चीनमा निर्मित अर्को कोरोनाविरुद्धको खोप परीक्षणको तेस्रो चरणमा


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

चीनको सिनोभाक बायोटेकले कोरोनाभाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षण ब्राजिलमा सुरु गर्ने भएको छ । योसँगै खोप निर्माणको तेस्रो चरणमा पुग्ने यो तेस्रो कम्पनी बनेको छ । ब्राजिलको नियामक निकायले फास्ट ट्रायकमा कम्पनीलाई खोपको परीक्षणका लागि अनुमति दिएको सोमबार जानकारी दिइएको हो ।

सिनोभाकका अनुसार ब्राजिलियन खोप निर्माता इन्सटिट्युटो बोटान्टानसँगको सहयकार्यमा तेस्रो चरणको परीक्षण सञ्चालन गरिनेछ । यसमा कोभिड–१९ सेन्टरमा ९ हजार स्वास्थ्यकर्मीलाई सहभागी गराइनेछ र यो महिनादेखि नै परीक्षण सुरु गरिनेछ ।

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको अस्ट्राजेनेकाको खोप र चीनको चाइना नेसनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म) ले पनि तेस्रो चरणको परीक्षण गरिरहेको छ । मोर्डनाले यो महिनाको अन्त्यदेखि तेस्रो चरणको परीक्षण सुरु गर्ने जनाएको छ ।

सिनोभाकले जनवरीको अन्तिममा कोरोनाभाइरसको खोपको निर्माण सुरु गरेको थियो र अहिले कोरोनाभाइरसको खोपको फ्याक्ट्री निर्माण गर्ने तयारी समेत गरेको छ । यो वर्षको अन्तिमसम्ममा खोप तयार हुने कम्पनीको आशा छ । कम्पनीले एक वर्षमा १० करोड खोप निर्माण गर्ने लक्ष्य लिएको छ ।

पहिलो र दोस्रो चरणमा खोपको सुरक्षाको जाँच गरिन्छ भने तेस्रो चरणमा यसको प्रभावकारिताको परीक्षण गरिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार १९ वटा खोप क्लिनिकल मूल्यांकनको चरणमा रहेको छ भने सयौँ खोपहरु निर्माण भइरहेका छन् । हालसम्म व्यावसायिक प्रयोगका लागि कुनै पनि खोपलाई अनुमति दिइएको छैन । स्रोतः अलजजिरा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com