१८ कोरोनाबिरुद्धका भ्याक्सिन परीक्षणमा, कहिलेसम्म सर्वसाधारणका लागि उपलब्ध होला ?


प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

तपाईले कोरोनाबिरुद्धका भ्याक्सिनका कैयन समाचारहरु पढिरहनुभएको होला । कुनै भ्याक्सिनहरु मानवमा परीक्षण भइरहेका छन्, कुनैले प्रारम्भीक परीक्षणका नतिजाहरु दिइरहेका छन् ।

अहिलेसम्म झण्डै २ सय समुहले कोरोनाबिरुद्धका भ्याक्सिनमा काम गरिरहेका छन् । जसमध्ये १८ वटा भ्याक्सिनहरु मान्छेमा परीक्षण भइरहेका छन् ।

अमेरिकन कम्पनी मोडेर्नाले बनाएको भ्याक्सिनको मानव परीक्षणमा उत्साहजनक नतिजा आइसकेको छ । यो भ्याक्सिन ८ जना बिरामीमा परीक्षण गर्दा भाइरसलाई असरविहिन बनाउन एन्टीबडी बनाउन सफल भएको छ ।

त्यस्तै अमेरिकन कम्पनी फिजर र जर्मनीको बायोएनटेकले संयुक्तरुपमा बनाएको भ्याक्सिनलाई अमेरिकाको एफडीएले फास्ट ट्रयाक स्टाटस दिएको छ । प्रारम्भिक मानव परीक्षणमा यसको नतिजापनि उत्साहजनक आएपछि स्वीकृति पाएमा अर्को चरणमा यसै महिना ३० हजारमा परीक्षण गरिने तयारी भइरहेको छ ।

त्यस्तै चीनमा बनाइएको भ्याक्सिनले पनि कोरोनाबिरुद्ध एन्टीबडी विकाश गर्न सफल भएको जनाइएको छ । यो भ्याक्सिन चीनको सैन्यक्षेत्रमा उपलब्ध गराइएको छ ।

बेलायतमा आस्ट्राजेनेका कम्पनीले बनाएको भ्याक्सिनको पनि मानव परीक्षण भइरहेको छ । भ्याक्सिन सफल भएमा उक्त भ्याक्सिन सुरुमा अमेरिका र बेलायतमा वितरण गर्नका लागि सहमति भइसकेको छ ।

यसरी परीक्षण भइरहेका भ्याक्सिन हेर्दा यी भ्याक्सिनहरु सफल भएमा यसैबर्षको डिसेम्बरमा अमेरिका, बेलायत लगायतका मुलुकमा यसै बर्षको अन्त्यसम्ममा उपलब्ध हुने अनुमान गर्न सकिन्छ । तर सन् २०२१ को मध्यसम्ममा भने यी भ्याक्सिनहरु विश्वभर सर्वसाधारणका लागि व्यापाक रुपमा उपलब्ध हुने विज्ञहरु बताउँछन् ।

तर ती भ्याक्सिनको प्रभावकारिताबारे भने अझै प्रश्नचिन्ह छ । कोभिड १९ बनाउने नयाँ कोरोनाभाइरस फैलिनु अगाडि नै मानव शरिरमा अन्य ४ प्रकारका कोरोनाभाइरस फैलिसकेका छन् । सामान्य रुघाखोकीको लक्षण देखाउने ती कोरोनाभाइरसबिरुद्धको अहिलेसम्म भ्याक्सिन तयार भएको छैन ।

अहिले कोभिड १९ बिरुद्ध बनिरहेका भ्याक्सिनको विभिन्न चरणमा मानव परीक्षणपछि सुरक्षित र प्रभावकारी भएको निष्कर्ष निकाल्नुपर्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com