अमेरिकामा दोश्रो राहत चेक ४० हजारभन्दा कम आम्दानी हुनेलाईमात्र दिने गृहकार्य


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

अमेरिकामा कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न दोश्रो राहत चेक बार्षिक ४० हजारभन्दा कम आम्दानी हुनेहरुलाईमात्र दिने गृहकार्य भइरहेको छ । सिनेटका रिपब्लिकन नेता मिच म्याक्कोनलले बार्षिक ४० हजार डलरभन्दा कम आम्दानी हुनेहरु कोरोनाको महामारीबाट सबैभन्दा धेरै आर्थिक मारमा परेको बताएका छन् ।

उनले राहत चेक आगामी कोरोनाभाइरस राहत बिलको अंश हुनसक्ने संकेत गरेका छन् । दोश्रो राहत चेकबारे ह्वाइटहाउसले सकारात्मक प्रतिकृया दिइरहेको बखत सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनलले पहिलोपटक बिलमा दोश्रो राहत चेक समावेश हुने संकेत दिएका हुन् ।

सिनेट २ हप्ते छुट्टीमा रहेको बखत उनको यो प्रतिकृया आएको हो । उनले ४० हजारभन्दा कम आम्दानी हुनेहरुलाई राहत चेक दिने बताएको कुरालाई वेवास्ता गर्न नमिल्ने जनाइएको छ । किनभने उनले यो कुरा यत्तिकै नभनेको बरु यस्तो मापदण्डबारे छलफल भइरहेको जनाइएको छ ।

मेरिल्याण्डका सिनेटर बेन कार्डिनले पनि दोश्रो चरण राहत साँच्चिकै आवश्यकता भएकाहरुलाई केन्द्रीत गर्नुपर्ने बताएका छन् । त्यसैले कोरोनाको महामारीबाट सबैभन्दा बढी मारमा परेकाहरुलाई फोकस गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

अमेरिकामा झण्डै ४० प्रतिशतले बार्षिक ४० हजार भन्दा कम आम्दानी गरिरहेका छन् । बार्षिक ४० हजारभन्दा कम आम्दानी गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

आगामी राहत बिल १ ट्रिलियन डलरको बनाउनेबारे छलफल भइरहको छ । म्याक्कोनलले अमेरिकी राष्ट्रपति ट्रम्पसमक्ष आगामी राहत बिल १ ट्रिलियन डलरभन्दा धेरै हुन नहुने बताएका थिए । हाउसले पारित गरेको ३ ट्रिलियन डलरभन्दा कम एकदेखि दुई ट्रिलियनको बीचमा आगामी बिल आउने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com