नेपालमा कुल संक्रमितमध्ये ७२ प्रतिशत ३ प्रदेशका


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

नेपालमा कोभिड–१९ ले सबैभन्दा बढी तीनवटा प्रदेश प्रभावित भएको छ । तीनै प्रदेशको सङ्क्रमितको सङ्ख्या नेपालमा कुल सङ्क्रमितको तीन चौथाइ छन् । मंगलबासम्म दुई लाख ९३ हजार ७३९ जनामा आरटी पीसीआर परीक्षण गरिएको छ । सत्र हजार ६१ जना सङ्क्रमितको पुष्टि भएको छ । प्रदेश २, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा गरी कुल सङ्क्रमित १२ हजार ४४० छन् । जुन नेपालको कुल सङ्क्रमितको ७२ प्रतिशत हुन आउँछ ।

राजधानी काठमाडौँसमेत रहेको बाग्मती प्रदेशमा भने पछिल्लो दुई सातामा करिब चार सय जना नयाँ सङ्क्रमित थपिएका छन् । दुई साताभित्र बाग्मतीमा थपिएका सङ्क्रमितको करिब आधा काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अद्यावधिक तथ्याङ्कबमोजिम प्रदेश २, प्रदेश ५ र सुदुरपश्चिम सबैभन्दा बढी कोभिड–१९ ले प्रभावित प्रदेश हुन् । सङ्क्रमित सङ्ख्याको आधारमा कोभिड–१९ ले सबैभन्दा बढी प्रदेश नं २ प्रभावित छ । तर सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी छ । प्रदेश २ मा चार हजार ३९२ जना सङ्क्रमित रहेकोमा दुई हजार ४८१ जना निको भई घर फर्केका छन् । सक्रिय बिरामी एक हजार ९११ जना आइसोलेसनमा छन् । अझै प्रदेश २ को रौतहट र महोत्तरीमा सक्रिय बिरामीको सङ्ख्या पाँच/पाँच सय छन् ।
भारतीय सीमासँग जोडिएको तीनै प्रदेशमा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या घटेको छैन । भारतसहित तेस्रो देशबाट फर्किनेको सङ्ख्या वृद्धि हुँदा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या पनि बढ्दो क्रममा छ ।

काँकडभिट्टा र जोगबनी जस्ता ठूला भारतीय सीमासँग जोडिएपनि प्रदेश १ मा सातै प्रदेशमध्ये सबैभन्दा कम सङ्क्रमितको पहिचान गरिएको छ । प्रदेश १ मा ७७५ जना सङ्क्रमित पुष्टि भएकोमा ६०४ जना निको भई घर फर्किसकेका छन् । आइसोलेसनमा मात्रै १७१ जना छन् ।

प्रदेश २ मा सङ्कलन गरिएको नमुनाको परीक्षण जनस्वास्थ्य प्रयोगशाला टेकु अतिरिक्त राजविराज, जनकपुरधाम र वीरगञ्जमा हुँदै आएको छ । तीनवटै प्रयोगशालाले हालसम्म १६ हजार ५७९ नमुना परीक्षण गरेको छ । नमूना परीक्षण गरिएकाको करिब २५ प्रतिशत सङ्क्रमण दर पाइएको छ ।

सुदुरपश्चिम प्रदेशमा तीन हजार ९५६ जना सङ्क्रमित भएका छन् । दुई हजार ५३८ जनामा भाइरसको सङ्क्रमण हाल सक्रिय छ । एक हजार ४१८ जना निको भएर घर फर्केका छन् । प्रदेश ५ मा सङ्क्रमित पुष्टि भएका चार हजार ९२ छन् । सङ्क्रमण सक्रिय भएको ७५६ जना मात्रै आइसोलेसनमा छन् ।

सुरुमा कोरोना सङ्क्रमित हुने एक्कासि बढेको कर्णाली प्रदेशमा भने पछिल्ला दिनहरूमा निरन्तर नियन्त्रित अवस्था देखिएको छ । कर्णालीमा एक हजार ७४७ जना सङ्क्रमितको पुष्टि भएको छ । एक हजार ३७१ जना निको भई घर फर्किसकेका छन् ।

पोखरा शहर भएको गण्डकी प्रदेशमा एक हजार २७८ जना सङ्क्रमित छन् । सक्रिय बिरामी ७७१ जना छन् । कोभिड–१९ ले सबैभन्दा बढी प्रदेश ५ मा दश र बाग्मती प्रदेशमा नौ जनाको मृत्यु भएको छ । सुदुरपश्चिममा छ, कर्णाली र प्रदेश २ मा चार/चार जना मृतकमा सङ्क्रमणको पुष्टि भएको छ ।

महामारी तथा सरुवा रोग नियन्त्रण केन्द्रका प्रमुख डा. बासुदेव पाण्डे भन्नुहुन्छ, “हवाई मार्ग भएर विदेशबाट आउने र खुला सीमा भएर फर्किनेको व्यवस्थापनले आगामी अवस्था निर्भर हुन्छ ।”
भारतमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या करिब २८ हजार पुगेको छ । अमेरिकी राष्ट्रहरूमा पनि सङ्क्रमण अझै उच्च रुपमा वृद्धि हुँदैछ । सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालनको महिना दिनभित्र नेपालमा सङ्क्रमणको तरङ्ग र वस्तुस्थिति बुझ्न महत्त्वपूर्ण हुनेछ । गोरखापत्रबाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com