गाउँमा गएर चुनावी वातावरण बनाउन दलसँग आयुक्तको आग्रह


प्रकाशित मिति : बैशाख ४, २०७४ सोमबार

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले गाउँगाउँमा गएर निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उहाँले मतदानको मिति नजिकिँदै गरेको अवस्थामा समेत राजनीतिक दलका चुनावी गतिविधि आशातीत रुपमा गाउँमा नदेखिएको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो – “लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको २० वर्षपछि हुन लागेको निर्वाचनप्रति सबै राजनीतिक दलबाट आवश्यक रुपमा प्रचारप्रसार र मतदाता शिक्षाका लागि पहल हुनुपर्छ । अब त्यसमा कुनै किसिमको कमीकमजोरी हुनुभएन ।”

अहिले देखिएको राजनीतिक समस्यालाई अविलम्ब समाधान गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै डा यादवले भन्नुभयो – “आयोगले अब तत्कालै निर्वाचनका लागि राजनीतिक वातावरण चाहेको छ ।”

उहाँले भन्नुभयो – “निर्वाचन आयोग यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बनाएको कार्ययोजनाअनुसार नै अघि बढिरहेको छ । मतदातालाई स्वतन्त्र र भयरहित ढङ्गबाट मतदान गर्ने वातावरण सरकार र राजनीतिक दलले बनाइदिनुपर्छ ।”

मुलुकका ७४४ स्थानीय तहमा यही वैशाख ३१ गते आइतबार हुने निर्वाचनका लागि अहिलेसम्म ७१ जिल्लाको मतपत्र, ६७ जिल्लाको मतदाता नामावली र ६० जिल्लाको मतदाता परिचयपत्रको छपाइको काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

अहिले मतपत्रलाई पोको पारेर जिल्ला पठाउने, नामावली वेबसाइटमा राख्नेजस्ता काम भइरहेको छ । आइतबार मुलुकका सातै प्रदेशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भयो । रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com