नेपालमा ८१ वर्षीया वृद्धाले जितिन कोरोना


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किनुभएको छ । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहनुभएकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना सङ्क्रमणमुक्त भएर आज घर फर्किनुभएको हो । उहाँसँगै सिरहाका ६३ जना कोरोना सङ्क्रमित उपचारपश्चात् निको भएर घर फर्किएका छन् ।

कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किंदा खुशी भएकी उहाँले आत्मबल बलियो बनाएर स्वास्थ्यकर्मीको सुझावअनुसार आइसोलेशनमा बसेकाले कोरोनालाई जितेको बताउनुभयो । घरका सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि मण्डललाई पनि सिरहा क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । दुई साता क्वारेन्टिन बसाइका क्रममा गरिएको पिसिआर परीक्षणमा उहाँमा पनि कोरोना सङ्क्रमण देखिएपछि चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा राखिएको थियो ।

करिब २० दिनमा दुईपटक स्वाब सङ्कलन गरी गरिएको कोरोना परीक्षणमा रिपोर्ट निगेटिभ आएपछि मण्डललाई घर पठाइएको आइसोलेशन इञ्चार्ज अरविन्द मण्डलले जानकारी दिनुभयो ।

सिरहाको चन्द्र माध्यमिक विद्यालय ४९ जना र महेन्द्र गेनाई मेटरनिटी अस्पतालको आइसोलेशनबाट १४ जना गरी कूल ६३ जना उपचारपश्चात् निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अब महेन्द्र गेनाई मेमोरियल अस्पतालको आइसोलेशनमा २५ र चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा २४ जना गरी ४९ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तस्बिर  : नयाँ पत्रिकाबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com