अमेरिकामा २ भ्याक्सिनलाई फास्ट ट्रयाक स्टाटस, यसै महिना ३० हजारलाई दिइने


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

अमेरिकाको फार्मास्युटिकल कम्पनी फिजर र जर्मनीको बायोटेक कम्पनी बायोएनटेकले संयुक्त रुपमा विकाश गरेको कोरोनाबिरुद्धका दुई प्रकारका भ्याक्सिनलाई अमेरिकाको औषधी नियन्त्रक निकाय एफडीएले फास्ट ट्रयाक उपाधी दिएको छ । अमेरिका र जर्मनीमा परीक्षण भइरहेका र द्रुत गतिमा विकाश गरिएका कम्तीमा ४ भ्याक्सिनमध्ये बीएनटी १६२ बी वान र बीएनटी १६२ बी टु भ्याक्सिन सबैभन्दा अग्रणी स्थानमा देखिएका हुन् ।

एफडीएले फास्ट ट्रयाक स्टाटस दिएपछि कम्पनीहरुले उत्पादन गरेको भ्याक्सिनको पुनरावलोकनलाई तीब्र गति दिइन्छ । यसअर्थमा यी दुई कम्पनी मिलेर बनाएको भ्याक्सिनले सबैभन्दा पहिले आम प्रयोगका लागि स्वीकृति पाउनसक्ने देखिएको छ ।

यसैबीच फिजरको शेयर २ प्रतिशतले र बायो एन टेकको शेयर ६ प्रतिशतले बृद्धि भइसकेको छ । यसैमहिनाको सुरुमा ती कम्पनीहरुले बीएनटी १६२ बी वान भ्याक्सिनले कोरोनाभाइरसबिरुद्ध उत्साहजनक नतिजा निकालेको बताएका थिए । बीएनटी १६२ बी वान भ्याक्सिनको जर्मनी परीक्षणको नतिजा यसैमहिना सार्वजनिक गरिनेछ ।

यदि यी अध्ययनहरु सफल भएमा कम्पनीहरुले यो बर्षको अन्त्यसम्मका १ सय मिलियन भ्याक्सिनका डोजहरु उत्पादन गर्ने बताएका छन् । साथै सन् २०२१ को अन्त्यसम्ममा १ दशमलव २ बिलियन डोजहरु उत्पादन गर्ने जनाएका छन् ।

ती कम्पनीहरुले नियामक स्वीकृति पाएमा यसै महिनाको अन्त्यसम्ममा ३० हजार जनासम्मलाई भ्याक्सिन दिने जनाएका छन् । यो भ्याक्सिनको अन्तिम परीक्षण हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com