टेक्सास खुल्दै गर्दा अस्पतालमा भर्ना हुने कोरोना संक्रमित अहिलेसम्मकै बढी
प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार
टेक्सासका गभर्नरले अरु धेरै व्यवसायहरु खोल्ने र क्षमता दोब्बर बनाउने योजना बनाइरहँदा राज्यमा कोरोना संक्रमणबाट अस्पतालमा भर्ना हुनेहरुको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । टेक्सास खुल्न सुरु गरिसकेपछि सोमबार टेक्सासमा अस्पतालमा भर्ना हुनेहरुको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।
टेक्सासको डिपार्टमेन्ट अफ स्टेट हेल्थ सर्भिसले एकैदिनमा कोरोना संक्रमित १९३५ जना अस्पतालमा भर्ना भएको जनाएको छ । यो संख्या अहिलेसम्मकै बढी हो । मे ५ मा एकैदिन अस्पतालमा भर्ना हुनेहरुको संख्या १८८८ रहेको थियो ।
टेक्सासका गभर्नरले बार, रेष्टुरेण्ट र पार्कहरु खोल्ने योजना बनाइरँदा संक्रमणका कारण अस्पतालमा भर्ना हुनेहरुको संख्या एकाएक बढ्दा त्रासको वातावरण श्रृजना भएको छ । क्यालिफोर्निया र एरिजोना लगायतका राज्यमा पनि पछिल्लो केहीदिन यता कोरोना संक्रमितहरु बढेका छन् ।
सोमबार विश्व स्वास्थ्य संगठनले विश्वभर कोरोनाको महामारी खराब बन्दै गएको चेतावनी दिएको थियो । एकैदिनमा १ लाख ३६ हजार नयाँ संक्रमण पुष्टी हुनेहरु थपिएको तथा अमेरिका र ब्राजिलमा लगातार ठूलो संख्यामा संक्रमितहरु पुष्टी भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।






