन गरी तयार गरिएको आविस्कार केन्द्रकाअध्यक्ष पुनले बताउनुभयो । यो अनुहारलाई पूर्णतया सुरक्षित पार्ने खालको डिजाइनमा विकास गरिएको छ । श्वासप्रश्वासको सहजताका लागि मास्कको माथिल्लो भागमा भेन्टिलेसन टयुब राखिएको हुन्छ जहाँ हावा फिल्ट्रेसनका लागि फिल्टर पनि जडान गरिएको हुन्छ ।

पुनका अनुसार यसलाई पुनः प्रयोगमा ल्याउनका लागि बजारमा दुई–तीन सय रुपियाँमा पाइने एनएचई फिल्टर बदल्नुपर्छ । न्यूमास्कलाई पुनःप्रयोगमा ल्याउनका लागि यसलाई निसङ्क्रमण गरिनुपर्छ । स्टानफोर्डको न्यूमास्क परियोजनाले मास्क निसङ्क्रमणको प्रोटोकलसमेत बनाएको छ । महामारीको मास्कको अभाव र व्यक्तिगत सुरक्षा सामग्रीको अभावका बेला यसलाई विकल्पको रुपमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरूले सुझाव दिएका छन् ।

धेरै मास्कको प्रयोग गर्नुपर्ने अवस्थामा कम खर्चिलो उपायको रुपमा समेत यसलाई लिइएको छ । सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा काम गर्ने स्वास्थ्यकर्मी वा अस्पतालबाट मास्कको माग भई आएमा अहिले नै पनि केही मात्रामा उपलब्ध गराउन सकिने अध्यक्ष पुन बताउनुहुन्छ । अहिले जापानबाट ३० वटा स्नोर्कल मास्क झिकाएर त्यसमा थ्रीडी प्रिन्टिङ गरिएको कनेक्टर जडान गरी यो मास्क बनाएको आविस्कार केन्द्रले जनाएको छ । त्यसरी बनाउँदा एउटा मास्क बराबर तीन हजारदेखि तीन हजार पाँच सय रुपियाँ खर्च लागेको अध्यक्ष पुनले बताउनुभयो ।गोरखापत्रबाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com