ढुवानी सेवा ठप्प पार्ने ट्रक व्यवसायीको चेतावनी


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले साउन १ गतेदेखि ढुवानी सेवाका सवारी साधन सञ्चालन हुन नसक्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिमा सार्वजनिक यातायात सञ्चालन बारे भएको छलफलमा उनले ढुवानीका साधानलाई भ्याटमा दर्ता गर्ने प्रावधान ल्याएका कारण सञ्चालनमा कठिनाई हुने उल्लेख गरे ।

उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ढुवानीका सवारी साधानको भाडामा मूल्य अभिबृद्धी कर लगाइएको भन्दै ढुवानी सेवा बन्द गर्ने बताए । उनले कुनै पनि ढुवानीका साधन मूल्य अभिबृद्धी करमा दर्ता भएर नचलेको बताउँदै साउनदेखि सामान बोकेको भाडा लिँदा भ्याट बिल काटेर लिनुपर्ने भएको अहिले भ्याटमा दर्ता हुने अवस्था नभएको बताए ।

उनले भने–‘ढुवानीका सवारी साधन करमा दर्ता नभएकोले जसले भाडा दिन्छ उसलाई हामी बिल काटेर दिन सक्दैनौँ । साउन १ गतेबाट हामीले चाहँदा चाहदै पनि हाम्रो ट्रक लोड हुन सक्दैन । हामीले अर्थमन्त्रीलाई प्यानमा दर्ता भएर आउने अवस्था सिर्जना गर्न भनेका छौँ ।’उनले यो विषयमा अहिलेसम्म केही कुरा नमिलेकोले अर्थ मन्त्रालयलाई निर्देशन दिन विकास समितिलाई आग्रह गरे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com