रामबहादुर बम्जनसहित तीन जनाविरुद्ध बाल यौन शोषणको मुद्दा


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

लिटल बुद्ध भनिने रामबहादुर बम्जनलगायत तीन जनालाई प्रतिवादी बनाई सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बम्जनलगायत तीनविरुद्ध अदालतमा बिहीबार यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषणकाे अभियाेगमा मुद्दा दायर गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार रामबहादुर बम्जन भनिने रामलाल बम्जन, सर्लाहीको पत्थरकोटस्थित बोधी मार्ग दर्शन आश्रमका प्रमुख तोक्तेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जीतबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो ।

मुद्दामा बालबालिकासम्बन्धी ऐन अनुसार प्रतिवादीहरूलाई कारबाहीको माग गरिएको छ । बालबालिकासम्बन्धी ऐन अनुसार मुख्य प्रतिवादी रामबहादुर बम्जनविरुद्ध १२ देखि १४ वर्ष कैद र क्षतिपूर्ति माग दावी गरिएको जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सहायक न्यायाधिवक्ता युवराज शर्माले बताउनुभयो ।

बम्जनविरुद्ध सर्लाहीको लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित आश्रममा एक १८ वर्षीया बालिकालाई यौन शौषण गरेको आरोप छ । सोही आरोपमा गत माघ महिनामा पीडितको तर्फबाट सर्लाही प्रहरीमा जाहेरी परेको थियो ।

त्यसपछि प्रहरीले सर्लाही, सिन्धुलीलगायत आश्रममा बम्जनको खोजी गरे पनि उनी फेला परेनन् । बम्जन पक्राउ नपरेपछि प्रहरीले केही दिन पहिले अनुसन्धान प्रतिवेदनसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।

सरकारी वकिल कार्यालयमार्फत बम्जनविरुद्ध बिहीबार अदालतमा मुद्दा दर्ता भएको हो । अब प्रतिवादी बम्जन ३५ दिनभित्र अदालतमा उपस्थित हुन सक्नेछन् । त्यस अवधिमा उनी आफैँ अदालतमा उपस्थित नभए पक्राउ पूर्जी जारी हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com