२५ कार्तिक २०८३, बुधबार| Wednesday, November 11, 2026
कोभिड १९ अपडेट

वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना पुष्टि

नेपालमा कोरोना सङ्क्रमडबाट मृत्यु भएकाको तथ्याङ्क विश्लेषण गर्दा जनाको मृत्युदर प्रति दश लाखमा एक रहेको छ । पिसिआर परिक्षण प्रति दशलाखमा आठ हजार ६२५ जनाको गरिएको छ । तर छिमेकी मुलुक भारतमा प्रतिदशलाख १४ जनाको मृत्युदर रहेको छ । बंगलादेशमा प्रतिदशलाख १२ जना, श्रीलंकामा पाँच जना र पाकिस्तानमा प्रतिदशलाख २१ जनाको मृत्युदर कायम रहेको छ । नेपालमा भन्दा भारतमा पिसिआर परिक्षण कमजोर रहेको देखिन्छ ।

त्यहाँ प्रति दश लाख सात हजार ९३ जनाको मात्र परिक्षण भएको छ । त्यस्तै बंगलादेशमा प्रति दश लाख पाँच हजार १५५ जनाको, श्रीलंकामा प्रति दशलाख पाँचहजार १६० जनाको र पाकिस्तानमा छ हजार ३३० जना प्रति दशलाख पिसिआर परिक्षणको दर रहेको छ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आजदेखि सुरु भएको छैठौ राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सो कुराको जानकारी दिनु भएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्धारा आयोजित यस स्वास्थ्य तथा जन संख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो स्थापनाकालदेखि स्वास्थ्यका विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान द्धारा समग्र स्वास्थ्य क्षेत्रको बिकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरी रहेको उहाँले औँल्याउनुभयो ।

परिषदले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रहरुको पहिचान गरी प्रथमिकताका आधारमा रहेर ती क्षेत्रहरुमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको जानकारी उहाँले दिनुभयो ।

स्वास्थ्यमन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ र आगामि दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र बिकास तथा सुदृढिकरणका लागि स्वास्थ्य मन्त्रालय सदैव तत्पर रहने प्रतिवद्धता मन्त्री ढकालले व्यक्त गर्नुभयो ।
त्यसैगरी अहिलेको कोभिड–१९को महामारीको सम्बन्धमा नेपाल सरकारले निरन्तर रुपमा यसको विरुद्ध खटिरहेको स्पष्ट पार्नुभयो । सुरुवातमा परीक्षणको लागि एउटा मात्रै प्रयोगशाला रहेकोमा अहिले यो संख्या बढाएर २५ पुगिसेको र अझै विस्तार हुने क्रममा रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नेपाल सरकारले कोभिड १९ को नियन्त्रणका लागि लक डाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारीहरु निरन्तर रुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्नेगरी प्रवाहगर्ने जस्ता रणनीतिहरु अपनाउँदै आएको छ । साथै प्रभावित व्यक्तिहरुको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्चितता र मानवीय सिद्धान्तहरुको उच्चतम अभ्यास भएको छ ।

हालसम्म नेपाल सरकारबाट भईरहेको कार्यलाई आमजनताले सहयोग गर्दै आएका र भविष्यमा सरकारको तर्फबाट आवश्यकता अनुसार थप कार्यक्रमहरु गराउँदै जाने योजना लिएको मन्त्री ढकालको भनाइ छ । त्यसका लागि सबैले ऐक्यवद्ध भई एकजुट रुपमा महामारी विरुद्ध लड्न आव्हान समेत गर्नुभयो । हालसम्म विश्वव्यापी रुपमा संक्रमण एक करोड १५ लाख ५६ हजार ७८८ जनामा देखिएको छ । नेपालमा भने १५ हजार ७८४ जना संक्रमित रहेका छन् । यसैवीच तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →