माधव नेपालले उठान गरेको विधिबाट पार्टी चलाए आधा समस्या समाधान हुने पक्का


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

– राधाकृष्ण देउजा

जव जव सत्य तथ्यलाइ नियोजित  अफवाहले छोप्न खोजिन्छ तव मौनता साँध्ने हैन , बोल्नु पर्छ । जानेको , बुझेको देखेको वा तथ्य प्रमाण सहित पेश हुँदा सुनेको कुराहरु जरुर बोल्नु पर्छ । अहिले नेकपाको जारी स्थायी समितिको वैठकको दौरान देखिएका विवादहरुलाइ लिएर अनेकन टिक्का टिप्पणीहरु आइरहेका छन ।

आइरहेका विचारहरु सवैको निजी बुझाइ भएकाले त्यसको समर्थन गर्न नसके पनि सम्मान गर्नु पर्ने हुनाले व्यक्त  विचारहरु प्रति प्रतिक्रिया दिने कुरा उचित हैन तर उठान गरेका विषयहरु जानेर नजानेर सत्य तथ्य भन्दा अन्यथा छन भने खण्डन गर्नु वान्छनीय हुन्छ ।  नेकपाको जारी  स्थायी समितिको वैठकमा भैरहको वहस र छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामा समेत माग भैसके पछि वैठकमा व्यक्त विचारहरुको वर्गीकरणको आधारमा नेकपाका नेताहरुलाइ यो वा त्यो समुहमा जोडेर विरोध र समर्थन गर्ने काम सुरु भएको छ ।

त्यस्तो वर्गीकरणमा दुइ अध्यक्षहरुको अलावा नेकपाका वरिष्ठ नेता एवं पुर्व  प्रधानमन्त्री माधव कुमार नेपाल चर्चाको केन्द्रमा हुनुहुन्छ । हुन चाहिं एकीकरण भएर नेकपा बन्नु अगाडीको जिल्ला कमिटिको नेतृत्वमा वहाँको पक्षका भनीएकाहरुको वाहुल्यता रहँदै आएको सत्य स्वीकार गर्ने हो भने आरोप प्रत्यारोपको वर्तमानमा वहाँको आलोचक भन्दा समर्थकनै सक्रिय हुनुपर्ने हो ।

तर वहाँले पार्टी नेतृत्व गर्दा विधि प्रक्रियाको अवलम्बन गर्नमा कडाइ गर्नुको अलावा आपसी सम्मानको सिद्धान्तलाइ व्यवहारमा उतार्नु पर्छ भनेर दिने गरिएको  शिक्षा र अनुशासनको विषयमा गर्ने गरिएको कडाइको सम्मान गर्दै खारिएका वहाँका समर्थक मध्य धेरै पार्टीको आन्तरिक समस्या पार्टीको पद्दति अनुसार हुने सामयिक बैठकहरु मार्फत हुन्छन भन्नेमा विश्वास राख्छन ।

त्यसो हुनाले समर्थकहरुको अनुशासित मौनतालाइ कमजोरी ठानेर नै हुनुपर्छ वहाँको विरुद्ध एक खालको संगठित आरोप प्रत्यारोप भैरहेको जस्तो देखिन्छ  । यसो वा त्यसो भन्दै वहाँको आलोचना गर्दा आफ्नो पक्षको हित हुन्छ भन्ने ठानेर नै होला अफवाहले तथ्य छेक्ने कोशिस भएको देखिन्छ । जव अफवाहहरुले तथ्यलाइ नजरअन्दाज गर्न खोजेको देखिन्छ तव मौनता ठिक हुदैन ।

तसर्थ सत्य तथ्य  जान्न नचाहने वा जानेर पनि अनदेखा गर्दै इतिहासमा दर्ज सत्य समेतलाइ बदल्ने दुसाहस गर्नेहरु प्रति लक्षित नभएर अफवाहलाइ नै सत्यता ठानेर भ्रमितहरुको खातिर नेकपा वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव नेपालको बारेमा निम्न सत्य तथ्य राख्नु वान्छनीय देखिएको छ :

१. माधव कुमार नेपाल समकालीन श्रीष नेपाली नेताहरु मध्य सबै भन्दा सरल, स्वच्छ र सक्रिय नेता हुनुहुन्छ जसको आर्थिक इमान्दारीमा सवाल खडा गर्न वहाँकै प्रतिस्पर्धीहरुले पनि सक्दैनन ।

२. माधव नेपालको नेतृत्वमा तत्कालिन नेकपा एमाले खुम्चियो भन्दै त्यसको लागि माधव नेपाललाइ एक्लो जिम्मेवार ठहर गर्ने कोशिस पनि गरिएको छ तर त्यो किमार्थ सत्य हैन । किन ? किन भने  वहाँको नेतृत्वमा पार्टी सामुहिक बेत्रित्व व्यक्तिगत जिम्मेवारीको सिद्धान्तको आधारमा चल्थ्यो , त्यसकारण सफलता वा असफलता त्यो सामुहिक थियो । त्यसभन्दा पनि महत्वपूर्ण कुरा  के हो भने गाउँ गाउँमा युद्धको नाममा अतिवाद अनि सहरमा सुशासनको नाममा राजाको निरंकुशता चल्दै गर्दा पार्टी जोगाएर देशभर संगठन क्रियाशील राख्न सफल त्यही कार्यकालको वादौलत आजको पार्टी सम्भव भएको हो ।

जहाँसम्म पहिलो संविधानसभामा नेकपाको हारलाइ आधार मानेर वहाँलाइ पार्टीलाइ तेस्रो बनाएको आरोप लाग्छ तर सत्य के हो भने त्यतिबेला देशलाइ शान्ती चाहिएको थियो , जनताको मुख्य चाहना शान्ति थियो र जव चुनाव भयो तव जनताले माओवादी हार्दा फेरी युद्ध होला अरु हार्दा हुदैन भनेर शान्ती प्रक्रियाको सफलताको खातिर माओवादीलाइ धेरै ठाउँमा  विजित वनाएका थिए । सत्य यही हो, त्यतिवेला जो जसको नेतृत्व भएको भए पनि परिणाम त्यही वा  त्यस्तै आउने थियो ।

३. अनि फेरी पनि सत्य तथ्यलाइ सिरानी हालेर नै हुनुपर्छ माधव नेपालको अडानहरुलाइ पद प्राप्तिको कोशिसको रुपमा व्यख्या समेत गर्ने गरको सुन्न र पढन पर्छ । तर सत्य के हो भने नैतिकताको आधारमा पार्टी नेतृत्वबाट  राजीनामा दिने व्यक्ती वहाँनै हो । त्यति मात्रै हैन देशमा सहमति , सहकार्य सम्भव हुन्छ भने ठिक छ भनेर वहुमत रहँदा रहँदै प्रधानमन्त्री पद त्याग्ने वहाँनै हो भने घरमा आएर राष्ट्रपति बन्न गरिएको प्रस्ताव अस्विकार गरेर वर्तमान राष्ट्रपतिलाइ राष्ट्रपती बनाउन लाग्नु हुने वहाँ हो । केहि समय अगाडी पनि वहाँलाइ प्रधानमन्त्री हुन प्रस्ताव गरिएको त संचार माध्यममा आएका हुन । तसर्थ माधव नेपालको निम्ती पद महत्वपूर्ण छैनन भन्ने प्रष्ट छ ।

४. अहिलेको पार्टी बैठक होस वा यस अगाडीका वैठकहरुमा  पनि वहाँले विधि प्रक्रिया र आपसी सम्मान  र त्यसैको आधारमा सहमति र सहकार्यको मुद्दा अगाडी सार्दै आउनु भएको हो । अनि दुखका साथ भन्नुपर्छ कि वहाँले उठान गर्नु भएको सकारात्मक कुरालाइ पनि वेवास्ता गरियो , वहाँले उठान गरको विषयको सम्वोधन गर्ने भन्दा विषय उठान गरकैले वहाँको विरुद्ध अफवाह र आलोचनाको लहर चलाउन खोजियो । तर त्यसको वावजुद अहिले पनि वहाँको जोड पार्टीलाइ विधि र प्रक्रियामा चलाउँ भन्नेमै छ ।

अत; नेकपाको वैठकमा भैरहेको विवादहरुको कारणले चिन्तित अनि नियोजित भ्रम र अफवाहबाट प्रभावित भएर धारणा बनाउने मात्रै नभएर अफवाहमा आधारित बुझाइ सार्वजनिक गर्दै नेकपाको एकताको पक्षमा आवाज उठाउनेहरुले  सत्य , तथ्यमा आधारित रहेर आफ्ना धारणा बनाउनु र त्यही अनुसार आवश्यक कदम चाल्नु उचित हुने देखिन्छ ।

भ्रम , अफवाह र छलछामकै आधारमा संसार चल्छ भन्ने ठान्नेहरुको भद्दा गालि खान तयार भएर पनि लेख्नै पर्ने भयो कि माधव नेपालले उठान गरेको विधि र प्रक्रिया सम्मत ढंगले पार्टी संचालन गरिने ग्यारेण्टी होस, पार्टीको आधा समस्या समाधान हुने पक्का छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com