डब्लुएचओको टोली, कोरोनाको श्रोत खोजी गर्दै चीनमा


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

कोरोनाभाइरसको उत्पत्तिको स्राेतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का विज्ञहरू चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले सोमबार पुष्टि गर्नुभएको छ ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरू अध्ययनका लागि चीन आएका हुन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरूले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने जानकारी दिनुभयो ।

“उनीहरूले हाम्रा विज्ञहरूसँग सम्बन्धित विषयमा प्रश्नहरू गर्नेछन् र हाम्रा विज्ञहरूले जानकारी दिनेछन्,” प्रवक्ता हुआले भन्नुभयो । डब्लुएचओका स्वास्थ्य विशेषज्ञहरूले यस्तै छलफलका लागि अन्य देशहरूमा पनि जान सक्ने उहाँले बताउनुभयो ।

“कोरोनाभाइरसको विकासका लागि विभिन्न देश तथा क्षेत्रहरूमा धेरै चरण पूरा गर्नुपरेको डब्लुएचओले पनि विश्वास गरेको छ, त्यही चरणहरूका बारेमा पहिचान गर्न उनीहरू आएका हुन्,” उहाँले भन्नुभयो । धेरै ठाउँमा धेरै चरणबाट कोरोनाभाइरसको विकास भएकाले उनीहरू आवश्यकता अनुसार अन्य देशहरूमा पनि जानसक्ने उहाँले पत्रकारहरूलाई जानकारी दिनुभयो । यसअघि डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रयेससले अघिल्लो महिना भन्नुभएको थियो, “कोरोनाभाइरसको स्राेत के हो भन्ने कुरा पत्ता लगाउनु धेरै महत्वपूर्ण हुन्छ ।”

यो विज्ञानसँग सम्बन्धित, सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित विषय भएको, यसले सबैलाई प्रभावित पारेको र सरोकारको विषय भएकाले कसरी शुरु भयो, कहाँ उत्पत्ति भयो भन्ने कुरा पत्ता लगाउनुपर्ने उहाँको भनाइ थियो । कोरोनाभाइरस पहिलो पटक सन् २०१९ को डिसेम्बरमा चीनमा भेटिएको पुष्टि गरिएको थियो । त्यसपछि विश्वका अधिकांश देशहरूमा कोभिड–१९ को महामारी फैलिएको थियो ।एएनआई

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com