सिंगापुर एयरलाइन्सले अष्ट्रेलियामा फसेकालाई नेपालीलाई सेमिचार्टर्ड उडान गर्ने


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

अष्ट्रेलियाबाट नेपाल फर्किन चाहनेका लागि सेमिचार्टर्ड उडान हुने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको संयोजन तथा नेपाली राजदूतावास क्यानबेराको पहलमा आगामी १४ जुलाईका दिन अष्ट्रेलियामा फसेका तथा फर्कन अत्यन्तै जरुरी परेका नेपालीको लागि सेमिचार्टर्ड उडान हुन लागेको हो । उडान सिंगापुर एयरलाइन्सको रहनेछ।

सिड्नीबाट नियमित उडान मार्फत सिंगापुरसम्म जाने र त्यहाँबाट विमान चार्टर्ड भई काठमाडौं लाने तयारी गरिएको एनआरएन अष्ट्रेलियाले जनाएको छ। यस उडानमार्फत नेपाल जान चाहने यात्रुका लागि अष्ट्रेलियाबाट काठमाडौंसम्मको भाडादर ११ सय ५१ अमेरिकी डलर तोकिएको छ । जसको अष्ट्रेलियन डलर भने १७ सय पचास रहनेछ।

कोरोनाका कारण अष्ट्रेलियाली सरकारको मापदण्ड बमोजिम अहिले मेलबर्न, ब्रिसबेन र सिड्नीबाट मात्र सिंगापुर उडान भर्न सकिने हुनाले यी तीनै शहरलाई केन्द्र बनाएर यस्तो ब्यवस्था गरिएको हो। यस पटकको उडान सेमिचार्टड भएकोले सिड्नी–सिंगापुर उडानपछि यात्रुहरुले केहि घन्टा सिंगापुरमा अर्को विमानका लागि कुर्नु पर्ने हुन्छ।

यी सबै कार्य विश्व स्वास्थ्य संगठन र सिंगापुर सरकारले तोकेको मापदण्डभित्र हुनेछ। पारदर्शी रुपमा, सुरक्षित र सस्तो यात्राका लागि विभिन्न ट्राभल एजेन्सीसँगको सहकार्यमा यो योजनालाई मूर्तरुप दिन लागिएको एनआरएनले जनाएको छ ।

अष्ट्रेलियामा सञ्चालित ट्राभल एजेन्सीमा एभरेष्ट ट्राभल्स एण्ड टुर्स, काठमाडौं ट्राभल्स, हिमालयन ट्राभल पार्टनर सिड्नी, दा भिन्ची ट्राभल्स काठमाडौं र सुमेग ट्राभल्स काठमाडौं छन् ।

नेपाल जान चाहने यात्रुहरुले अनिवार्य रुपमा पहिलेकै चार्टर्ड विमानझैं पिसिआर परीक्षण गराउनुपर्ने छ भने नेपालमा गएर पनि क्वारेन्टाइनमा बस्ने कुरामा सहमति गर्नु पर्ने छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com