प्रचण्डले ओलीलाई भने- पार्टी एकता गर्न मन छैन तपाईंलाई ?


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छरहुन्न भन्ने टुंगो पनि छैन। आइतबार आरोपरप्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री ओली र मंगलबार अध्यक्ष दाहालले आफ्ना कुरा खुलस्त राखे। सहमतिको उपाय खोज्न बुधबार साँझ दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो।

‘बुधबारको छलफल झन् बिग्रियो। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड (दाहाल) दुवै जना आआफ्नै अडानमै रहनुभयो’, नेकपा सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि प्रधानमन्त्रीले पार्टी बैठक राखेर बहुमतबाट निर्णय गर्नुहोस् न किन पछि हटिरहनुभएको छ भन्नुभएछ। फेरि चर्काचर्की भएर उहाँहरू उठनुभएछ।’दाहालले बुधबार प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्न ओलीसमक्ष माग गरे। तर, ओलीले पार्टीका नेताहरूले भनेकै आधारमा आफूले दुवै पद नछोड्ने अडान लिए।

‘तपाईंले केही पनि छोड्दिनँ भनेर कहाँ छुट पाउनुहुन्छ, एउटा पद स्वेच्छाले त्याग्नुस्, दुवै त्याग्नुपर्छ भनेका छैनौं। प्रधानमन्त्री पद त्याग्नुस्। सहमतिमा निकास दिनुहोस्’, दाहालले छलफलमा ओलीलाई भनेको उद्धृत गर्दै ती सचिवालय सदस्यले भने, ‘प्रधानमन्त्रीले पनि पार्टी बैठक राखेरै बहुमतको निर्णय गरेर देखाउन चुनौती दिनुभएछ। त्यसपछि हिजोअस्ति बनेको छलफलको वातावरण झन् बिथोलिएछ।’

ओलीले २०७६ मंसिर ४ कै सहमतिभन्दा अगाडि जान नसकिने बटमलाइन दाहाललाई सुनाए। त्यसबेला नेकपा सचिवालयमा दाहाललाई दल (पार्टी) र ओलीलाई पाँच वर्ष प्रधानमन्त्री चलाउन दिने गरी दुई अध्यक्षको कार्यविभाजनमा सहमति बनेको थियो।

‘तपाईंहरूको बटमलाइन दुईमध्ये एक पद बनाउन खोज्नुभएको हो भने मेरो पनि बटमलाइन एउटै छ। त्यो भनेको मंसिर ४ कै सहमतिको थप व्याख्या आवश्यक भए गरेर जाने, त्यसभन्दा अगाडि धेरै बढ्न अहिले सकिँदैन। सहमति खोज्ने हो भने यसमै आउनुस्, होइन भने थप केही कुरा छैन’, ओलीले दाहालसँग बुधबार भने।

उनले महाधिवेशनपछि आफू नेतृत्वमा नआउने, अर्को चुनावपछि प्रधानमन्त्री बन्ने रहर पनि नगर्ने भन्दै अहिले जस्तो गरी कार्यविभाजन भएको छ दुई अध्यक्षबीच उसरी जान दाहालसँग आग्रह गरेको पनि ती नेताले बताए। ‘अहिले केही पनि हुँदैन। जसो छ उसैगरी जाऔं। महाधिवेशनपछि तपाईं ९दाहाल० हुनुहोला नि अध्यक्ष। अर्को चुनावपछि बन्नुहोला नि प्रधानमन्त्री’, दाहालसँग ओलीले व्यक्त गरेको भनाइ उद्धृत गर्दै छलफलको ब्रिफिङ सुनेका एक सचिवालय सदस्यले भने।

त्यसपछि भने दुई नेताबीच चर्काचर्की परेको थियो। दुवै जना अडानमा टसमस नभएपछि प्रधानमन्त्रीले दाहालसँग भने, ‘तपाईंहरू स्थायी समितिमा बहुमत भएको मान्छे, बैठक राख्नुहोस्, म छोड्नेवाला छैन।’ दाहालले ओलीलाई भने, ‘तपाईंले के गर्न खोज्नुभएको ? मिल्ने कुनै बिन्दुमा लचक हुने कुरै गर्नुहुन्न ? पार्टी एकता गर्न मन छैन तपाईंलाई ? ’

ओलीले पनि दाहाललाई भने, ‘के गर्न खोजेको भन्ने त देखिहाल्नुभएको छ नि ! पार्टी एकता भए त हुन्छ नि तर हुँदैन भने के गर्ने ? ’

दाहालले प्रधानमन्त्रीको पक्षमा देशभर भइरहेको प्रदर्शनप्रति आपत्ति जनाएका थिए। सडकमा आफ्ना मान्छे उतार्ने र पार्टी नेताहरूविरुद्ध नाराबाजी गर्ने काम भइरहेको भन्दै दाहालले त्यस्तो नाराबाजी र प्रदर्शन रोक्न ओलीसमक्ष आग्रह गरेका थिए। दाहालले भने, ‘देशभर प्रदर्शन गर्न लगाएर तपाईंले के गर्न खोज्नुभएको ? यो राम्रो भएन।’

जवाफमा ओलीले भने, ‘दुईतिहाइ झन्डै जनमत भएको प्रधानमन्त्री, राष्ट्रवादी प्रधानमन्त्रीलाई जबरजस्ती फाल्न खोजेपछि प्रदर्शन हुनु स्वाभाविक हो। प्रदर्शन हुन्छ, जनताले स्वाभाविक रूपमा जुलुस निकाल्छन्।’यसरी बुधबारको बैठक बिनानिष्कर्ष टुंगियो। १८ असारयता स्थायी समिति बैठक मिति तोक्दै शुक्रबार (असार २६ सम्म) सारेर दुई नेता सहमति खोज्न छलफलमा बसेका थिए। छलफलको वातावरण झनै बिग्रिएपछि बिहीबार थप छलफल हुनेरनहुने टुंगो छैन। दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले नेताहरूका अडान यथावत् रहेको बताए। ‘बिहीबार छलफल हुनेरनहुनेसम्म टुंगो लागेको छैन’, उनले भने।

१० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक गरेपछि आफूलाई सरकारबाट हटाउन भारत लागेको र त्यसका लागि नेपालका नेताहरू पनि सक्रिय रहेको आरोप १४ असारमा लगाएका थिए। त्यसपछि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायत आक्रोशित बनेका थिए। उनीहरूले १६ असारको बैठकमा ओलीबाट अब पार्टी पनि नचल्ने, सरकारको नेतृत्व पनि गर्न नसक्ने भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका थिए।

दुई दिन ओलीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले नामक दल दर्ताका लागि परेको आवेदनमा केन्द्रित छलफल हुँदै गर्दा १८ असारमा सरकारले संसद्को जारी अधिवेशन अन्त्यको निर्णय लिएको थियो। त्यसपछि ओली र दाहाल नेपाल पक्षबीचको सम्बन्धमा थप तिक्तता आएको थियो। त्यसयता चार पटक स्थायी समितिको मिति सार्दै सहमतिको खोजीका लागि दुई अध्यक्षको तहमा, दोस्रो पुस्ताका नेताहरूको तहमा अनेक वार्ता भए पनि सहमति जुटन सकेको थिएन। आइतबारयता लगातार ओली र दाहालले बालुवाटारमा नियमित दुई घण्टा छलफल गर्दै आएका थिए।

‘उहाँहरू (ओली र दाहाल)बीच छलफल भए पनि कुरा मिलेको छैन। बुधबारको छलफल पनि निकास दिने खालको भएन’, प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘अर्को बैठकको पनि टुंगो लागेको छैन।’

ओलीले दाहालसँगको भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। नियमित भेटघाट भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। छलफल सकारात्मक नदेखिएपछि अब बैठक धेरै रोकिनराख्न दाहाल–नेपाल पक्षलाई आफ्नै समूहका नेताले दबाब बढाउन थालेका छन्। आजको अनपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com