‘मैले अन्तरजातीय विवाह गरेपछि परिवारमा अरुले पनि अन्तरजातीय विवाह गर्न थाले’


प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार

२०६१ सालको मंसिर महिना । जनयुद्ध चरम उत्कर्षमा थियो । त्यहीबेला रुकुमको लावाङमा माओवादीका उच्च तहका नेताहरु सम्मिलित एउटा विवाह कार्यक्रम हुँदै थियो । बेहुली थिइन्, रेडियो जनगणतन्त्र विशेष क्षेत्रकी प्रस्तोता अर्घाखाँचीकी अस्मीता खड्का, जो रेडियोमा अरुणा रायमाझीको नामबाट चर्चित थिइन् । बेहुला थिए, रेडियो जनगणतन्त्र विशेष क्षेत्रका प्राविधिक दाङका राजेश थारु । विवाह खड्का र थारुको भएपनि समाजका लागि यो अन्तरजातीय विवाह नै थियो । तर यो विवाहपछि अस्मीता र राजेशले अन्तरजातीय विभेदभन्दा बढी राजनीतिक विभेद खेपे ।

विवाहमा तत्कालिन माओवादीका पश्चिमाञ्चल इन्चार्ज पोष्टबहादुर बोगटी लगायतका उच्च तहका नेताहरु उपस्थीत थिए । विशेष क्षेत्रका इन्चार्ज नेत्रबिक्रम चन्द देखि सहइन्चार्ज पम्फा भुसालसम्म थिए विवाहमा । उनीहरुमध्ये अधिकांश मन्त्रीदेखि विभिन्न पदमा पुगिसके, कोही अहिले पनि विभिन्न पदमा र नियुक्ति लिएर बसेका छन् । सबैले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विवाहित जोडीलाई शुभकामना दिए । तर जब अस्मीता विवाह सकेर हलबाहिर निस्किदै थिइन्, त्यतीबेला हलबाहिर रहेका जनमुक्ति सेनाका केही कमाण्डरहरु भन्दै थिए – ‘यिनीहरुको त जन्ती होइन मलामी जानुपर्ने थियो ।’

त्यसको केहीदिन अगाडि त्यही लावाङमा सम्पन्न माओवादीको पोलिटब्यूरोको बैठकले बाबुराम भट्टराई, हिसिला यमी र दीनानाथ शर्मालाई कारवाही गरेको थियो । विवाहकी बेहुली अस्मीता खड्का तिनै बाबुराम र हिसिलासँग भारतमा लामोसमय सँगै बसेकी थिइन् । बाबुराम लगायतमाथि कारवाही भएको अवस्थामा बाबुराम र हिसिलासँग लामोसमय सँगै बसेकी अस्मीताको विवाहमा माओवादीका उच्च तहका नेताहरु उपस्थीत भएको ती कमरेडहरुलाई मन परेको थिएन । त्यसैले उनीहरुले आक्रोश व्यक्त गरेका थिए ।

विवाहकै दिनमा यस्तो कुरा सुन्दा अस्मीताको मन निकै अमिलो भयो । तर पनि मनमनै दुखी भइन्, कसैलाई केही भनिनन् । अस्मीता सम्झिन्छन् – ‘विवाहकै दिन त्यस्तो सुन्दा निकै नराम्रो लाग्यो । तर कहाँ गएर कस्लाई भन्ने ? आफैलाई सान्त्वना दिंदै सम्हालें ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विवाहका क्रममा अस्मीता र राजेश ।

लामो समय भारतमा बाबुराम र हिसिलासँग बसेका कारण विवाहमा उनीहरुपनि आउलान् भन्ने लागेको थियो अस्मीतालाई । तर उनीहरु आएनन् । उनीहरु त पार्टीको कारवाहीमा परिसकेका रहेछन् । भेटघाट गर्न समेत दिइएन । उनीहरु जनमुक्ति सेनाको घेरामा रहेको हल्ला थियो । त्यसैले उनीहरु विवाहमा उपस्थीत नहुँदा अरुणालाई आफ्नै विवाह कताकता वेस्वादिलो जस्तो लागेको थियो । बाबुरामलाई विवाहको खबर पुर्याइदिन भनेपनि कसैले पुर्याएनन् ।

विवाह हुँदा अस्मीताले नुहाउन नपाएको पनि केही महिना भइसकेको थियो । त्यसमा पनि उनलाई हनहनी ज्वरो आइरहेको थियो । विवाहको मिति तय भएपछि  अस्मीता र राजेशलाई खबर गरियो । अरुणा र राजेश जलजलाबाट हतारहतार थवाङ झरेर हातमुखमात्र धोएर विवाहस्थल लावाङ पुगेका थिए ।

रोल्पामा रेडियोमा काम गर्ने क्रममा जलजलामा अस्मीता ।

अस्मीता सम्झिन्छिन् – ‘त्यतीबेला हिउँ परिसकेको थियो । त्यसैले निकै जाडो थियो । ननुहाएको महिनौं भएको थियो । त्यसमाथि मलाई ज्वरो पनि आइरहेको थियो । विवाहको मिति र समय फिक्स भइसकेकाले त्यो मिति र समयमा पुग्नैपर्ने थियो । त्यसैले आफ्नै विवाहमा जाँदा पनि नुहाउने समय पाइएन ।’

विवाहपछि अस्मीता र राजेश रेडियोमा फर्के । विवाहमा नआएका बाबुराम र हिसिलाई सिध्याइसके भन्ने हल्ला समेत चल्न थालेको थियो । पार्टीभित्रको अन्तरसंघर्ष अत्यन्तै चरमउत्कर्षमा पुगेको थियो । यति नै बेला बाबुरामले हातैले लेखेको एउटा पत्र रेडियो जनगणतन्त्रमा आयो ।
अरुणा भन्छिन् – ‘त्यो पत्रमा उहाँले मलाई विवाह भएको थाहा पाएको भन्दै शुभकामना लेख्नुभएको थियो । मैले अक्षर देख्नासाथ बाबुरामको पत्र भन्ने थाहा पाइहालें । तर बधाई भन्दा पनि त्यो पत्र उहाँहरु जीवितै रहेको प्रमाण थियो । जव मैले चिठी पाएर पढें, तर उहाँ जिउँदै हुनुहुदो रहेछ भन्ने विश्वास लाग्यो । त्यतीबेला म एकान्तमा बसेर धेरैबेर रोएँ । मेरो विहेमा सहभागी नभएकोमा भन्दा पनि जिउँदै भएको थाहा पाउँदा खुशी पनि लाग्यो ।’

यसरी पार्टीमा चरम अन्तरसंघर्ष चलिरहेको बेला विवाह भएको राजेश र अस्मीताको प्रेम भने २०६० सालमा जाजरकोट जाने बेलामा थाहै नपाई अंकुराउन थालेको थियो । उनीहरु रेडियो संचालनका लागि एउटा तालिम लिने क्रममा सँगै जाजरकोट गएका थिए ।

जाजरकोट जानेबेलामा बाटोमा धेरै कुराकानी भयो । पछि आएर एउटै रेडियोमा काम गर्न थाले । काम गर्दै जादाँ एकअर्काको नजिक भए । रोल्पा र रुकुमका डाँडाहरुमा हिमपात र बर्षाकाबीच लामो समय काम गर्ने दौरानमा उनीहरुको प्रेम सम्बन्ध अगाडि बढेको थियो । त्यसपछि उनीहरुले विवाहको लागि निवेदन दिएका थिए । निवेदन स्वीकृत भएपछि पार्टीका उच्च नेताहरुको उपस्थीतिमा उनीहरुको विवाह भयो ।

अन्तरजातीय विवाह गर्दा समाजका लागि एउटा सन्देश पनि दिन सकिन्छ भन्ने लागेको थियो अस्मीतालाई । त्यसमा पनि संचारको त्यतीबेलाको शशक्त माध्यममा रेडियोमा काम गर्थिन् उनी । राजतन्त्रले रेडियोमाथि समाचार प्रशारणमा बन्देज लगाएको बेला लाखौंको सुचनाको श्रोत रेडियो जनगणतन्त्र थियो ।

अस्मीता भन्छिन् – ‘त्यतीबेला जनतामा जागरण पैदा गर्न सकेमा यस्ता सामाजिक र जातीय विभेदहरु अन्त्य हुन्छन् भन्ने गहिरो छाप थियो । बर्ग र लिंगका असमानताहरु मेटिएर जान्छन् भन्ने कुराले मनमा राम्रोसँग छोएको थियो ।’

तर अस्मीताले रेडियोमा नै काम गर्ने बेलामा विभेदको सामना गर्नुपरेको थियो । त्यो जातीय विभेद भन्दा पनि डरलाग्दो राजनीतिक खालको विभेद थियो । बाबुराम पक्षधरलाई समर्थन गरेका कारण र बाबुरामसँग भारतमा बसेका कारण भोग्नुपरेको विभेद थियो । यसैबीचमा गर्भवती भएकी अस्मीता रेडियोमा नै बिरामी समेत भइन् । उनका बेलाबेलामा खुट्टाहरु सुन्निन थाले । रेडियोमा नै बच्चा जन्माएर हुर्काउन सम्भव थिएन । त्यसैले उनले त्यहाँबाट विदा हुने निधो गरिन् ।’

रेडियो वा रोल्पामै बसिरहे आफ्नोपनि र बच्चाको पनि ज्यान जोखिममा पर्ने लाग्यो उनलाई । मरेपनि आफ्नै ठाउँतिर जानुपर्यो भन्ने निधो गरेर उनले भैरहवा आउने निर्णय लिएकी थिइन् । मारे मार्लान, जे सुकै होला भनेर उनी हिम्मत गरेर यो निर्णय लिएकी थिइन् । उनको निर्णयमा राजेशले पनि सहमति जनाए ।

अरुणा सम्झिन्छन् – ‘एकातिर त्यहाँ स्याहार सुसार सम्भव भएन । म आफै बिरामी भइसकेकी थिएँ । चौध पन्ध्र बर्षको उमेरदेखि पूर्णकालिन राजनीतिमा लागेकाले आफूसँग केही पनि थिएन । तरपनि राजेशसँग सल्लाह गरेर हामी रेडियोबाट निस्कियौं । तर निस्कने बेलामा हामीलाई जम्मा १५ सय रुपैया बाटोखर्च दिइयो ।’

त्यतीबेला आफूलाई रोल्पाबाट दाङ आउनमात्र एकमहिना लागेको सम्झिन्छन् उनी । बाटोमा लुकिछिपी हिड्दै आउनुपर्ने अवस्था थियो । हात खुट्टा सुन्निएर हालत खराब भएको थियो । साथमा पैसा पनि थिएन । बाटोमा बास बस्ने क्रममा एउटा घरमा पुग्दा मासुको झोल खान दिए । उक्त घरमा राती पुग्दा अलिकति बचेको मासुको झोल रहेछ । बहिनी यस्तो अवस्थामा हुनुहुँदो रैछ भन्दै त्यही झोल र भात खान दिए । अस्मीताले आँशु मिसाएर मासुको झोल खाइन् ।

जनयुद्धको बेलामा पनि गर्भवती हुदा वा बिरामी हुँदा पहुँच हुनेहरु भारतको दिल्ली लगायतका ठाउँमा उपचारका लागि जान्थे । तर अस्मीताले भने त्यो मौका पाइनन् । उनी भन्छिन् – ‘हाम्रो त कही पनि पहुच थिएन । पहुचवालाहरु त दिल्ली पनि गए उपचार गर्न । तर हामी त कहाँ जानु ? न पहुँच, न पैसा ।’

दाङ हुँदै उनीहरु भैरहवा आए । भैरहवामा विभिन्न व्यक्तिको सहयोगमा कोठा लिएर बसे । जनयुद्ध चलिरहेकै थियो । जनआन्दोलनपनि चर्कदै थियो । त्यहीबेलामा सेनाको व्यारेक नजिकै रहेको कोठामा उनीहरु अभाव र त्रासकाबीच बसे । अस्मीता सम्झिन्छिन् अन्तिम भएपछि त डर पनि लाग्दो रहेनछ । त्यहाँ पनि हात खुट्टा सुन्निने भयो । निकै दुख भयो । यही समस्याका बीच छोरा अभिको जन्म भयो ।

जातीय हिसावले अस्मीता र राजेशलाई खासै समस्या भएन । तर राजेशको घरमा थारुभाषामात्र बोल्ने भएकाले अस्मीतालाई सुरु सुरुमा भाषगत हिसाबले भने निकै समस्या भएको थियो । तर लडाईका कारण धेरैसमय घरमा गएर बस्ने अवस्था नभएकाले यो समस्या पनि लामो समय भोग्नुपरेन ।

माइतीपक्षले पनि अस्मीतालाई कसैले केही भनेनन् । कहिलेकाँही दशैंतिहारमा मात्र जाने भएकाले होला, कसैले केही गुनासो नगरेको उनको भनाई छ । राजेश पनि बच्चा जन्मिएपछि दशैंमा ससुराली गए । सबैले उनलाई सहजै ज्वाईका रुपमा स्वीकारे ।

जनआव्हान साप्ताहिकमा सहसम्पादक, रेडियो पश्चिमाञ्चलमा सम्पादक, नेपाल एफएममा प्रस्तोता, जनादेश साप्ताहिकमा कार्यकारी सम्पादक, आठ मार्च पत्रिकामा सम्पादक, रेडियो नेपालको घटना र विचारमा रिपोर्टर, महिला खबरमा सहसम्पादकहुँदै हाल खसोखासमा कार्यकारी प्रधानसम्पादक अस्मीता भन्छिन् – ‘त्यतीबेला शायद जनयुद्धका डरले पनि कसैले केही भनेनन् । तर मैले अन्तरजातीय विवाह गरेपछि परिवारमा अरुले पनि अन्तरजातीय विवाह गर्न थाले । मेरै दाईको छोरीले अन्तरजातीय विवाह गरिन् । दिदीको छोराले पनि अन्तरजातीय विवाह गरे ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com