अमेरिकामा महामारी सुरु भएयताकै ठूलो संख्यामा थपिए एकैदिनमा कोरोना संक्रमित


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

अमेरिकामा कोरोनाको महामारी सुरु भएयताकै ठूलो संख्यामा एकैदिनमा संक्रमितहरु थपिएका छन् । अमेरिकाले मंगलबार एकैदिनमा ४४ हजार ७ सय भन्दा धेरैमा कोरोना संक्रमण भएको पुष्टी गरेको जोन हप्कीन्स युनिभर्सिटीको तथ्यांकले देखाएको छ । एकैदिनमा यति धेरै संख्यामा संक्रमित थपिएको यो पहिलो पटक हो ।

मंगलबारसम्म अमेरिकाले हरेक दिन औषतमा ४१ हजारको हाराहारीमा नयाँ संक्रमितको संख्या थपिरहेको थियो । गत शुक्रबार एकैदिनमा ४४ हजार ६ सय र शनिबार ४४ हजार ७ सय थपिएको सीडीसीले जनाएको छ । अप्रिल ६ मा एकैदिन अमेरिकामा ४३ हजार ४ सय ३८ संक्रमित थपिएका थिए ।

अब अमेरिकामा संक्रमण पुष्टी हुनेहरुको संख्या २६ लाख नाघिसकेको छ । अमेरिकामा एउटै काउन्टीमा सबैभन्दा बढी कोरोना संक्रमित देखिएको क्यालिफोर्नियाको लस एन्जसल काउन्टी हो, जहाँ १ लाख ३ हजार भन्दा बढीमा संक्रमण पुष्टी भएको छ ।

दोश्रोमा इलिनोयको कुक काउन्टी हो, जहाँ संक्रमितको संख्या ९० हजार नाघेको छ । तेश्रोमा न्युयोर्कको क्वीन्स काउन्टी हो, जहाँ संक्रमितको संख्या झण्डै ६५ हजार पुगेको छ । न्युयोर्कको बु्रकलिन चौथो नम्बरमा रहेको छ, जहाँ झण्डै ५९ हजारमा संक्रमण पुष्टी भएको छ ।

यसैबीच अमेरिकामा कोरोना संक्रमितको संख्या हरेक दिन एकलाखसम्म पुग्नसक्ने अमेरिकाका बरिष्ठ प्रतिरक्षा बैज्ञानिक एन्थोनी फाउचीले चेतावनी दिएका छन् । सिनेटको कमिटिमा बयान दिदै उनले यदि अमेरिकामा हरेक दिन संक्रमण पुष्टी हुनेको संख्या एकलाख पुगेमा आश्चर्यचकित हुन नपर्ने बताएका छन् ।

उनले भनेका छन् – ‘अहिले जे भइरहेको छ त्यो प्रति म सन्तुष्ट छैन । किनभने हामी गलत दिशातिर गइरहेका छौं ।’

अहिले दैनिक औषतमा अमेरिकामा झण्डै ४० हजार कोरोना संक्रमण पुष्टी भइरहेको र अहिले भइरहेका गल्ती नसच्याए यो संख्या तीब्र गतिमा बढ्ने उनले चेतावनी दिएका हुन् । अमेरिकामा विभिन्न भागमा फैलिएको महामारीले सिंगै अमेरिकालाई जोखिममा राखेको उनको भनाई छ ।

कैयन राज्यहरुले संघीय सरकारको गाइडलाइन पालना नगरेका कारण कोरोना संक्रमणको नयाँ हटस्पट बन्दै गएको उनले बताएका थिए । उनले टेक्सास, फ्लोरिडा र एरिजोनाको उदाहरण समेत दिएका थिए ।

पछिल्लो समयमा यी लगायतका केही राज्यमा कोरोनाको संक्रमण पुष्टी हुनेहरुको संख्या ह्वात्तै बढेको छ । अहिले पनि कैयन राज्य र स्थानीय स्तरमा सामाजिक दुरीको नियम र अनुहारमा मास्क अनिवार्य लगाउनुपर्ने नियमको पालना नभएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

उनले भनेका छन् – ‘म ठ्याक्कै भविश्यवाणी त गर्न सक्दिन । तर निकै खराब अवस्था आउनेवाला छ । म ठोकुवाका साथ भन्छु कि मुलुकको कुनै एउटा भागमा महामारी फैलिदा राम्रो गरिरहेको अर्को भागलाई समेत जोखिममा पार्छ ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com