विश्व स्वास्थ्य संगठनको चेतावनी ‘कोरोना महामारी खतरनाक चरणमा’


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् । उनका अनुसार, यतिखेर संसारमा कोरोनाभाइरसको महामारी फैलिदै गइरहेको छ । गत बिहीबारमात्रै १ लाख ५० हजार नयाँ संक्रमणको केस फेला परेका छन्, जुन एकै दिनमा त्यत्तिका संख्यामा संक्रमित फेला परेको पहिलो हो ।

जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनको तथ्यांकअनुसार यतिखेर संसारभरिमा ८,५६९,९६२ जना संक्रमित भइसकेका छन् भने तीमध्ये ४५७,३८८ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा २,२१५,५८७ छन् भने मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सबैभन्दा बढी ११८,९९१ जना पुगिसकेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमित ब्राजिलमा ९७८,१४२ जना छन् भने त्यसपछि रुसमा ५६८,२९२ जना छन् । चौथो नम्बरमा भारत पर्छ जहाँ अहिलेसम्म ३८०,५३२ जना संक्रमित भइसकेका छन् ।

यही संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुनेहरुमा दोस्रो नम्बरमा ब्राजिल पर्छ । त्यहाँ ४७,५४६ जनाको मृत्यु भइसकेको छ । रुसमा ७,८३१ जनाको यही संक्रमणका कारण मृत्यु भइसकेको छ भने भारतमा मृत्यु हुनेहरुको संख्या १२,५७३ पुगेको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार, जुन असार ६ गते बिहान ४ बजेसम्ममा संसारभरिमा ८,७३४,९७२ जना संक्रमित भइसकेका छन् भने ४,६१,५०४ जनाको मृत्यु भइसकेको छ । संक्रमितहरुमध्ये ४,६१५,९९५ जना निको पनि भइसकेका छन् । हाल सक्रिय संक्रमितहरु ३,६५७,४७३ जनामध्ये ९९ प्रतिशत (३,६०२,६८७ जना)को अवस्था सामान्य छ भने १ प्रतिशत (५४,७८६० जना) को अवस्था मात्रै गम्भीर छ ।

यसबीच विश्व खाद्य संगठनले महामारीका लागि अत्यावश्यक सामग्रीहरुको ढुवानीका लागि आकस्मिक रकमको अभाव हुँदै गइरहेको जनाएको छ । सो रकमको अभावमा विश्वका १३२ राष्ट्रहरुमा महामारीमा अत्यावश्यक मास्क, ग्लोभ र अरु अतयावश्यक चिकित्सीय सामग्रीहरु आगामी जुनको तेस्रो हप्तासम्ममा पुर्याउन कठिन हुने जनाएको छ ।

संगठनका अपरेशन निर्देशक अमेर डावोडीका अनुसार, सन् २०२० मा सो प्रयोजनका लागि संगठनलाई ९६५ मिलियन अमेरिकी डलर आवश्यक पर्नेछ । तर अहिलेसम्म संगठनले १३२ मिलियन अमेरिकी डलर मात्रै जुटाउन सकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com